शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

आजन्म कारावासको सजाय पाएका कैदीले फरार अवस्थामै कैयौँ फिल्ममा अभिनय गरे, यसरी खुल्यो रहस्य

मङ्गलबार, १२ जेठ २०८३, ११ : ३२
मङ्गलबार, १२ जेठ २०८३

सारांश

  • आजन्म कारावासको सजाय पाएका हेमन्त मोदी पेरोलमा छुटेपछि फरार भई १२ वर्षसम्म विभिन्न फिल्ममा अभिनय गरे ।
  • नरेन्द्रको हत्यामा संलग्न हेमन्तलाई २००८ मा आजन्म कारावासको सजाय सुनाइएको थियो, तर २०१४ मा पेरोलमा छुटेपछि उनी फरार भए ।
  • फरार अवस्थामै हेमन्तले अमिताभ बच्चन, आमिर खान, रणवीर सिंह र इमरान हाशमीजस्ता कलाकारसँग विभिन्न बलिउड फिल्म र वेब सिरिजमा अभिनय गरेको रहस्य खुलेको छ ।

काठमाडौँ । आजन्म कारावासको सजाय पाएका कैदी फरार अवस्थामै विभिन्न फिल्ममा अभिनय गर्दासमेत लामो समयसम्म कसैले पत्तो पाउन सकेन भन्दा धेरैलाई अनौठो लाग्न सक्छ । अपराधीबाट कलाकार बनेका ती पुरुषको जीवन नै फिल्मका लागि कथा बन्ने विषयवस्तु झैँ बनेको छ ।

भारतको अहमदाबादमा बस्दै आएका हेमन्त मोदी सन् २००५ तिर कलेजमा अध्ययनरत थिए । यस क्रममा नरेन्द्र उर्फ नानो यशवन्त कांबले नाम गरेका एक जनासँग हेमन्तको झगडा भयो । सोही झगडाका क्रममा हेमन्तसहित ७ जनाले नरेन्द्रको हत्या गरे । घटनाको केही दिनभित्रै सातै जना पक्राउ परे ।

२७ अगस्ट २००८ मा अहमदाबादको एक अदालतले नरेन्द्रको हत्यामा संलग्न रहेको भन्दै हेमन्तसहित सातै जनालाई आजन्म कारावासको सजाय सुनायो । उनीहरूलाई अहमदाबादको साबरमती जेलमा चलान गरियो । पछि उनीहरूलाई महसाना जेलमा सारियो ।

२५ जुलाइ २०१४ मा गुजरात उच्च अदालतले हेमन्त मोदीलाई ३० दिनको पेरोलमा रिहा गरिदियो । तर पेरोल सुविधा पाएको मिति गुज्रिँदासम्म पनि हेमन्त जेलमा हाजिर भएनन् । प्रहरीले उनको खोजी ग¥यो तर उनी फेला परेनन् ।

पेरोलमा निस्किएका हेमन्त फरार भएको १२ वर्ष भइसकेको थियो । २१ मे २०२६ का दिन अहमदाबाद क्राइम ब्राञ्चमा एक जना सुराकीले १२ वर्षदेखि फरार रहेका हेमन्त अहमदाबादकै एक घरमा रहेको सूचना दिए । प्रहरीले सोही सूचनाका आधारमा उक्त घरमा खानतलासी गर्दा हेमन्त फेला परे । प्रहरीले उनलाई नियन्त्रणमा लियो ।

कैद भुक्तान नसकी फरार भएका हेमन्तले यस बिचमा बलिउडका दिग्गज कलाकार अमिताभ बच्चनदेखि लिएर आमिर खान, रणवीर सिंह, इमरान हाशमी लगायतका फिल्ममा अभिनय गरेको खुलासा भएको छ ।

सन् २०१८ मा प्रदर्शनमा आएको बलिउड फिल्म ठग्स अफ हिन्दुस्तानमा अमिताभ बच्चन र आमिर खानजस्ता दिग्गज कलाकार थिए । यो फिल्ममा पनि हेमन्तले अभिनय गरेका थिए ।

सन् २०२२ मा प्रदर्शन भएको जेश भाई जोरदार फिल्ममा रणवीर सिंह र बोमन इरानी मुख्य कलाकार थिए । उक्त फिल्ममा पनि हेमन्तले अभिनय गरेका थिए । यस्तै सन् २०२५ मा प्रदर्शन भएको मेट्रो इन दिनो फिल्ममा पनि हेमन्तले अभिनय गरे । नेटफ्लीक्समा प्रदर्शन भएको वेब सिरिज तस्करीमा पनि इमरान हाशमीका साथ उनले काम गरिसकेका छन् ।

अहमदाबाद प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाए अनुसार हेमन्तले यसबिचमा आफ्नो हुलिया र नामसमेत परिवर्तन गरेर बसेका थिए । यहाँसम्म कि उनले आफ्नो घर–परिवारसँग समेत सम्पर्क गरेका थिएनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप