शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

नयाँ पार्टीको होमवर्कमा राप्रपाका महामन्त्री धवलशमशेर राणा

शनिबार, १६ जेठ २०८३, १५ : ०५
शनिबार, १६ जेठ २०८३

सारांश

  • राप्रपाका महामन्त्री धवलशमशेर राणाले नयाँ पार्टी गठनको गृहकार्य सुरु गरेका छन्।
  • उनले अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै निकटस्थहरूसँग भेला आयोजना गरेका छन्।
  • नयाँ पार्टीमा व्यवसायी दुर्गा प्रसाईंलाई सर्वोच्च कमाण्डर र राणालाई अध्यक्ष बनाउनेबारे छलफल भइरहेको छ।

काठमाडौँ । राप्रपाका महामन्त्री धवलशमशेशर राणा नयाँ पार्टी गठनको होमवर्कमा जुटेका छन् । उनले राप्रपा महामन्त्री पद परित्यागको घोषणा गरेर पार्टी गठन गर्ने तयारी गरेका हुन् ।

विगत लामो समयदेखि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीप्रति असन्तुष्टि पोख्दै आएका उनले नयाँ पार्टी निर्माणको प्रयोजनका लागि सोमबार राजधानीको एल्लो प्यागोडामा निकटस्थको भेला बोलाएका छन् । उक्त भेलाबाट औपचारिक रुपमा आफूहरुको बाटो तय हुने उनी निकटका नेता दमन बस्नेतले रातोपाटीलाई बताए ।

बस्नेतका अनुसार सोमबारको भेला पछि सामूहिक राजीनामाको घोषणा गर्ने तयारी छ । ‘राप्रपा अब पार्टी जस्तो रहेन, यो त राजेन्द्र लिङ्देन र ज्ञानेन्द्र शाहीहरूको मनपरी गर्ने थलो मात्र भयो,’ बस्नेतले रातोपाटीसँग भने, ‘हामी अब राष्ट्रवादी शक्ति निर्माणमा लाग्छौँ । स्वतन्त्र पार्टीहरूलाई टक्कर दिन सक्ने एउटा रचनात्मक राष्ट्रवादी पार्टी बनाउने हाम्रो लक्ष्य हो ।’

उनले सोमबारको घोषणामा महामन्त्री सहित करिब १०० जना नेताहरूले सामूहिक रूपमा पार्टी छोड्ने दाबी समेत गरे । नयाँ पार्टी गठन र असन्तुष्टिका विषयमा बुझ्न खोज्दा महामन्त्री धवलशमशेर राणाले आफू अहिले छलफल र मिटिङमा व्यस्त रहेको प्रतिक्रिया दिए । उनले भने, ‘म अहिले एउटा महत्त्वपूर्ण मिटिङमा छु, यसबारे पछि कुरा गरौँला ।’ त्यसपछि भने उनी सम्पर्कमा आएका छैनन् । 

स्रोतका अनुसार यो विभाजनमा पूर्वमन्त्री एवं नेता दिलनाथ गिरीसहित दिलविकास राज भण्डारी, दमन बस्नेत, सगुन लावती, नारायण कोइराला लगायतका नेताहरू सक्रिय रुपमा लागेका छन् । 

नयाँ पार्टीमा व्यवसायी दुर्गा प्रसाईँलाई सर्वोच्च कमाण्डरु र धवलशमशेर राणालाई अध्यक्ष बनाउने गरी छलफल अगाडि बढेको स्रोतको दाबी छ । यदि प्रसाईँसँग कुरा नमिलेको खण्डमा राणाकै नेतृत्वमा राजावादी पार्टी खोल्ने तयारी छ ।

पार्टीभित्रको यो विद्रोह रोक्न राप्रपाका वरिष्ठ नेताहरूले प्रयास गरेपनि मिलाउन सकेका छैनन्। स्रोतका अनुसार आइतबार डा. प्रकाशचन्द्र लोहनीको निवासमा कमल थापा र डा. लोहनीले धवलशमशेरलाई धेरै बेरसम्म सम्झाएका थिए । 

त्यस्तै, पशुपति शमशेर जबराले पनि राणालाई पार्टी नछोड्न र आगामी महाधिवेशन कुर्न आग्रह गरेका थिए । तर, राणाले अध्यक्ष लिङ्देनले पार्टीलाई विधान सम्मत चलाउन नसकेको र महाधिवेशन समेत नगराउने नियत राखेको आरोप लगाउँदै नेताहरूको प्रस्ताव अस्वीकार गरिदिएका छन् ।

नयाँ बन्ने दलमा स्वागत नेपाल, गीता राणा, सन्तोष राजावादी र पशुपति खड्का जस्ता राजावादी र राष्ट्रवादी छवि भएका व्यक्तिहरूलाई समेट्ने योजना समेत बनाइएको स्रोतको भनाइ छ ।
यसैबिच पार्टी विभाजनको डिलमा पुगेसँगै पूर्व अध्यक्ष कमल थापाले सार्वजनिक रुपमै एकताबद्ध हुन अपिल गरेका छन् ।

थापाले पार्टीभित्र केही समस्या र विकृतिहरू रहेको उल्लेख गर्दै तिनको निराकरण पार्टीभित्रै खोज्न सकिने उल्लेख गर्दै सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘निकट भविष्यमा हुने महाधिवेशनले पार्टीमा नयाँ उर्जा र दिशा प्रदान गर्ने नै छ। नेतृत्वले सबैलाई समेटेर जाने, पार्टीभित्र सबैको सम्मान र अपनत्व कायम हुने वातावरण बनाउनुपर्छ। यो वास्तविकतालाई दृष्टिगत गर्दै पार्टीबाट अलग हुने वा निष्क्रिय बस्ने मनस्थिति नराख्न म पार्टीका कार्यकर्ता र सहयोगीहरूमा अपिल गर्दछु। राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सबै राष्ट्रवादी नेपालीहरूको साझा शक्ति र एउटा बलियो राष्ट्रिय विकल्प निर्माणमा जुटौँ ।’

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले राणा पार्टीको जिम्मेवार नेता भएको उल्लेख भन्दै सबै मिलेर पार्टीलाई वैकल्पिक शक्ति बनाउनुपर्ने बेलामा उनले गलत बाटो रोज्लान् भन्ने आफूलाई नलागेको प्रतिक्रिया दिए ।

नयाँ होइन राप्रपाको फुट
राप्रपामा फुट पटक पटक हुँदै आएको छ । पूर्वपञ्चहरूको बाहुल्यता रहेको राप्रपाको गठन नै विभाजनबाट सुरु भएको इतिहास छ । २०४६ सालमा प्रजातन्त्रको पुनर्बहाली भएपछि पूर्वपञ्चहरू संगठित हुने क्रममा तत्कालीन नेताद्वय सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दमध्ये को अध्यक्ष बन्ने भन्नेमा कुरा नमिल्दा एकै पटक दुई राप्रपा घोषणा हुन पुगेको थियो ।

विवादकै कारण २०४७ साल जेठ १५ गते एकै दिन दुई वटा पार्टी घोषणा भएको स्मरण गर्छन् राप्रपा नेता जनकराज पाठक । जसअनुसार लोकेन्द्र बहादुर चन्द, पशुपति शमशेर जबरा, प्रकाश चन्द्र लोहनी, पद्मसुन्दर लावती लगायतका नेताहरू मिलेर पशुपति शमशेरको घरमा राप्रपा (चन्द) को घोषणा भयो भने सूर्यबहादुर थापा, बालाराम घर्ती मगर लगायतका टोलीले बहुदलवादी नेता छिरिङ तेन्जिङको घरमा राप्रपा (थापा)को घोषणा गरेका थिए ।

यसरी विभाजनबाट सुरु भएको राप्रपाको यात्रामा फुट र जुटको शृङ्खला निकै लामो देखिन्छ । २०४७ मा फुटेका दुई राप्रपा २०५१ सालमा आएर पहिलो पटक एक भएका थिए । 

२०४८ सालको निर्वाचनमा चन्द नेतृत्वको राप्रपाले ३ सिट र थापा नेतृत्वको राप्रपाले १ सिट जितेसँगै दुवै पार्टीले चेतेर ०५१ मा एकता भएको थियो । ३६ वर्षको इतिहासमा राप्रपा १० पटक फुटेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप