भ्याट दर घटाउन र आयकर छुटको सीमा १० देखि १२ लाख पुर्याउन विज्ञहरूको सुझाव
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा आगामी बजेटमाथिको छलफलमा विज्ञहरूले अर्थतन्त्र चलायमान बनाउन भ्याट दर १३ प्रतिशतबाट घटाउन, व्यक्तिगत आयकर छुटको सीमा बढाउन र कर तथा ऋण व्यवस्थापनमा संरचनागत सुधार गर्न सरकारलाई सुझाव दिएका छन्।
उनीहरूले बजारमा माग घट्दै गएको, मध्यम वर्गको जीवनयापन महँगिएको र उद्योगमैत्री वातावरण कमजोर बनेको भन्दै आगामी बजेटमार्फत कर संरचना र वित्तीय सङ्घीयतामा सुधार आवश्यक रहेको बताएका हुन्।
छलफलका क्रममा करविद् रूप खड्काले अर्थतन्त्रमा माग वृद्धि र सकारात्मक व्यावसायिक वातावरण सिर्जना गर्न मूल्य अभिवृद्धि कर (भ्याट) को दर घटाउने विषयमा सरकारले गम्भीर समीक्षा गर्नुपर्ने बताए। उनले वर्तमान १३ प्रतिशत भ्याट दरलाई घटाएर १२, ११ वा १० प्रतिशतसम्म ल्याउनु उपयुक्त हुने धारणा राखे।
करको दर घटाउने निर्णय गर्दा केवल भ्याटमा मात्र केन्द्रित नभई समग्र कर संरचनाको विश्लेषण गर्नुपर्ने उनको भनाइ छ। खड्काले भने, ‘अहिलेको सन्दर्भमा हामीले बजारमा माग पनि बढाउने र एउटा सकारात्मक वातावरण ल्याउने हो भने, मूल्य अभिवृद्धि करको दरलाई १३ प्रतिशतबाट घटाएर १२, ११ वा १० प्रतिशतसम्म ल्याउनु न्यायोचित हुन्छ र तर, त्यसरी करको दर घटाउनु भन्दा पहिले हामीले के सोच्नुपर्छ भने– हामीले भ्याटको दर घटाउने कि, अन्तःशुल्कको दर घटाउने, अथवा भन्सारको दर घटाउने? जस्तै, यो चस्मा आयात गर्दा यसमा भ्याट पनि लाग्छ, अन्तःशुल्क पनि लागेको होला र भन्सार महसुल पनि लाग्छ, मानौँ, यी सबै माध्यमबाट नेपाल सरकारलाई वर्षभरिमा २०० रुपैयाँ राजस्व संकलन गर्न आवश्यक छ, अब त्यो २०० रुपैयाँ हामी भ्याटमार्फत पनि संकलन गर्न सक्छौँ, अन्तःशुल्कमार्फत पनि गर्न सक्छौँ, अथवा भन्सार महसुलबाट पनि उठाउन सक्छौँ, हामीसँग विकल्प त उपलब्ध छ, किनकि कुनै पनि वस्तुमा एउटा मात्र कर त लाग्दैन, अब मानौँ, हामीले बजारमा माग बढाउनु छ, त्यसैले, २०० रुपैयाँको सट्टा यो वर्ष १०० रुपैयाँ मात्र राजस्व संकलन गर्ने हामीले परिकल्पना गर्यौँ, यस्तो अवस्थामा, त्यो १०० रुपैयाँ भन्सारबाट घटाउने कि, अन्तःशुल्कबाट घटाउने, आयकरबाट घटाउने, अथवा मूल्य अभिवृद्धि कर (भ्याट) बाट घटाउने भनेर हामीले विश्लेषण गर्नुपर्ने हुन्छ ।’
त्यस्तै अर्थविद् चन्द्रमणि अधिकारीले सामान्य जीवयापन गर्ने मध्यम वर्ग र निम्न मध्यम वर्गको बढ्दो जीवनयापन खर्चलाई ध्यानमा राख्दै व्यक्तिगत आयकर छुटको सीमा उल्लेखनीय रूपमा बढाउनुपर्ने बताए। उनले दैनिक उपभोगका अधिकांश वस्तु तथा सेवामा मूल्यवृद्धि भइरहेको परिप्रेक्ष्यमा हाल कायम रहेको कर छुटको सीमा यथार्थपरक नभएको उल्लेख गरे।
नेपालको ६१ देखि ६४ प्रतिशत व्यापार भारतसँग हुने र त्यहाँको मूल्यवृद्धिको प्रत्यक्ष प्रभाव नेपालमा पनि पर्ने भन्दै उनले भारतमा वार्षिक १२ लाख भारुसम्म आम्दानी हुनेलाई कर छुट हुँदा नेपालमा भने दम्पतीलाई ६ लाख र एकल व्यक्तिलाई ५ लाख रुपैयाँ मात्र छुट हुनु अत्यन्त न्यून भएको बताए।
अधिकारीले भने, ‘मध्यम वर्ग र निम्न मध्यम वर्गले आफ्नो पारिवारिक बजेटको अधिकांश खर्च जुन–जुन शीर्षकमा गर्छन्, त्यसमा मूल्यवृद्धि बढेको छ, यस्तो अवस्थामा व्यक्तिगत करको जुन छुटको सीमा छ, त्यसलाई हामीले कतै न कतै बढाउनै पर्छ, किनभने, भारत र हामीकहाँ मूल्यवृद्धि एउटै गतिमा हुन्छ; किनकि हाम्रो ६१ देखि ६४ प्रतिशत व्यापार भारतसँग नै हुन्छ, हामी अधिकांश कुरा त्यहीँबाट किनेर ल्याउँछौँ, त्यहाँ मूल्यवृद्धि हुँदा यहाँ पनि मूल्यवृद्धि हुन्छ र त्यहाँ मूल्य घट्दा यहाँ पनि मूल्य घट्छ, त्यसैले गर्दा, तुलनात्मक हिसाबले क्रय शक्ति चाहिँ त्यहाँको भन्दा हाम्रो अझै कम छ, त्यही कारणले गर्दा, त्यहाँ (भारतमा) सामान्यतया १२ लाख भारु सम्म र पारिश्रमिक आय हुनेहरूलाई १२ लाख ७५ हजार आईसीसम्मको आम्दानीमा कर लाग्दैन, हामीकहाँ भने दम्पतीलाई ६ लाख र व्यक्तिलाई ५ लाख रुपैयाँसम्म मात्र कर छुटको सीमा छ, क्रमशः ५ र ६ लाखको यो छुट निकै कम हो, किनभने, त्यो दम्पतीले पालनपोषण गर्नुपर्ने परिवारमा को–को हुन्छन् त भन्दा– दुई जना छोराछोरी र कमाउन नसक्ने बुबाआमा पनि हुन सक्छन्, यसरी हेर्दा पनि, दुई जना कमाउनेले कम्तीमा ६ जनाको परिवार पाल्नुपर्ने अवस्था हुन्छ, त्यसैले, ६ जनाको परिवारको मासिक वा वार्षिक जीवनयापन लागत कति हो भन्ने कुराको कतै न कतै अध्ययन गरेर त्यसलाई परिमार्जन गरिनुपर्छ ।’
उनले कम्तीमा १० देखि १२ लाख रुपैयाँसम्म व्यक्तिगत आयकर छुटको सीमा कायम गर्नुपर्ने सुझाव दिए।
छलफलमा पूर्वसचिव दीर्घराज मैनालीले ऋण व्यवस्थापनमा सुधार आवश्यक रहेको औँल्याए। हाल आन्तरिक ऋण उठाएर तलब, भत्ता तथा चालू खर्चमा प्रयोग भइरहेको भन्दै उनले ऋणलाई निश्चित आयोजना वा कार्यक्रमसँग जोडेर उठाउने प्रणाली विकास गर्नुपर्ने धारणा राखे।
मैनालीले भने, ‘ऋण व्यवस्थापन (डेट म्यानेजमेन्ट) का सन्दर्भमा योजना वा कार्यक्रमगत (प्रोजेक्टरप्रोग्राम वाइज) रूपमा आन्तरिक ऋण उठाउने संयन्त्र सुरु गरियो भने यसको प्रत्यक्ष प्रभाव देखिन्छ, अहिले ऋण उठाएर चालू खर्च, तलब वा भत्तामा खर्च भइरहेको अवस्था छ, त्यसो नगरी, उठाइएको ऋणलाई निश्चित प्रोजेक्ट वा प्रोग्रामसँग जोडेर अगाडि बढाउन सकिन्छ ।’
यसैगरी राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रकाशकुमार श्रेष्ठले नेपालको वित्तीय सङ्घीयता प्रणालीमा गम्भीर विसङ्गति देखिएको बताउँदै बजेटले त्यसलाई सुधार्नुपर्नेमा जोड दिए। उनले तीनवटै तहका सरकारसँग ठूलो रकम बचत भएर बसेको अवस्थामा केन्द्र सरकार भने ऋण लिएर ब्याज तिर्न बाध्य भएको विरोधाभासपूर्ण अवस्था औँल्याए।
श्रेष्ठले भने, ‘हाम्रो वित्तीय संघीयतामा अहिले एउटा यस्तो विसंगति देखिएको छ, जहाँ हिजो मात्रको तथ्यांक हेर्दा पनि तीनवटै तहका सरकारको कुल बचत ३८० अर्ब रुपैयाँ रहेको छ र अर्कोतर्फ, केन्द्र सरकार भने ऋण लिएर त्यसको ब्याज तिरिरहेको छ, यो अवस्थालाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा अन्तर्सरकारी वित्त व्यवस्थापन ऐनमै संशोधन गर्नुपर्ने आवश्यकता देखिन्छ, यदि त्यसो गरिएन भने, हामी एकातिर ऋण लिइरहने र अर्कातिर अबौँ रुपैयाँ बचत गरेर राख्ने विरोधाभासपूर्ण स्थितिमा रहिरहनेछौँ ।’
उद्योगी हरिभक्त शर्माले कच्चा पदार्थ आयात गर्दा बढी कर लाग्ने तर तयारी वस्तु आयात गर्दा कम कर लाग्ने ‘इन्भर्टेड ट्याक्स’ व्यवस्थाका कारण स्वदेशी उत्पादन प्रतिस्पर्धाहीन बन्दै गएको गुनासो गरे। उद्योग स्थापना गर्ने प्रारम्भिक चरणमै अत्यधिक कर लगाइँदा लगानीकर्ता निरुत्साहित भएको उनको भनाइ छ। औषधि उद्योगको उदाहरण दिँदै शर्माले भने, ‘नेपालमा औषधि उद्योग खोल्ने बित्तिकै सुरुमै सरकारलाई ३८ प्रतिशत कर बुझाउनुपर्ने बाध्यता छ, यसको अर्थ, यदि मैले ५०० करोड रुपैयाँको लगानीमा उद्योग शुरु गर्न खोजेँ भने करिब २०० करोड रुपैयाँ तो सरकारले शुरुमै करबापत लिन्छ, यस्तो अवस्थामा पनि हाम्रो प्रणालीले खुला आर्थिक नीतिको हवाला दिँदै हामीलाई ‘भारत र चीनका उद्योगहरूसँग प्रतिस्पर्धा गर’ भनिरहेको हुन्छ, त्यसैले, उद्योगधन्दालाई निरुत्साहित गर्ने यो ‘इन्भर्टेड ट्याक्स’ प्रणालीलाई उल्ट्याउनु पर्छ भन्ने मेरो मुख्य सुझाव हो ।’
उनले हालको औद्योगिक व्यवसाय ऐन पुरानो र नेपालअनुकूल नभएको दाबी गर्दै नयाँ कानुनी संरचनाबिना लगानीमैत्री वातावरण बन्न नसक्ने स्पष्ट पारेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
-
जलवायुजन्य विपद्का कारण नेपालमा बर्सेनि अर्बौँको क्षति, गैर-आर्थिक नोक्सानीको तथ्याङ्क राख्न विज्ञहरूको जोड
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण