त्रिभुवन विमानस्थलमा निर्माण आयोजनाको लापरबाहीले उडान सुरक्षामाथि खतरा
सारांश
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण आयोजनाको लापरबाहीले उडान सुरक्षामा गम्भीर प्रश्न उठेको छ।
- रनवे र संवेदनशील क्षेत्रमा निर्माण आयोजनाका सवारीसाधनको अनधिकृत प्रवेश रोक्न नसक्दा सम्भावित दुर्घटना टर्न मुस्किल भएको छ।
- कर्मचारीहरूले आयोजना प्रमुखको प्रभाव र नियामक निकायको उदासीनताले सुरक्षा मापदण्डको कार्यान्वयन नहुँदा जोखिम बढेको आरोप लगाएका छन्।
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालन भइरहेको निर्माण आयोजनाको लापरबाहीका कारण उडान सुरक्षामाथि गम्भीर प्रश्न उठ्न थालेको छ। रनवे तथा अन्य संवेदनशील क्षेत्रमा निर्माण आयोजनाका सवारीसाधन अनधिकृत रूपमा प्रवेश गर्ने घटना पटक–पटक दोहोरिँदा पनि सम्बन्धित निकायले प्रभावकारी नियन्त्रण गर्न नसकेको आरोप विमानस्थलभित्रैबाट उठेको छ।
हाल विमानस्थलमा समानान्तर ट्याक्सीवे लगायतका पूर्वाधार निर्माण कार्य जारी छ। असार १५ गते बिहान ६ : १२ बजे जजिरा एयरवेजको उडान नम्बर १५३९ काठमाडौँ अवतरणका लागि करिब एक माइलको दूरीमा पुगेको बेला धावनमार्गको बीच भागबाट एउटा टिपरले रनवे क्रस गरेको थियो ।
दमकल तथा एयरसाइड म्यानेजमेन्ट डिभिजनको गस्ती टोलीले तत्काल एयर ट्राफिक कन्ट्रोल (एटीसी) लाई जानकारी गराएपछि आवश्यक सतर्कता अपनाइएकाले सम्भावित दुर्घटना टरेको विमानस्थल स्रोतले जनाएको छ।
त्यसको ११ दिनपछि, असार २६ गते बिहान ४ : २८ बजे उपचारका लागि गणेश नेपालीलाई भारत लैजान तयार अवस्थामा रहेको विमानको उडान प्रक्रिया चलिरहेका बेला धावनमार्ग नजिकै फेरि अर्को टिपर देखिएको थियो । अनुसन्धानका क्रममा उक्त सवारीसाधन पनि विमानस्थलको निर्माण आयोजनामै खटिएको पुष्टि भएको स्रोतको दाबी छ।
विमानस्थल स्रोतका अनुसार यस्ता घटना एक–दुई पटकमा सीमित छैनन् । निर्माण आयोजनासँग सम्बन्धित सवारी साधन तथा उपकरणहरूले एयरसाइड क्षेत्रमा पटक–पटक नियमविपरीत आवतजावत गर्ने गरेको भए पनि त्यसलाई रोक्न जिम्मेवार निकाय गम्भीर नदेखिएको आरोप छ।
सुरक्षा अधिकारीहरूका अनुसार विभिन्न वायुसेवा कम्पनीहरूले समेत पटक–पटक गुनासो गर्दै आएका छन्। तर ती गुनासाको प्रभावकारी सुनुवाइ हुन नसकेको उनीहरूको भनाइ छ। नयाँ महानिर्देशक आएपछि यस्ता घटनालाई गम्भीर सुरक्षा उल्लङ्घनका रूपमा नलिई सामान्य घटनाजस्तै व्यवहार गर्ने र कतिपय अवस्थामा प्रतिवेदनसमेत आवश्यक नठान्ने प्रवृत्ति बढेको सुरक्षा अधिकारीहरूको दाबी छ।
यसैबीच, ट्याक्सीवेसम्बन्धी ‘नोटाम’ जारी गरिए पनि व्यवहारमा विमानस्थल सञ्चालन निर्धारित मापदण्डअनुसार हुन नसकेको कर्मचारीहरूको आरोप छ। उनीहरूका अनुसार कागजमा सुरक्षा मापदण्ड कडा देखिए पनि व्यवहारमा त्यसको प्रभावकारी कार्यान्वयन नहुँदा उडान सुरक्षामा थप जोखिम सिर्जना भइरहेको छ।
स्रोतका अनुसार आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठको प्रभावका कारण कर्मचारीहरू यस्ता विषयमा खुलेर बोल्न हिच्किचाउने गरेका छन्। परिणामस्वरूप निर्माण आयोजनाको मनपरी बढ्दै गएको, सुरक्षासम्बन्धी गुनासाहरू दबिने गरेको तथा सम्बन्धित निकायबाट आवश्यक कारबाही नहुने अवस्था बनेको आरोप कर्मचारीहरूले लगाएका छन्। यद्यपि, यस विषयमा विमानस्थल प्रशासनको आधिकारिक धारणा प्राप्त हुन सकेको छैन।
उडान सुरक्षाका जानकारहरूका अनुसार धावनमार्ग वा त्यसको संवेदनशील क्षेत्रमा कुनै पनि अनधिकृत सवारीसाधन वा उपकरणको उपस्थितिलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार अत्यन्त गम्भीर सुरक्षा उल्लङ्घन मानिन्छ। तर नेपालमा निर्माण आयोजनाको दबाब, कमजोर सुरक्षा संस्कृति र नियामक निकायको उदासीनताका कारण उडान सुरक्षाभन्दा आयोजनाको सहजतालाई प्राथमिकता दिइएको देखिएको उनीहरूको निष्कर्ष छ। यस्तो अवस्था निरन्तर रहिरहे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको समग्र सुरक्षा प्रणाली र अन्तर्राष्ट्रिय विश्वसनीयतामै प्रश्न उठ्न सक्ने उनीहरूको चेतावनी छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सट्टाबाजीले स्पेनविरुद्ध फ्रान्सलाई दियो अग्रता
-
बझाङ जिप दुर्घटना : ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
-
आदर्शका अग्निशिखा : बीपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद र गिरिजाबाबुबाट नयाँ पुस्ताले के सिक्ने ?
-
बझाङमा जिप दुर्घटना
-
भियतनाममा भारतीय पर्यटक सवार स्पिडबोट पल्टिँदा १५ जनाको मृत्यु
-
गोल मेसिनको भिडन्त : ह्यारी केन र अर्लिङ हालान्डमध्ये तपाईं कसलाई रोज्नुहुन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण