बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अन्तर्वार्ता

'बाजुरा–हुम्ला सीमा विवाद क्षेत्र तस्करहरूको ट्रान्जिट प्वाइन्ट हो'

जहाँबाट करोडौँका जडीबुटी चीनतर्फ तस्करी गरिन्छ
शुक्रबार, ०८ जेठ २०८३, १७ : ००
शुक्रबार, ०८ जेठ २०८३

सारांश

  • बाजुरा र हुम्ला जिल्लाबीच सीमा विवाद उत्कर्षमा पुगेको छ, जहाँ प्रहरी चौकी निर्माण गर्ने क्रममा मजदुरमाथि कुटपिट भएको छ ।
  • सीमा विवादित क्षेत्र रानीसैन र लाम्पाटा बहुमूल्य जडीबुटी र वन्यजन्तु तस्करीको 'ट्रान्जिट प्वाइन्ट' भएको र सोही कारण प्रहरी चौकी निर्माणमा अवरोध भएको पत्रकार प्रकाश सिंहले बताएका छन् ।
  • पत्रकार सिंहले आफूले उक्त क्षेत्रको सम्भावना उजागर गर्दा र तस्करी नियन्त्रणको पक्षमा बोल्दा ज्यान मार्ने धम्की पाएको बताएका छन् ।

यतिखेर बाजुरा र हुम्ला जिल्लाबिच सीमा विवादको विषय उत्कर्षमा पुगेको छ । गत जेठ ३ गते बाजुराको लाम्पाटामा प्रहरी चौकी निर्माणका लागि काम गर्ने मजदुरहरूमाथि कुटपिट भयो । घाइते मजदुरलाई हेलिकप्टरबाट उद्धार गरियो । बाजुराको रानीसैन भ्रमणका लागि धनगढी उपमहानगरपालिका मेयर गोपाल हमालसहितको टोली र बाजुराको हिमाली गाउँपालिकाबाट हिँडेको ३५ जनाको संयुक्त टोलीलाई हुम्लाबासीले लखेटे ।

करिब ४ घण्टा टाढाबाट आएका हुम्लाबासीले बाजुराको लाम्पाटाबासीको घरमा पसेर कुटपिट गरे । प्रतिकारमा बाजुरेलीले आफ्नो भूगोलमा व्यवसाय गर्दै आएका हुम्ली व्यापारीको पसल बन्द गराए । हुम्ला जाने यातायात अवरुद्ध पारे । स्थानीयस्तरमा यो विवादले ठुलो द्वन्द्व सिर्जना गर्‍यो । संसदमा पनि यसबारे आवाज उठ्यो ।

बाजुराका स्थानीय पत्रकार प्रकाश सिंहले अहिले द्वन्द्व भइरहेको लाम्पाटा र रानीसैन क्षेत्र पुगेर लामो समयदेखि कलम चलाउँदै आइरहेका छन् । बाजुरा र हुम्ला सीमा विवाद लगायतका विषयमा पत्रकार सिंहसँग रातोपाटीका लागि नरेन्द्र रौलेले कुराकानी गरेका छन् । प्रस्तुत छ, पत्रकार सिंहसँग गरिएको कुराकानीको सम्पादित अंश–

  • यतिखेर बाजुरा र हुम्लाबिच सीमा विवाद चर्किरहेको छ । खासमा यो सीमा विवाद कस्तो हो ?

खासमा बाजुरा र हुम्लाको सिमाना विवादमा रानीसैन र लामपाटा क्षेत्र छन् । त्यो ठाउँ हुम्लाले आफ्नो भनिरहेको अवस्था छ । तर, नापी, गुगल म्यापमा हेर्दा त्यो बाजुरामा पर्छ ।

जेठ ३ गते जहाँ झडप भयो, घरमै आएर लुटपाट गरियो, त्यो हिमाली गाउँपालिकाको वडा नं. ३ मा पर्ने लामपाटा गाउँ हो । त्यो घर वडा सदस्यको हो । त्यहाँ नजिकै एउटा स्कुल र बाल विकास केन्द्र पनि छ । त्यो जग्गा सबै बाजुरामा छ । लालपुर्जा बाजुराकै छ । गुगल म्यापमा हेर्दा त्यो बाजुरा नै पर्छ ।

त्योसँगै माथि रानीसैन क्षेत्र बाजुरामै पर्छ । तथ्य केलाउँदा भूगोल बाजुरामा पर्छ, तर भोगचलन बाजुरा र हुम्ला दुई वटै जिल्लाका स्थानीय बासिन्दाले गर्छन् । अझ हुम्लातर्फ बाक्लो बस्ती छ, बाजुरातर्फ तुलनात्मक रूपमा पातलो बस्ती छ । हुम्लाका बासिन्दाको पहुँच बढी भएकाले हुम्लाको त्यहाँ भोगचलन गर्नुहुन्छ ।

विगतमा पनि बजुरेलीमाथि हुम्लाका दाजुभाइहरूले डर, त्रास, धम्की दिने, कुटपिट गर्ने थुप्रै घटना भइरहेकै थिए । हुम्लीहरूबाट जडीबुटी लुटपाट गरेका घटना सार्वजनिक भइरहेकै थिए । पछिल्लो समय बाजुराको लाम्पाटामा प्रहरी चौकी स्थापना हुँदै थियो । सुदूरपश्चिम प्रदेश सरकारले ४० लाख रुपैयाँ बजेट छुट्ट्याइसकेको थियो । लामपाटामा एक वडा सदस्यको घर नजिकै प्रहरी चौकी स्थापना गर्ने काम सुरु भइसकेको थियो । त्यो स्थापना भइसकेपछि हुम्लाका स्थानीयलाई चित्त बुझेन । प्रहरी चौकी निर्माण कार्य रोक्ने प्रयास भयो ।

हुम्लाबाट उहाँहरू तीन–चार घण्टा हिँडेर दुई–तीन सयको जत्था आएर त्यो प्रहरी चौकी स्थापना गर्न रोकमात्रै लगाइएन, बाजुरा, लाम्पाटाका वडा सदस्य र कामदारमाथि कुटपिट गरियो । घर लुटपाटसमेत गरियो ।

  • बाजुराको लाम्पाटामा प्रहरी चौकी निर्माणमा हुम्लाबासीले किन अवरोध सिर्जना गरे ? त्यसका पछाडि के कारण छ ?

त्यसको एउटै कारण भनेको त्यो क्षेत्र तस्करको अखडा हो । त्यहाँबाट बहुमूल्य जडीबुटी तस्करी र वन्यजन्तुको चोरी निकासी हुन्छ । त्यो तस्करको ‘ट्रान्जिट प्वाइन्ट’ हो । यहाँबाट चीनसम्म पनि कनेक्सन छ । बाजुरा लाम्पाटाको त्यही बाटो भएर रानीसैन हुँदै चीनको बोर्डरमा पुगिन्छ । करोडौँ रकमका जडीबुटीहरू चीनतर्फ तस्करी हुँदै आएको थियो । त्यहाँ सबै कुरा तस्करको नियन्त्रणमा हुन्छ ।

लाम्पाटामा प्रहरी चौकी स्थापना हुन लागेपछि विवाद चर्किएको हो । सीमा विवाद पहिलादेखि नै थियो । अहिले प्रहरी चौकी स्थापना बन्ने भएपछि झन् बल्झियो । बहुमूल्य जडीबुटी तस्करी र वन्यजन्तुको चोरी निकासी रोकिने भएपछि तस्करको निर्देशनमा अहिले द्वन्द्व भएको हो ।

धनगढी उप–महानगरपालिकाका मेयर गोपाल हमालसहितको टिम रानीसैन जाने क्रममा लाम्पाटाबाट लखेटियो । उनीहरूलाई फिर्ता गरियो । वडा सदस्य सहित ६ जना घाइते भए, ४ जनालाई हेलिकप्टरमा सुर्खेत ल्याइयो । सुर्खेतबाट नेपालगञ्ज, ल्याएपछि काठमाडौँको वीर अस्पतालमा उपचार हुँदैछ ।

  • खासमा बाजुरा र हुम्लाबिच सीमा विवादभन्दा बढी अरु नै कारण छन् ?

बाहिरी रूपमा सिमाना विवादको कुरा प्रचार गरियो, तर भित्री रूपमा केलाउँदा अन्य कारण छन् । त्यहाँ प्रहरी चौकी स्थापना भइसकेपछि गैर–कानुनी जडीबुटी, तस्करी नियन्त्रण हुन्छ । कसैको गुण्डागर्दी चल्दैन । तस्करको योजनामा सीमा विवाद भन्दै अहिले विवाद बल्झिएको हो ।

  • यहाँ वन्यजन्तुको चोरी सिकार, जडीबुटीको तस्करीमा खास को–को सक्रिय छन् ? कहाँका मानिस बढी सक्रिय देखिन्छन् ?

काठमाडौँमा एउटा ठेकदारको टिम हुन्छ । स्थानीयस्तरमा अर्को टिम हुन्छ । उनीहरूले त्यहाँ जडीबुटी सङ्कलन गर्छन्, वन्यजन्तु चोरी–सिकारी गरेर सङ्कलन गर्छन् । हुम्ला हुँदै उता चीन पुर्‍याउने कि यता काठमाडौँ, नेपालगञ्ज ल्याउने ? त्यो काम गर्ने अर्को टिम छ । त्यो टिम भनेको जडीबुटी सङ्कलनदेखि लिएर ठेक्कापट्टा गर्ने बढी मात्रामा हुम्लाकै बासिन्दा छन् । केही माथिल्लो बाजुराका पनि छन् । तर उल्लेख्यनीय सङ्ख्याचाहिँ हुम्लाका बासिन्दाहरूको छ । उनीहरूले त्यही पेसा गर्छन् ।

धेरै मान्छेको त्यहाँ जडीबुटी लुटिने काम पनि हुन्छ । जडीबुटी सङ्कलन गर्न बाजुराको मात्रै जाँदैनन्, मुगु र बझाङबाट पनि आउँछन् । हुम्लाको, मुगुको धेरै मान्छे जडीबुटी टिप्नहरू रानीसैनको लेकमा जान्छन् । त्यहाँ गइसकेपछि उनीहरूको सङ्कलन मात्रै हैन, लुटपाट गर्ने र उहाँहरूले तस्करी सुरु गर्ने किसिमको काम भइरहन्छ । सिस्टम, विधि र प्रक्रिया अनुसार संरक्षणसहित त्यहाँ जडीबुटी सङ्कलन हुनुपर्थ्यो । त्यहाँ वन कार्यालय, प्रहरी प्रशासनको उपस्थिति हुँदैन ।

जो त्यहाँ पुग्छन्, ज्यानको जोखिम हुन्छ । दुई–चार जना पुलिस, वन कार्यालयबाट दुई जना कर्मचारी गएर त्यहाँ केही हुँदैन । त्यहाँ मनोमानी तरिकाले तस्करी चलिरहेको थियो । त्यो तस्करी, जडीबुटी सङ्कलन हुम्लाका दाजुभाइ गर्छन् । केही मात्रामा बाजुराका पनि संलग्न छन् । त्यो नियन्त्रण हुन्छ भन्ने हेतुले आज यो स्थिति सिर्जना भएको हो ।

सिमाना विवादको कुरा एकातिर छ, सिमाना कसको भए पो के हुन्छ र ? रानीसैन त पर्यटकीय हिसाबले पनि एकदमै महत्त्वपूर्ण क्षेत्र हो । यहाँ जडीबुटीको प्रचुर सम्भावना छ । यो चौरी गाई, भेंडा–च्याङ्ग्राहरूको चरिचरन क्षेत्र हो । त्यहाँ प्रहरी चौकी स्थापना भयो भने तस्करहरू रोकिन्छन् । तस्करहरूको अखडा बन्दैन, जडीबुटी तस्करी हुँदैन । त्यसैले अहिले सतहमा यो विवाद पुगेको हो ।

  • तपाईं पहिलो पटक रानीसैन कहिले पुग्नुभयो ?

म पहिलो पटक रानीसैन ०७६ मा पुगेँ । त्यसपछि ठ्याक्कै एक वर्ष अगाडि पनि पुगेँ । तीन पटक पुगेँ । बिच–बिचमा रानीसैनमा भन्दा तल्लो क्षेत्र पुगेँ । हामीले साइपाल हिमालको पूर्वी बेस क्याम्प, रानी तालको सम्भावना, त्यहाँको पर्यटन क्षेत्र सम्भावनाका बारेमा लेखिराख्यौँ । त्यसपछि अलिकति बढी चर्चामा पनि आएको हो ।

  • रानीसैनलाई तपाईंले राष्ट्रियस्तरमा चिनाउनुका साथै त्यहाँका विषयवस्तुलाई राष्ट्रियस्तरका मिडियामा ल्याउनुभयो । तस्कर र गैरकानुनी कामको भण्डाफोर गर्नुभयो । कत्तिको चुनौतीपूर्ण भयो ?

जब मैले रानीसैनको बारेमा प्रचार–प्रसार गरेँ, लेखेँ, तब गाली–गलौज, धम्की आयो । मैले गुगल म्याप, लालपुर्जा, सबै हेर्दाखेरि त्यो भूभाग बाजुरामा देखेँ । रानीसैन बाजुरामा पर्छ भनेर लेखिराखेँ । लेखिराख्दा बढी प्रचार–प्रसार भयो । त्यहाँ पर्यटकहरूको उल्लेखनीय सहभागिता भयो ।

रानीसैन घुम्न जाँदा पर्यटकको सुरक्षाको सवाल आउँछ । हालै धनगढीका मेयर गोपाल हमालले हाम्रो सुरक्षा भएन भन्ने कुरा गर्नुभयो । यदि त्यहाँ प्रहरी चौकी भयो भने त सुरक्षा हुन्थ्यो नि । हामीले पटक–पटक लेखिरहँदा सुदूरपश्चिम प्रदेश सरकारका माननीय नरेश शाही अर्थमन्त्री हुँदा उहाँले टिम लिएर एक पटक जानुभयो ।

बाजुरामा प्रहरी चौकी स्थापना सुरु भयो । सुदूरपश्चिम प्रदेश सरकारले नै यहाँ प्रहरी चौकी स्थापना गर्‍यो । यहाँ भइरहेको चोरी सिकारीका बारेमा मैले ०७५ देखि लेखिरहेको छु । त्यहाँ नियन्त्रण हुनुपर्छ भन्ने किसिमले समाचार लेखिराखेँ । हुम्लाका पूर्व सांसद छक्क बहादुर लामाले बाजुराको हिमाली गाउँपालिकास्थित गुम्बाको स्कुलमा त जटामसी पेल्ने मेसिन राखेका थिए । हामीले त्यो बेला समाचार छाप्यौँ । गैरकानुनी रूपमा उनले मेसिन राखेका थिए । पछि त्यो समाचार छापिएपछि त्यो मेसिन त्यहाँबाट हटाए ।

त्यो किसिमको तस्करीबारे हामीले लेखिराख्यौँ, हामी बोलिराख्यौँ । तस्करी नियन्त्रण हुनुपर्छ भनेको थिएँ । तर त्यसको नाममा ममाथि केही हुम्ली दाजुभाइहरूले म्यासेन्जरमा अपशब्द बोल्ने, गाली गलौज गर्ने, मलाई काट्ने, मार्ने ज्यान मार्ने धम्की दिइरहनु भएको छ ।

त्यो एउटै कारण के हो भने मैले त्यहाँको सम्भावना उजागर गरेर चोरी सिकारी नियन्त्रण हुनुपर्छ, प्रहरी चौकी स्थापना हुनुपर्छ, सुरक्षा हुनुपर्छ भनेर बोलिरहँदा त्यसमा उहाँहरूको आपत्ति हो ।

  • तपाईंलाई धम्की दिने, गाली–गलौज गर्नेहरूमा सामान्य व्यक्तिहरू मात्र छन् कि चिनिएका, सुनिएका नेताहरू पनि छन् ?

धेरैले मलाई पटक–पटक मेसेन्जरमा, कमेन्टमा गाली–गलौज गर्थे । म उनीहरूको फेसबुकमा प्रोफाइल हेर्थें । उनीहरू सामान्य मान्छे होइनन् । यताका सामान्य मान्छे त फेसबुक नै चलाउन जान्दैनन् नि । हुम्ला, बाजुराको सामान्य मान्छेले सामाजिक सञ्जाल फेसबुक चलाउँदैनन् । हामीलाई गाली धम्की दिने भनेको माथिल्लो तहका, त्यहाँ तस्करी गर्ने, त्यहाँको स्थानीय ठेकदार हुन्छन्, पेटी ठेकदारहरू ।

रानीसैन क्षेत्रमा जडीबुटी मलाई बेच्नुपर्छ, तैंले अरुलाई बेच्यो भने त्यो जडीबुटी लुटपाट हुन्छ भन्ने किसिमका धम्की दिने व्यक्तिहरूको समूह, माथिल्लो भन्दा पनि त्यो बिचका मानिसहरूको समूह हो, जसले सामाजिक सञ्जाल चलाउँछन्, त्यहाँ गएर गुण्डागर्दी, तस्करी गर्ने, आफ्नो स्वार्थका लागि ती व्यक्तिहरूले मलाई धम्की दिइरहेका हुन् ।

  • रानीसैन क्षेत्रमा बाजुराको प्रशासन, त्यसैगरी वन कार्यालयका कर्मचारीहरू पुग्ने गर्छन् ?

२०७५ सालतिरको कुरा हो । जिल्ला वन कार्यालय बाजुरामा एक जना रेन्जर हुनुहुन्थ्यो, चौधरी समुदायका । उहाँ कैलालीबाट भर्खरै आउनुभएको थियो । उहाँ पहिलो पटक वनको काम लिएर जडीबुटीको अवस्था अध्ययन गर्न रानीसैन जानुभयो । त्यहाँ गइरहँदा उहाँलाई अपहरण गरे । दुई–तीन घण्टासम्म बन्धक बनाइयो । बन्धक बनाइसकेपछि उहाँले माफी माग्नुभयो । माफी नमागे तिमीलाई मार्छु, काट्छु भनिसकेपछि त्यहाँबाट केही नगरी उहाँ फिर्ता आउनुभयो ।

सदरमुकाममा मार्तडी बसेर उहाँले ‘अब म बाजुरा बस्दिनँ’ भनेर रमाना लिएर धनगढी जानुभयो । जिल्ला वन कार्यालयबाट एक जना रेन्जर त्यसरी नै भाग्नुभयो, त्रसित रूपमा ।

गत वर्ष हामीले रिपोर्टिङ गरिसकेपछि जिल्ला वन कार्यालय र वन सम्बन्धी काम गर्ने गैरसरकारी संस्थाबाट आठ–दश जनाको टिम रानीसैनमा जडीबुटीको सम्भावना अध्ययन गर्न जानुभयो । अध्ययन गर्न गइसकेपछि, त्यहाँ तस्करहरूले रोक लगाए । ‘यहाँ अध्ययन गर्न पाइँदैन, यो हाम्रो क्षेत्र हो, यो हाम्रो थलो हो । यो हामीले जे भन्यो त्यही गर्न पाइन्छ’ भने ।

त्यो बेला पनि प्रकाश सिंहले यो रानीसैनका बारेमा समाचार लेख्यो । बाजुरा भनेर लेख्यो, तस्करका बारेमा लेख्यो, भनेर गाली–गलौज गरे, ज्यान मार्ने समेत धम्की दिए ।

त्यहाँ गएका व्यक्ति पनि सुरक्षित छैनन् । पहिला त जानै नसक्ने, गए पनि सुरक्षा छैन । हुम्ला र बाजुराको सिमानाबाट दुई–तीन दिन हिँड्नुपर्छ । न टेलिफोन हुन्छ, न केही हुन्छ । त्यहाँ त कसैले तपाईंलाई अपहरण गरेर भिरमा फाल्दियो, खोलामा फाल्दियो भने केही थाहा हुँदैन । अत्तोपत्तो हुन्न । त्यो हिसाबले बाजुराको प्रहरी प्रशासन, वन कार्यालय कुनै पनि त्यहाँ पहुँच छैन ।

तपाईं घाइते हुनुभयो, बिरामी हुनुभयो, तपाईंमाथि कुटपिट भयो भने रानीसैनमा त तपाईंलाई उद्धार गर्ने ठाउँ पनि छैन । त्यहाँबाट फोन लाग्दैन । दुई–तीन दिन तल आउनुपर्छ । त्यसैले त्यहाँ जान, रिपोर्टिङ गर्न होस्, सुरक्षा निकाय जान एकदम जोखिम छ । पहुँचभन्दा त्यो बाहिरको ठाउँ हो ।

  • रानीसैनको पर्यटकीय सम्भावना के छ ? भोलिका दिनमा अन्तर्राष्ट्रिय पर्यटकहरू त्यहाँ पुग्न सक्ने सम्भावना के छ ?

रानीसैन साइपाल बेस क्याम्प, सैपालको पूर्वी बेस क्याम्प हो । साइपालको बेस क्याम्प जान सबैभन्दा सजिलो रुट भनेको त्यही हो । किनकि हामीले धेरै उकालो चढ्नु पर्दैन । ३४००–३५०० को हाइटमा हामी पुग्छौँ ।

बझाङबाट जाँदा अरु ठाउँमा त हाइट चढेर जानुपर्छ, बाटो अप्ठ्यारो हुन्छ, तर बाजुराको एकदम सजिलो रुट छ । त्यो सँगसँगै त्यहाँ ठुला फाँट छन्, जहाँ चरिचरण्नको क्षेत्र छ । त्यहाँ चौरी गाईदेखि लिएर भेंडा–च्याङ्ग्राहरूको चरिचरन क्षेत्र छ । त्यहाँ सुन्दर फाँटहरू, हिम शृङ्खलाहरू देखिन्छन् । आफ्नो अगाडि साइपाल देख्न सक्छौँ । यो पर्यटन क्षेत्रमा एकदमै प्रचुर सम्भावना बोकेको ठाउँ हो । यसले राष्ट्रियमात्र होइन, प्रचार गर्न सक्यो भने विदेशी पर्यटकहरूलाई भित्र्याउन सक्ने सम्भावना छ ।

खान–बस्न, सुरक्षा व्यवस्थापन चुनौती छ । सुरक्षा व्यवस्थापन गर्न सकिएन भने को जान्छ ? एक वर्ष अगाडि रानीसैनको बारेमा मैले लेखिरहँदा मलाई फलो गरेर हजारौँ पर्यटक त्यहाँ पुगे । अहिले अब प्रहरी चौकी स्थापना हुन खोज्यो, त्यसमा विवाद आयो । पर्यटन प्रवर्द्धन गर्‍यो भने एकदम प्रचुर सम्भावना छ ।

  • बाजुराको लाम्पाटामा अब फेरि प्रहरी चौकी बन्नै पर्छ, त्यहाँ होटलहरू चल्नै पर्छ भन्ने पक्षमा हुनुहुन्छ ?

लाम्पाटादेखि लिएर रानीसैन क्षेत्रमा प्रहरी चौकीमात्र होइन, सकेसम्म सशस्त्र प्रहरीको एउटा टुकडी राख्नुपर्छ । त्यो ठुलो तस्करी हुने ठाउँ हो ।

गत वर्ष म घुम्न गएको बेला लाम्पाटाभन्दा अलि अगाडि एउटा होटल थियो । त्यो होटलमा हुम्लाको एउटा वडा सदस्य बस्नुभएको थियो । उहाँ भरुवा बन्दुक लिएर सिकार गर्न जानुभएको थियो । उहाँले यतिसम्म भन्नुभयो कि, ‘गाउँपालिकाको टिम माथि रानीसैन गएको छ । म घोरल मारेर ल्याउँछु, उहाँहरूलाई खुवाउँछु भनेर बसेको छु ।’

दुई–तीन दिनसम्म मैले मार्न सक्या छैन भन्नुभयो । हामीसँग एउटै बेडमा सुत्नुभयो । उहाँले सिरानीमा बन्दुक राख्नुभएको थियो । उहाँको नामचाहिँ नखुलाउँ । उहाँ वडा सदस्य हो, हामी राम्ररी चिन्छौँ । उहाँले राति अलिकति मदिरापान गर्नुभएको थियो । हामी पत्रकार हो भन्ने थाहा पाउनुभएको थिएन । उहाँले सबै कुरा गर्नुभयो । बिहान उठिसकेपछि जब म पत्रकार हो भन्ने थाहा पाउनुभयो, त्यो बन्दुक लिएर आफ्नो बाटो लाग्नुभयो ।

यो त्यस्तो तस्करको अखडा हो । त्यसैले त्यहाँ प्रहरी चौकीमात्र होइन, त्यहाँ सशस्त्र प्रहरीको बेस क्याम्प, प्रहरी चौकी राख्न एकदमै जरुरी छ । त्यो अति आवश्यक पनि हो । नभए भोलिका दिनमा त्यहाँ अझ तस्करहरूले हान्ने, गोली हान्ने, खुकुरी प्रहार गर्ने, हत्या गर्ने किसिमका घटना दोहोरिन सक्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र रौले
नरेन्द्र रौले
लेखकबाट थप