५ दिने अल्टिमेटम राखेर क्यानसँग राखेपले माग्यो अनियमितताको फेहरिस्त
सारांश
- राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरूमाथि लागेका आर्थिक तथा प्रशासनिक अनियमितताका आरोपमा छानबिन सुरु गरेको छ ।
- राखेपले क्यानलाई ५ दिनभित्र चित्तबुझ्दो जवाफ र सम्बन्धित कागजात पेस गर्न निर्देशन दिएको छ ।
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरी र युवा तथा खेलकुद मन्त्रालयको निर्देशनपछि राखेपले क्यानका ११ बुँदे आरोपमा छानबिन थालेको हो ।
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरूमाथि लागेका गम्भीर आर्थिक तथा प्रशासनिक अनियमितताका आरोपबारे छानबिन सुरु गरेको छ ।
राखेपले क्यानलाई पत्र पठाउँदै ५ दिनभित्र चित्तबुझ्दो जवाफ र सम्बन्धित कागजातहरू पेस गर्न निर्देशन दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीका आधारमा युवा तथा खेलकुद मन्त्रालयको निर्देशनपछि राखेपले यो कदम चालेको हो ।
के–के छन् आरोप ?
राखेपले क्यानलाई सोधेको स्पष्टीकरणमा ११ बुँदे गम्भीर प्रश्नहरू उठाइएका छन् ।
सवारी साधनको दुरुपयोगः अध्यक्षले आफ्नै गाडी क्यानलाई भाडामा लगाएर इन्धन र चालकको खर्च संघबाट लिएको, साथै गाडी हुँदाहुँदै हवाई यात्रा गरी दैनिक भत्तासमेत असुलेको ।
आर्थिक अपचलनः अनामनगरको एक रेष्टुरेन्टमा खाजा खाना खाएको बिल क्यानको नाममा भुक्तानी गराएको, आपूर्तिकर्तासँग कमिसन लिएको र फ्लेक्स छपाइमा महँगो बिल बनाइ रकम हिनामिना गरेको ।
विदेश भ्रमणमा अनियमितताः अध्यक्ष र कोषाध्यक्षले अत्यधिक विदेश भ्रमण गरेको, भ्रमणमा श्रीमती र असम्बन्धित व्यक्तिलाई संघको खर्चमा लगेको तथा विश्वकपमा आर्थिक लाभ लिएको ।
रकम हिनामिनाः अमेरिका भ्रमणका क्रममा संकलन भएको रकम र जर्सी तथा टिकट बिक्रीको हिसाबकिताब संघमा दाखिला नभएको ।
नियुक्तिमा पक्षपातः योग्यताको आधारमा नभई आफ्नै जिल्लाका व्यक्तिलाई कर्मचारीमा नियुक्त गरेको र स्वकीय सचिवलाई पार्टीको प्रचारमा हिँडाएको ।
विधान मिचेकोः साधारण सभामा विधानविपरीत व्यक्ति सहभागी गराई खर्च बढाएको ।
अपाङ्गता भत्ता विवादः अध्यक्षले अपाङ्गताको झूटो दाबी गरी सरकारी पेन्सन बुझ्दै राजनीतिमा सक्रिय रहेकोलगायत ११ बुँदा स्पष्टीकरण सोधिएको छ ।
यसअघि वैशाख ३१ गते युवा तथा खेलकुद मन्त्रालयले राखेपलाई पत्र लेख्दै छानबिनमा ढिलासुस्ती गरेको भन्दै असन्तुष्टि जनाएको थियो । मन्त्रालयले क्यानमाथि कारबाही अघि बढाउन दबाब दिएपछि राखेपले अन्ततः सक्रियता देखाएको हो । मन्त्रालयले वैशाख १४ गते नै स्पष्टीकरण सोध्न निर्देशन दिएको थियो, जुन राखेपमा वैशाख २३ गते दर्ता भएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीका आधारमा युवा तथा खेलकुद मन्त्रालयले राखेपलाई १० दिनभित्र छानबिन गरी प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो । मन्त्रालयले यसअघि नै छानबिनमा ढिलासुस्ती गरेको भन्दै राखेपलाई सचेत गराएको थियो । मन्त्रालयको उक्त निर्देशन कार्यान्वयन गर्न राखेपले क्यानबाट आवश्यक विवरण मगाएको हो ।
अहिले राखेपले यी सबै विषयमा ५ दिनभित्र सत्यतथ्य विवरण र प्रमाणित कागजात पेस गर्न क्यानलाई पत्राचार गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण