दुई जिल्लाबिच उग्र बन्यो सीमा विवादः बाजुराको टोलीमाथि हुम्लाका स्थानीयको आक्रमण
सारांश
- साइपाल हिमालको आधार शिविर (रानीसैन) क्षेत्रको सीमा विवादका कारण बाजुरा र हुम्लाका स्थानीयबिच झडप भएको छ ।
- बाजुराको हिमाली गाउँपालिकाको टोलीमाथि हुम्लाका स्थानीयले साङ्घातिक आक्रमण गर्दा ६ जना घाइते भएका छन् ।
- बाजुरा प्रशासनले प्रहरी चौकी निर्माण सुरु गरेपछि सीमा विवादले उग्र रुप लिएको हो ।
धनगढी । साइपाल हिमालको आधार शिविर (रानीसैन) क्षेत्रको सीमा विवादका कारण बाजुरा र हुम्लाका स्थानीयबिच झडप भएको छ ।
बाजुराको हिमाली गाउँपालिकाको टोलीमाथि हुम्लाको खार्पुनाथ गाउँपालिकाका स्थानीयले साङ्घातिक आक्रमण गर्दा ६ जना घाइते भएका छन् ।
घाइतेमध्ये गम्भीर अवस्थाका चार जनालाई सिम्रिक एयरको हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि नेपालगञ्ज लगिएको छ । घाइते हुनेहरूमा हिमाली गाउँपालिका–३ लाम्पाटाका वडा सदस्य पेमा गाराप गुरुङ, उनकी श्रीमती लक्षी गुरुङ, सोही वडाका नरबहादुर गुरुङ र मिनु कुँवर रहेका छन् ।
यस्तै, आक्रमणबाट हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा र प्रहरी सहायक हवल्दार महेश धामी पनि सामान्य घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) इकवाल हवारिसका अनुसार घाइतेहरूको हिमाली–३ फुलिङबाट उद्धार गरिएको हो र उनीहरूको अवस्था हाल खतरामुक्त रहेको छ ।
हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लको नेतृत्वमा जनप्रतिनिधि, कर्मचारी र स्थानीय गरी ३६ जनाको टोली रानीसैन क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि छलफल गर्न त्यसतर्फ जाँदै थियो । मंगलबार बिहान साढे १० बजेतिर लाम्पाटा पुग्दा खार्पुनाथको थालीगाउँ, पालिगाउँ र रायगाउँबाट आएका करिब १५० जनाको समूहले आफूहरूमाथि आक्रमण गरेको मल्लले बताए ।
टोलीमाथि ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको र सुरक्षाकर्मीले आफूलाई जोगाएको अध्यक्ष मल्लले बताए । आक्रमणकारीले केही सदस्यको मोबाइलसमेत खोसेर लगेका छन् । 'हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ' अभियानअन्तर्गत पर्यटन प्रवर्द्धनका लागि साइपाल हिमालतर्फ जाँदै गरेको धनगढी उपमहानगरपालिकाको टोलीलाई पनि खार्पुनाथका स्थानीयले लाम्पाटाबाटै फर्काइदिएका हुन् ।
धनगढीका नगर प्रमुख गोपाल हमालको नेतृत्वमा रहेको ३० जनाको टोलीलाई स्थानीय युवाहरूले चुची खोलासम्मै लखेटेर आक्रमणको प्रयास गरेका थिए । नगर प्रहरी र सुरक्षाकर्मीले मेयर हमाल र गाउँपालिका अध्यक्ष मल्ललाई जोगाउन सफल भए पनि स्थानीयले आवागमन अवरुद्ध गर्न खोलाको काठेपुल समेत आधा भत्काइदिएका छन् ।
लामो समयदेखि सीमा विवाद रहेको रानीसैन र लाम्पाटा क्षेत्रमा बाजुरा प्रशासनले प्रहरी चौकी निर्माण सुरु गरेपछि विवादले उग्र रुप लिएको हो । सुदूरपश्चिम प्रदेश सरकारको ४० लाख बजेटमा निर्माण हुन लागेको उक्त चौकीको जग हाल्ने काम सुरु भएदेखि नै हुम्लाका स्थानीयले विरोध गर्दै आएका थिए ।
आक्रमणकारीले हुम्लाको जमिनमा भवन बनाउन लागेको दाबी गर्दै निर्माण सामग्री फालिदिनुका साथै भवनका लागि जग्गा दिने वडा सदस्य पेमाको परिवारलाई तीन दिनदेखि बन्धक बनाएर कुटपिट गरेको पीडित लक्षी गुरुङले बताइन् । हामी तीन पुस्तादेखि यहीँ बस्दै आएका छौँ, हामीसँग लालपूर्जा पनि छ,' उनले भनिन्, 'तर उनीहरूले हुम्लाको जमिन भन्दै घर खाली गर्न धम्की दिइरहेका छन् ।'
लाम्पाटाङ र गुम्बा गाउँ बाजुराको सबैभन्दा विकट बस्ती हुन् । भौगोलिक विकटताका कारण त्यहाँ फोन सेवासमेत उपलब्ध छैन, जसले गर्दा घटनाको जानकारी ढिलो गरी प्राप्त भएको थियो । हाल उक्त क्षेत्रमा सुरक्षा स्थिति र सीमा विवाद समाधानका लागि पहल भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा
-
हत्या आरोपमा एकै घरका तीन जना पक्राउ
-
१०८ धाराले थप आकर्षक बन्दै रामधुनी मन्दिर
-
दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट–बुटवल यात्रा
-
१६ वर्ष लामो खडेरी समाप्त: २०१० पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्पेन
-
कीर्तिपुरको राधास्वामी सत्संगस्थित होल्डिङ सेन्टर जलमग्न, सुकुमबासीहरू समस्यामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण