मुस्ताङमा विश्वकै ठुलो शालिग्राम शिला
मुस्ताङ । विश्वकै ठुलो शालिग्राम मूर्ति मुस्ताङमा उद्घाटन गरिएको छ । यहाँको घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित कालीगण्डकी तटमा मूर्तिकारले कुदेको २२ फिट अग्लो विशाल मूर्ति बिहीबार साँझ धार्मिक विधिपूर्वक समुद्घाटन गरिएको हो ।
मुक्तिनाथ दर्शनका लागि आउनुभएका दक्षिण भारत कर्नाटक राज्यको शृङ्गेरी शारदा पीठका पीठाधीश्वर जगद्गुरु शङ्कराचार्य महास्वामी विधुशेखर भारती महाराजद्वारा विशाल शालिग्रामको समुद्घाटन गरेका हुन् । शालिग्राम शिलाको समुद्घाटन गरिएकाले यहाँको धार्मिक पर्यटन प्रवर्द्धन हुने अपेक्षा गरिएको छ ।
घरपझोङ गाउँपालिका र एकीकृत सामाजिक विकास कार्यालयको संयुक्त आयोजना तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको समन्वयमा तीन हप्ताअघि मुस्ताङको मूर्तिकला कार्यशाला चलाइएको थियो । प्रज्ञा प्रतिष्ठानमा आबद्ध तीन दर्जन मूर्तिकारले कालीगण्डकी नदीका विशाल ढुङ्गाहरूमा विभिन्न स्वरुपमा मूर्तिका आकार भरेका थिए । सोही निर्माण गरिएका मूर्तिमध्ये कालीगण्डकी नदी तटमा निर्माण गरिएको विश्वकै ठुलो आकारको शालिग्राम शिला मूर्तिको भारतीय जगद्गुरुद्वारा धार्मिक विधिपूर्वक उद्घाटन भएको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिए ।
राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकमार्ग हुँदै विशेष सुरक्षा निगरानीसहित बुधबार दिउँसो मुक्तिनाथ दर्शन गर्न पुगेका भारतीय जगद्गुरु शङ्कराचार्य महास्वामी विधुशेखर भारतीसहितको टोली त्यहाँबाट फर्किएलगत्तै जोमसोममा निर्मित शालिग्राम शिलाको उद्घाटन गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए ।
कार्यक्रममा घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन, उपाध्यक्ष जमुना थकालीसहित पालिकाका जनप्रतिनिधि र कर्मचारी, प्रमुख जिल्ला अधिकारी अजिता शर्मासहित जिल्लास्थित चारवटै सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि, जोमसोम गाउँ समाज, महिला समूह र स्थानीय नागरिकको उल्लेख्य सहभागिता थियो । यसअघि मुक्तिनाथको दर्शन गरी जोमसोम फर्किएका जगद्गुरु शङ्कराचार्य महाराजको ठुलो सङ्ख्यामा स्वागत तथा नागरिक अभिनन्दन गरिएको थियो ।
भारतीय जगद्गुरु शङ्कराचार्य महास्वामी विधुशेखर भारती महाराजसहितको टोलीले मुक्तिनाथ मन्दिरको दर्शन गरेको मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले जानकारी दिए । मन्दिरमा करिब एक घण्टा दर्शन तथा पूजाअर्चनामा बिताएको महाराजले १०८ धारा र मन्दिर परिसरको कुण्डमा स्नान गरेको व्यवस्थापक भुसालले जानकारी दिए ।
नेपाल सरकार गृह मन्त्रालयको विशेष सुरक्षा व्यवस्थासहित मुस्ताङ आएका भारतीय जगद्गुरु शङ्कराचार्य महास्वामी विधुशेखर भारती महाराजको सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय मुस्ताङले सुरक्षा तथा ट्राफिक व्यवस्थापनमा सहजीकरण गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले उल्लेख गरेको छ ।
धर्मगुरु जगद्गुरु शङ्कराचार्य महास्वामी विधुशेखर भारती महाराजको आगमनले मुस्ताङको धार्मिक पर्यटन प्रवर्द्धनमा निकै ठुलो योगदान पुग्ने विश्वास गरिएको छ । मुस्ताङमा विदेशी पर्यटकको आमगनमध्ये ८० प्रतिशत पर्यटक भारतीय रहने गरेका छन् । मुक्तिनाथ दर्शनका लागि भारतीय पर्यटकको आगमन बर्सेनि वृद्धि हुने गरेको छ । अब जोमसोम निर्मित शिला उद्घाटनले थप भारतीय दर्शनार्थी बढ्ने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण