राजस्थान रोयल्स सेटलमेन्ट विवादमा राज कुन्द्रालाई झट्का, लन्डन उच्च अदालतद्वारा ५० लाख डलर फिर्ता गर्न आदेश
सारांश
- व्यवसायी राज कुन्द्रालाई लन्डन उच्च अदालतले राजस्थान रोयल्ससँगको विवादमा करिब ४९.३८ लाख अमेरिकी डलर ब्याजसहित फिर्ता गर्न आदेश दिएको छ ।
- अदालतले कुन्द्रालाई यस विवादसँग सम्बन्धित भारतमा कुनै नयाँ मुद्दा दायर गर्न पनि स्थायी रूपमा रोक लगाएको छ ।
- सन् २०१९ को गोप्य सेटलमेन्ट सम्झौताको उल्लङ्घन गरेको ठहर गर्दै अदालतले कुन्द्राका सबै दाबी अस्वीकार गरेको छ ।
मुम्बई । इन्डियन प्रिमियर लिग (आईपीएल) टोली राजस्थान रोयल्ससँग सम्बन्धित पुरानो कानुनी विवादमा व्यवसायी राज कुन्द्रालाई ठूलो झट्का लागेको छ ।
बेलायतको लन्डन उच्च अदालतले सन् २०१९ मा भएको गोप्य सेटलमेन्ट सम्झौताको बारम्बार उल्लङ्घन गरेको ठहर गर्दै उनलाई करिब ४९ लाख ३८ हजार अमेरिकी डलर (झन्डै ४१ करोड भारतीय रुपैयाँभन्दा बढी) ब्याजसहित फिर्ता गर्न आदेश दिएको छ ।
अदालतले राज कुन्द्रामाथि भारतमा यसै विवादसँग सम्बन्धित कुनै नयाँ मुद्दा दायर गर्न पनि स्थायी रूपमा रोक लगाएको छ । जुलाई १६ मा न्यायाधीश ग्रिफिथ्सले इमर्जिङ मिडिया भेन्चर्स (ईएमभी) र त्यसका मालिक मनोज बडालेको पक्षमा फैसला सुनाएका हुन् । अदालतले कुन्द्राले इमेल, सामाजिक सञ्जाल र अन्य सार्वजनिक अभिव्यक्तिमार्फत राजस्थान रोयल्सका सञ्चालकमाथि धोखाधडीको आरोप लगाउँदै सम्झौताका सर्त उल्लङ्घन गरेको निष्कर्ष निकालेको छ ।
अदालतका अनुसार दुवै पक्षले कानुनी परामर्शपछि एकअर्काविरुद्ध सार्वजनिक रूपमा टिप्पणी नगर्ने तथा थप कानुनी विवाद नउठाउने सर्तसहित सम्झौता गरेका थिए । त्यसैले उक्त सम्झौताको पालना अनिवार्य हुने अदालतले स्पष्ट पारेको छ । राज कुन्द्राको राजस्थान रोयल्ससँगको सम्बन्ध सन् २००९ मा सुरु भएको थियो । त्यतिबेला उनको कम्पनी ’कुकी इन्भेस्टमेन्ट्स’ले टोलीको होल्डिङ कम्पनीमा ११ दशमलव ७ प्रतिशत अप्रत्यक्ष हिस्सेदारी खरिद गरेको थियो ।
तर सन् २०१५ मा भारतको सर्वोच्च अदालतले आईपीएल सट्टेबाजी प्रकरणमा कुन्द्रालाई दोषी ठहर गरेपछि उनले आफ्नो हिस्सेदारी त्याग्नुपरेको थियो । त्यसपछि शेयर हस्तान्तरण सम्झौतामार्फत उनको स्वामित्व अन्य शेयरधनीलाई हस्तान्तरण गरिएको थियो । पछि उत्पन्न विवाद अन्त्य गर्न सन् २०१९ को जुलाईमा गोप्य सेटलमेन्ट सम्झौता भएको थियो। उक्त सम्झौताअनुसार ईएमभीले राज कुन्द्रालाई ४९ लाख ३७ हजार ८८७ अमेरिकी डलर भुक्तानी गरेको थियो । बदलामा कुन्द्राले राजस्थान रोयल्समा अब कुनै अधिकार दाबी नगर्ने, थप कानुनी कारबाही नगर्ने र फ्रेन्चाइज वा त्यसका सञ्चालकको प्रतिष्ठामा असर पुग्ने सार्वजनिक अभिव्यक्ति नदिने सहमति जनाएका थिए ।
सम्झौतामा सर्त उल्लङ्घन भए सम्पूर्ण रकम फिर्ता गर्नुपर्ने व्यवस्था पनि समावेश गरिएको थियो । ईएमभीका अनुसार मे २०२५ देखि राज कुन्द्राले उक्त प्रतिबद्धता तोडे । उनले इमेल र ह्वाट्सएप सन्देशमार्फत आफ्नो शेयरको उचित मूल्य नदिइएको भन्दै धोखाधडी भएको आरोप लगाए । त्यसपछि एक्स, इन्स्टाग्राम र लिंक्डइनजस्ता सामाजिक सञ्जालमा पोस्ट गर्दै राजस्थान रोयल्सका एक प्रमुख प्रवद्र्धकमाथि आर्थिक अनियमितता, सम्पत्ति शुद्धीकरण र शेयरधनीलाई ठगी गरेको आरोपसमेत लगाए ।
ईएमभीले आरोप लगाएअनुसार कुन्द्राले थप रकम नदिए भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई), अनुसन्धान निकाय र सञ्चारमाध्यममा जाने चेतावनीसमेत दिएका थिए । यसपछि ईएमभीले जुलाई २०२५ मा सेटलमेन्ट सम्झौता रद्द गर्दै रकम फिर्ताको मागसहित लन्डन उच्च अदालतमा मुद्दा दायर गरेको थियो । सुनुवाइका क्रममा राज कुन्द्राले सम्झौता धोखाधडीपूर्ण रहेको र केही सर्त सार्वजनिक नीतिविपरीत भएको दाबी गरे पनि त्यसको समर्थनमा कुनै प्रमाण पेश गर्न सकेनन् ।
जुन २०२६ मा अन्तिम सुनुवाइ हुँदा सूचना दिइएको र अनलाइनमार्फत सहभागी हुने व्यवस्था हुँदाहुँदै पनि राज कुन्द्रा वा उनका कानुनी प्रतिनिधि अदालतमा उपस्थित भएनन् । त्यसपछि अदालतले एकपक्षीय रूपमा फैसला सुनाएको हो । अदालतले राज कुन्द्राका सबै दाबी अस्वीकार गर्दै सन् २०१५ को शेयर हस्तान्तरण सम्झौता र सन् २०१९ को सेटलमेन्ट दुवै वैध रहेको ठहर गरेको छ । फैसलाअनुसार राज कुन्द्रा र उनकी कम्पनी कुकी इन्भेस्टमेन्ट्सले संयुक्त रूपमा ४९ लाख ३७ हजार ८८७ अमेरिकी डलर सन् २०२५ जुलाई ४ देखि लाग्ने ब्याजसहित ईएमभीलाई फिर्ता गर्नुपर्नेछ । साथै, अदालतले यसै विषयमा भारतमा कुनै नयाँ कानुनी प्रक्रिया अघि बढाउन नपाउने स्थायी आदेशसमेत जारी गरेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण