बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
मनोज गजुरेलको थिएटर डेब्यु

कमेडीका बादशाह अब ‘भगवान् गणेश’ अवतारमा

बुधबार, १३ जेठ २०८३, १३ : ३०
बुधबार, १३ जेठ २०८३

सारांश

  • हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेल अब कान्तिपुर थिएटरमा मञ्चन हुने नाटक 'महाभारत'मा भगवान् गणेशको अवतारमा देखिने भएका छन् ।
  • दशकौँ लामो कलायात्रामा पहिलोपटक रङ्गमञ्चमा डेब्यु गर्दैछन्, जसलाई उनले कलाको गहन विधामा प्रवेश गर्ने महत्त्वपूर्ण कदम मानेका छन् ।
  • नाटकले परम्परागत महाभारतभन्दा पात्रहरूको भित्री द्वन्द्व र छुवाछुत, शक्तिजस्ता गम्भीर सामाजिक मुद्दाहरूमाथि प्रश्न उठाउनेछ ।

काठमाडौँ । हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेललाई दर्शकले अब फरक अवतारमा देख्न पाउने भएका छन् । उनी यो पटक ‘भगवान् गणेश’को अवतारमा देखिन लागेका हुन् । नेता तथा विश्वचर्चित व्यक्तिको क्यारिकेचरमा चर्चा बटुलेका उनी कान्तिपुर थिएटरमा मञ्चन तयारीमा रहेको नाटक ‘महाभारत’ फरक अवतारमा देखिने भएका हुन् । शिरमा भगवान् गणेशको प्रतीकात्मक मुकुटसहित उनी रङ्गमञ्चमा उत्रिँदैछन् ।

यसअघि उनले ‘भ्रष्टाचार’ नामक एक भिडियोमा भगवान् श्रीकृष्णको गेटअपमा सामाजिक विसङ्गतिमाथि व्यङ्ग्य प्रस्तुत गरेका थिए । यद्यपि प्रत्यक्ष रङ्गमञ्चमा भगवान् गणेशको रूप धारण गर्नु उनका लागि नितान्त फरक र गम्भीर अनुभव हुनेछ । गजुरेल यसै नाटक मार्फत पहिलो पटक रङ्गमञ्चमा डेब्यु गर्दैछन् ।

दशकौँ लामो कलायात्रा गरिसकेका गजुरेलका लागि यो नौलो अनुभव हो । यसलाई उनले केवल एउटा नयाँ चरित्र निर्वाह गर्नु नभएर कलाको एउटा गहन विधामा आफूलाई प्रवेश गराउने महत्त्वपूर्ण कदम ठानेका छन् ।

नाटकमा गणेशको भूमिका निर्देशक र भेषभूषा डिजाइनरहरूको परिकल्पना अनुसार ठ्याक्कै गणेश भगवानको हुबहु स्वरूपमा नभई प्रतीकात्मक हुने गजुरेलले बताए । टेलिभिजनका पर्दा, देश विदेशका स्टेजमा हास्यव्यङ्ग्यका एकल, सामूहिक प्रस्तुति र प्रहसनमा चर्चित गजुरेललाई नाटकमा देख्न पाउनु दर्शकका लागि पनि नौलो विषय हुने भएको छ ।

थिएटरका कलाकारहरूको अभिनय, बुझाइ र दृष्टिकोण बढी परिपक्व हुनुको पछाडि उनीहरूको कठोर साधना नै जिम्मेवार रहेको उनको बुझाई छ ।

रङ्गमञ्चमा आकर्षित हुनको कारण खुलाउँदै गजुरेलले भने, ‘कान्तिपुर थिएटरमा मञ्चन भएको सेतो धर्ती नाटक हेर्न जाँदा दर्शकहरूको ऊर्जा र उत्साह देखेर म प्रभावित भएँ ।’

थिएटरमा आफूले एकदमै नयाँ पुस्ताका, खासगरी क्वालिटीका दर्शक देखेको उनले सुनाए । उनले भने, ‘फिल्म वा मनोरञ्जनका अन्य माध्यममा कमै देखिने गम्भीर दर्शकहरूको उपस्थितिले मलाई रङ्गमञ्चतर्फ आकर्षित गर्‍यो ।’ उनी नाटकका लागि पछिल्लो १५–२० दिनदेखि थिएटरका युवा तथा सिर्जनशील टोलीसँग निरन्तर रिहर्सलमा व्यस्त छन् ।

WhatsApp Image 2026-05-25 at 18.04.15

गजुरेलका अनुसार, नाटकको यो तयारीले उनलाई नयाँ दृष्टिकोण र ऊर्जा दिएको छ । उनले भने, ‘यदि मैले १५–२० वर्ष पहिल्यै नाटक खेलेको भए, मैले गरिरहेको हास्यव्यङ्ग्य विधालाई यसले ५० प्रतिशतभन्दा बढी निखार दिने अहिले महसुस भयो ।’

थिएटरका कलाकारहरूको अभिनय, बुझाइ र दृष्टिकोण बढी परिपक्व हुनुको पछाडि उनीहरूको कठोर साधना नै जिम्मेवार रहेको उनको बुझाई छ ।

गजुरेलले अभिनय गर्न लागेको नाटक भारतीय प्रसिद्ध लेखक कुलदिप कुणालले लेखेका हुन् । यसलाई नवीन भट्टले नेपाली रूपान्तर, डिजाइन र निर्देशन गरेका हुन् । नाटक ‘महाभारत’ कुनै सामान्य पौराणिक कथाको पुनरावृत्ति मात्र होइन ।

‘नाटकले दर्शकलाई हामीले सुन्दै र पढ्दै आएको परम्परागत महाभारतभन्दा केही भिन्न स्वाद दिनेछ’, उनले नाटकबारे प्रस्ट्याए, ‘यसले युद्धका घटनाहरूभन्दा पनि पात्रहरूका भित्री द्वन्द्व र सामाजिक मुद्दाहरूमाथि कडा प्रश्न उठाउँछ ।’

नाटकले छुवाछुतको समस्या, शक्ति र निर्धोपनको परिभाषा, कसलाई शक्तिशाली मान्ने र कसलाई बुद्धिजीवी ठान्नेजस्ता गम्भीर सामाजिक तथा व्यावहारिक प्रश्नहरूलाई पनि कलात्मक रूपमा खेलाउने सुनाए ।

दशकौँदेखि नेपाली कला क्षेत्रमा स्थापित र चर्चित भइसकेका मनोज गजुरेलका लागि थिएटरका नयाँ र युवा कलाकारहरूसँग काम गर्नु लाग्नु सुखद अनुभव बनेको छ ।

हामीले वर्षाौँदेखि सत्य मान्दै आएका धारणाहरूलाई अर्को कोणबाट हेर्नुपर्छ कि भन्ने चेत यसले जगाउने विश्वास गजुरेलको छ ।

फिल्म तथा वा टेलिभिजनका लागि निर्मित विषयवस्तुमा कलाकारले आफ्नो गल्ती तत्काल सच्याउने वा ‘रिटेक’ लिने सुविधा पाउँछन् । एकल हास्य प्रहसनमा कतिपय अवस्थामा केही बिग्रियो भने स्वतःस्फूर्त रूपमा कुराहरू थपेर दर्शकलाई आकर्षित गर्न सकिन्छ । तर, नाटकको संसार बिलकुलै भिन्न छ । यहाँ न त रिटेकको सुविधा हुन्छ, न त एक्लैको प्रतिभाले मात्र काम चल्छ । गजुरेल यो चुनौतीलाई सहर्ष स्विकार्छन् ।

‘नाटकमा बिग्रियो भने ठट्टैठट्टामा सुधार्न पाइँदैन । ममात्र प्रतिभावान् भएर पुग्दैन, मेरा सह–कलाकार पनि उत्तिकै सबल हुनुपर्छ । सामूहिक रूपमा काम गर्दा कसैको प्रस्तुतिमा कमी आए अर्कोले त्यसलाई सम्हाल्नुपर्छ’, उनले भने, ‘यसैले गर्दा यो विधा बढी चुनौतीपूर्ण र सुन्दर छ ।’

दशकौँदेखि नेपाली कला क्षेत्रमा स्थापित र चर्चित भइसकेका मनोज गजुरेलका लागि थिएटरका नयाँ र युवा कलाकारहरूसँग काम गर्नु लाग्नु सुखद अनुभव बनेको छ । रिहर्सल कक्षमा पुगेपछि उनी आफूलाई कुनै स्थापित ‘स्टार’ का रूपमा होइन, एक सिकारुका रूपमा प्रस्तुत गर्छन् । ‘मिडिया वा फिल्ममा कम देखिए पनि त्यहाँ यस्ता प्रतिभावान् भाइबहिनीहरू हुनुहुन्छ, जसको अभिनय हेर्दा मलाई उहाँहरू मेरा अभिनयका गुरु जस्तो लाग्छ’, गजुरेलले भने ।

नाटकमा ४० वर्षभन्दा लामो रङ्गमञ्चीय अनुभव बोकेका अग्रज कलाकार रमेश बुढाथोकी पनि मुख्य भूमिकामा छन् । अग्रजप्रति सम्मान र अनुजहरूसँगको हार्दिक मित्रताले गर्दा रिहर्सलको वातावरण सधैँ ऊर्जावान् रहने गरेको उनी बताउँछन् । नयाँ पुस्तासँगको सहकार्यले आफूलाई कलाका नयाँ आयाम सिक्न र सिकाउन मद्दत पुर्‍याएको उनले भनाइ छ ।

  • इगो र ग्लानि बाहिरै

धेरैजसो अवस्थामा स्थापित कलाकारहरूमा नयाँ तथा नचलेका कलाकारसँग देखिँदा एक किसिमको अहङ्कार (इगो) देखिन्छ । तर गजुरेलले थिएटरको गेटभित्र छिरेपछि जुनसुकै कलाकारको पनि इगो र ग्लानि बाहिरै छुट्ने अनुभव गरेका छन् ।

‘नाटकघर वास्तवमै एउटा साधना स्थल हो,’ ध्यान र अध्यात्ममा समेत रुचि राख्ने गजुरेलले भने, ‘त्यहाँ पुगेपछि स्वतः त्यहाँको वातावरणले मानिसको अहङ्कारलाई शान्त बनाइदिन्छ ।’

१४ गतेदेखि नियमित मञ्चनमा जाने नाटकको गेटअप र प्रकाश (लाइटिङ) सहितको अन्तिम चरणको रिहर्सल सोमबार (११ जेठमा) भएको थियो ।

नाटकलाई उनी विशुद्ध टिमवर्क मान्दछन् । नाटकमा निर्देशक, कलाकार, सङ्गीतकार, प्रकाश (लाइट) संयोजक, हल व्यवस्थापकदेखि सेट निर्माण गर्ने युनिटसम्म सबैको लगानी बराबर हुन्छ हुने भएकोले कोही सानो वा ठुलो नहुने उनी तर्क राख्छन् ।

गजुरेलका हास्यव्यङ्ग्यमा खुसी हुने नियमित दर्शकहरूका लागि यो नाटक फरक स्वाद हुन सक्छ । यद्यपि, उनले यसअघि पनि आमा, बा, इमानसिंहको आत्मकथा र सहकारी पीडितका कथाजस्ता संवेदनशील विषयमा आफ्ना प्रस्तुति दिइसकेकाले दर्शकले नाटकबाट पनि पहिले जत्ति नै मनोरञ्जन लिन सक्ने उनको दाबी छ । यो नाटक आफ्नो करियरकै सबैभन्दा फरक र परिपक्व विधा भएको उनले बताए ।

‘नाटकको आफ्नै बेग्लै संसार र उचाइ छ । यहाँ कलाकार र दर्शकबिचको तरङ्ग यसरी जोडिन्छ कि त्यो क्षण कुनै साधना वा ध्यानमा बसेको जस्तो महसुस हुन्छ’, उनले भने, ‘नियमित रूपमा नाटक हेर्ने एउटा निश्चित बौद्धिक वर्ग त छँदैछ, तर मनोरञ्जनका अन्य माध्यममात्र हेरिरहेका आम दर्शकलाई पनि यसले मनोरञ्जन दिन्छ ।’

१४ गतेदेखि नियमित मञ्चनमा जाने नाटकको गेटअप र प्रकाश (लाइटिङ) सहितको अन्तिम चरणको रिहर्सल सोमबार (११ जेठमा) भएको थियो । जसमा सफलता मिलेको कारण गजुरेल मञ्चनका लागि निकै उत्साहित छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप