बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
च्याम्पियन्स लिग फाइनल

उपाधि रक्षा गर्ने दाउमा पीएसजी, इतिहास रच्ने लक्ष्यमा आर्सनल

शनिबार, १६ जेठ २०८३, १५ : ००
शनिबार, १६ जेठ २०८३

सारांश

  • पेरिस सेन्ट-जर्मेन (पीएसजी) र आर्सनलबीच शनिबार बुडापेस्टमा यूईएफए च्याम्पियन्स लिग फाइनल खेल हुनेछ।
  • फ्रान्सको लिग वानमा पीएसजीको दबदबा छ भने आर्सनलले यस वर्ष इङ्गलिस प्रिमियर लिग उपाधि जितेको छ।
  • गत सिजनको च्याम्पियन्स लिगको फाइनलमा पीएसजीले आर्सनललाई पराजित गरेको थियो।
  • को भिड्दै छन्: पेरिस सेन्ट–जर्मेन (पीएसजी) विरुद्ध आर्सनल
  • के का लागि: यूईएफए च्याम्पियन्स लिग फाइनल
  • कहाँ: पुस्कास एरिना, बुडापेस्ट (हङ्गेरी)
  • कहिले: शनिबार, मे ३०, राति ९:४५ बजे

यस सिजनको यूईएफए च्याम्पियन्स लिगको विजेताको टुङ्गो शनिबार बुडापेस्टमा लाग्नेछ। फाइनलमा पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले आर्सनलको सामना गर्दै छ।

ऐतिहासिक रूपमा यी दुवै युरोपका महाशक्ति क्लब होइनन्। यद्यपि दुवै टोलीले पछिल्ला वर्षहरूमा आफ्नो क्षमता प्रमाणित गरेका छन्। उनीहरू अहिले युरोपको शीर्ष स्थानमा गर्वका साथ उभिएका छन्। उनीहरू फाइनल खेल्ने टोलीका रूपमा मात्र नभई विश्वकै दुई चर्चित घरेलु लिगका च्याम्पियनका रूपमा पनि त्यहाँ पुगेका हुन्।

फ्रान्सको लिग वानमा पीएसजीको दबदबा स्थापित छ। उसले पछिल्ला १४ मध्ये १२ लिग उपाधि जितेको छ। इङ्गलिस प्रिमियर लिगमा लगातार तीनपटक दोस्रो स्थानमा चित्त बुझाएको आर्सनलले यस वर्ष अन्ततः अर्को कदम चाल्दै उपाधि जित्यो।

युरोपेली क्लब फुटबलकै सबैभन्दा ठुलो पुरस्कार जितेर आफ्नो सफल सिजनलाई अझै उचाइमा पुर्‍याउने लक्ष्य राखेका यी दुई टोलीबारे जान्नैपर्ने सबै कुरा अल जजिरा स्पोर्टले यहाँ प्रस्तुत गरेको छ।

psg

  • पीएसजी कसरी पुग्यो च्याम्पियन्स लिगको फाइनलमा ?

३६ टोली सहभागी लिग चरणमा ११औँ स्थानमा रहेपछि पीएसजी यस वर्षको च्याम्पियन्स लिगको प्लेअफ खेल्न बाध्य भएको थियो। राउन्ड अफ १६ का लागि स्वतः छनोट हुने अन्तिम स्थानमा रहेको म्यानचेस्टर सिटीभन्दा उनीहरू तीन स्थान पछि थिए। सुरुवाती आठ खेलको चरणमा बार्सिलोना र बायर्न म्युनिखसँग ब्यहोरेको दुई हारले साविक विजेतामाथि नै प्रश्नचिह्न खडा गरिदिएको थियो।

जर्मनीमा बायर लिभरकुसनलाई ७–२ ले हराउनु उनीहरूको सुखद क्षण थियो। प्लेअफमा पीएसजीले फ्रान्सेली प्रतिद्वन्द्वी मोनाकोविरुद्ध समग्रमा ५–४ को झिनो अन्तरको जित निकाल्यो। त्यसपछि चेल्सी र लिभरपुललाई क्रमशः समग्रमा ८–२ र ४–० ले ध्वस्त बनायो।

सेमिफाइनलमा भने कडा चुनौतीको सामना गर्नुपर्‍यो। यो लिग चरणकै खेलको पुनरावृत्ति जस्तो थियो। फ्रान्सको राजधानीमा बायर्न म्युनिखविरुद्ध ५–४ को उत्कृष्ट जित दर्ता भयो। जर्मनीमा भएको दोस्रो लेगमा दबाबपूर्ण १–१ को बराबरी खेल्दै पीएसजीले फाइनल यात्रा तय गर्‍यो।

  • आर्सनल कसरी पुग्यो च्याम्पियन्स लिगको फाइनलमा ?

आर्सनल यस च्याम्पियन्स लिग सिजनमा हालसम्म कुनै पनि खेल नहारी फाइनल पुग्ने एक मात्र टोली हो। आठ खेलमा आठवटै जित निकाल्दै आर्सनल लिग चरणको शीर्ष स्थानमा रह्यो। यस क्रममा उसले विपक्षीको पोस्टमा २४ गोल गर्दा मात्र ४ गोल खायो।

नकआउट चरणमा भने आर्सनलको क्षमताको कडा परीक्षण भयो। राउन्ड अफ १६ मा बायर लिभरकुसनलाई समग्रमा ३–१ ले पाखा लगाइयो। क्वार्टरफाइनल र सेमिफाइनलमा भने उत्तरी लन्डनको क्लबले स्पोटिङ लिस्बन र एट्लेटिको म्याड्रिडविरुद्ध मात्र एक गोलको अन्तरले अघिल्लो चरणको यात्रा तय गर्‍यो।

  • पीएसजीले गत सिजनको च्याम्पियन्स लिगमा कस्तो प्रदर्शन गरेको थियो ?

गत सिजनको फाइनलमा पीएसजीले इन्टर मिलानलाई ५–० ले हराएर इतिहासमै पहिलोपटक उपाधि उचालेको थियो। म्युनिखको एलिएन्ज एरिनामा भएको जितमा डिजायर डौएले दुई गोल गरेका थिए। यसले फ्रान्सेली क्लबको उपाधि दाबेदारीमा कुनै शङ्का बाँकी राखेन। लियोनल मेस्सी र केलियन एम्बाप्पे जस्ता सुपरस्टारहरू भित्र्याएर वर्षौंसम्म गरेको प्रयासपछि उपाधि जित्ने क्षण भने फरक रह्यो। पेरिसवासीहरूले सबैभन्दा बढी चाहेको उपाधि जित्दा तत्कालीन १९ वर्षीय फ्रान्सेली खेलाडी डौएले नै सबैको ध्यान तान्नु सायद उपयुक्त थियो।

arsenal 2

  • आर्सनलले गत सिजनको च्याम्पियन्स लिगमा कस्तो प्रदर्शन गरेको थियो ?

शनिबारको फाइनल खेलको रोमाञ्चकता बढाउने एउटा तथ्य छ। गत सिजन च्याम्पियन्स लिगको सेमिफाइनलमा पीएसजीले नै आर्सनलको यात्रा टुङ्ग्याइदिएको थियो। इमिरेट्स स्टेडियममा भएको पहिलो लेगको चौथो मिनेटमै ओस्मान डेम्बेलेले एक मात्र गोल गरेका थिए। पेरिसमा भएको दोस्रो लेगमा फाबियन रुइज र अचरफ हाकिमीले घरेलु टोलीलाई बलियो स्थितिमा पुर्याए। आर्सनल समग्रमा ३–१ ले पराजित हुँदा बुकायो साकाले सान्त्वना गोल फर्काएका थिए।

आर्सनलले पछिल्लोपटक पीएसजीलाई कहिले हराएको थियो ?

गत सिजनको च्याम्पियन्स लिगको लिग चरणमा आर्सनलले आफ्नो घरेलु मैदानमा २–० को जित दर्ता गरेको थियो। इमिरेट्स स्टेडियममा भएको खेलमा काई हाभर्ट्ज र बुकायो साकाले गोल गरेका थिए। दुवै गोल पहिलो हाफमा भएका थिए। यद्यपि तथ्याङ्कमा पीएसजीको दबदबा थियो। पीएसजीले ६५ प्रतिशत बल पोसेसन राख्दै समग्रमा ९ शट प्रहार गरेको थियो। आर्सनलले भने ६ शट मात्र प्रहार गरेको थियो।

  • यस सिजन पीएसजीको प्रदर्शन कस्तो रह्यो ?

लेन्सले उपाधि होडलाई अन्तिम दुई चरणसम्म लम्ब्याउन बाध्य पारे पनि पीएसजीले यस सिजन लगातार पाँचौँ लिग वान उपाधि जित्यो। आफ्ना निकटतम प्रतिद्वन्द्वी लेन्सविरुद्ध उसकै मैदानमा २–१ को जित निकाल्दै पीएसजीले एक खेल खेल्न बाँकी छँदै उपाधि पक्का गरेको थियो। ख्विचा क्वारत्स्खेलिया र इब्राहिम एमबायेले गोल गर्दै अङ्कतालिकामा आफूहरूलाई उछिन्ने सबै गणितीय सम्भावना समाप्त पारिदिएका थिए।

फ्रान्सको राजधानीमा भएको डर्बी खेलमा पेरिस एफसीसँग २–१ को हार व्यहोर्दै सिजनको अन्त्य भयो। यद्यपि शीर्ष स्थानमा पीएसजीको ६ अङ्कको अग्रता कायमै थियो। जनवरीमा फ्रेन्च कपबाट पीएसजीलाई बाहिर निकालेर लगातार ‘ट्रेबल’ जित्ने सपना तोड्ने टोली पनि यही सबैभन्दा नजिकको भौगोलिक प्रतिद्वन्द्वी थियो। त्यसैले सहरी प्रतिद्वन्द्वी पेरिस एफसीसँगको यो पछिल्लो हारले उनीहरूलाई थप चिढ्याएको थियो।

champions-league-final

  • यस सिजन आर्सनलको प्रदर्शन कस्तो रह्यो ?

आर्सनलले पनि इङ्गल्यान्डको च्याम्पियन बन्न लिगको अन्तिम चरणको खेलअघिसम्म कुर्नुपरेको थियो। प्रिमियर लिगको ट्रफी उचाल्ने २२ वर्षको प्रतीक्षा समाप्त हुँदा आर्सनलले यो क्षण कसरी र कहिले आयो भन्ने कुरामा खासै वास्ता गरेन।

मिकेल आर्टेटाको टोली एक समय निकै अगाडि थियो। पछि म्यानचेस्टर सिटीले उनीहरूलाई उछिन्यो। अन्तिम केही हप्तामा छोटो समयका लागि सिटी शीर्ष स्थानमा पुगेको थियो। पछि एभर्टन र बर्नमाउथसँग बराबरी खेलेपछि सिटीले आफ्नो अवसर गुमायो। यसैको फाइदा उठाउँदै आर्सनलले आफ्नो सम्पूर्ण शक्ति लगाएर पुनः शीर्ष स्थान कब्जा गर्दै उपाधि चुम्यो। यसरी उनीहरूले लिग कप फाइनलमा सिटीसँग व्यहोरेको हारको बदला समेत लिए। दोस्रो डिभिजनको क्लब साउथह्याम्पटनले क्वार्टरफाइनल जितेपछि उनीहरूको ‘ट्रेबल’ को आशा भने समाप्त भएको थियो।

  • पीएसजीले कतिपटक च्याम्पियन्स लिग जितेको छ ?

गत सिजनको च्याम्पियन्स लिग जित प्रतियोगिताको इतिहासमा पीएसजीको पहिलो उपाधि थियो। यसअघि उनीहरू एकपटक फाइनल पुगेका थिए। सन् २०१९ मा उनीहरूलाई बायर्न म्युनिखले १–० ले हराएको थियो। इन्टर मिलानलाई हराउँदै उनीहरू यो ट्रफी उचाल्ने दोस्रो फ्रान्सेली टोली बने। यसअघि सन् १९९३ मा मार्सेलीले एसी मिलानविरुद्ध १–० को जित निकाल्दै उपाधि जितेको थियो।

  • आर्सनलले कतिपटक च्याम्पियन्स लिग जितेको छ ?

आर्सनलले अहिलेसम्म च्याम्पियन्स लिग जितेको छैन। फाइनलमा यो उनीहरूको दोस्रो उपस्थिति मात्र हो। सन् २००६ मा उनीहरूको अघिल्लो प्रयासलाई बार्सिलोनाले विफल पारेको थियो। उक्त खेलमा क्याटलान टोली २–१ ले विजयी भएको थियो। इङ्गलिस टोलीहरूले युरोपको यो प्रमुख क्लब उपाधि १५ पटक जितेका छन्। यसमा लिभरपुलले छ पटक र म्यानचेस्टर युनाइटेडले तीनपटक उपाधि जितेका छन्।

psg-arsenal

  • हेड–टु–हेड

यो उनीहरूबिचको आठौँ भिडन्त हुनेछ। यसअघि दुवै टोलीले दुई–दुई खेल जितेका छन्। उनीहरूबिचको पहिलो भेट पुरानो ‘यूईएफए कप विनर्स कप’ मा भएको थियो। पछि यूईएफए कपसँग गाभिएर यो प्रतियोगिता ‘युरोपा लिग’ बन्यो। घरेलु मैदानमा १–० को जित र पेरिसमा १–१ को बराबरी खेल्दै आर्सनल समग्रमा २–१ ले अघि बढेको थियो। घरेलु जितमा केभिन क्याम्पबेलले गोल गरेका थिए। पेरिसमा भएको खेलमा आर्सनलका लागि इयान राइट र पीएसजीका लागि डेभिड जिनोलाले गोल गरेका थिए।

पीएसजी टोलीको जानकारी

बालोन डी’ओर विजेता ओस्मान डेम्बेलेलाई सिजनको अन्तिम खेलमा पिँडौलाको समस्याका कारण मैदानबाट निकालिएको थियो। च्याम्पियन्स लिगको फाइनलअघि आराम नदिइएका थोरै खेलाडीमध्ये यी फरवार्ड एक थिए। अचरफ हाकिमी र लुकास चेभेलियर दुवै चोटका कारण खेल्नेमा शङ्का छ। नुनो मेन्डेस भने सामान्य चोटबाट निको भएर मैदान फर्कने अपेक्षा गरिएको छ।

psg

  • पीएसजीको सम्भावित सुरुवाती–११

साफोनोभ; जाइरे–एमेरी, मार्किन्होस, पाचो, मेन्डेस; नेभेस, भिटिन्हा, रुइज; डौए, डेम्बेले, क्वारत्स्खेलिया।

आर्सनल टोलीको जानकारी

ग्रोइनको चोटका कारण आठ हप्तादेखि मैदानबाहिर रहेका जुरियन टिम्बरले यस खेलमा पनि विश्राम लिने अपेक्षा गरिएको छ। उनका सहकर्मी डिफेन्डर बेन ह्वाइट पनि चोटका कारण खेल्ने छैनन्। नोनी माडुएकेको ह्यामस्ट्रिङको समस्याले उनलाई मैदानबाहिर राख्ने सम्भावना छैन। यद्यपि विङ्गरको पोजिसनका लागि उनीभन्दा अगाडि बुकायो साकालाई प्राथमिकता दिइने पक्का छ।

arsenal

  • आर्सनलको सम्भावित सुरुवाती–११

राया; मोस्क्वेरा, सलिबा, ग्याब्रियल, हिनकापिए; लुइस–स्केली, राइस; साका, ओडेगार्ड, ट्रोसार्ड; ग्योकेरेस।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप