बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

सीबीफिनले गर्‍यो बजेटको स्वागत

आइतबार, १७ जेठ २०८३, १२ : ४८
आइतबार, १७ जेठ २०८३

सारांश

  • बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले आर्थिक वर्ष २०८३/८४ को बजेटको स्वागत गरेको छ।
  • बजेटले आर्थिक पुनरुत्थान, लगानी प्रवर्द्धन र उत्पादनमुखी अर्थतन्त्र निर्माणमा जोड दिएको भन्दै सिबिफिनले यसलाई सकारात्मक कदम भनेको छ।
  • खराब कर्जा व्यवस्थापनका लागि राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने घोषणालाई सिबिफिनले ऐतिहासिक र दूरदर्शी कदम मानेको छ।

काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले नेपाल सरकारले ल्याएको आर्थिक वर्ष २०८३/८४ को बजेटको स्वागत गरेको छ। बजेटले आर्थिक पुनरुत्थान, निजी क्षेत्रको मनोबल अभिवृद्धि, लगानी प्रवर्द्धन र उत्पादनमुखी अर्थतन्त्र निर्माणमा जोड दिएको भन्दै सिबिफिनले यसलाई सकारात्मक र समयसापेक्ष कदम भनेको छ।

सिबिफिनका महानिर्देशक रोशन कोइरालाले जारी गरेको विज्ञप्तिमा विगत केही समयदेखि शिथिल रहेको अर्थतन्त्र, लगानीकर्तामा देखिएको ‘पर्ख र हेर’ को अवस्था र बैंकिङ क्षेत्रबाट अपेक्षित कर्जा विस्तार हुन नसकेको वर्तमान चुनौतीलाई चिर्दै अर्थतन्त्र पुनः चलायमान बनाउन बजेटले नयाँ आशा र विश्वासको आधार सिर्जना गरेको उल्लेख छ।

बैंकिङ क्षेत्रमा निकै चुनौतीपूर्ण बन्दै गएको खराब कर्जा तथा गैरबैंकिङ सम्पत्तिको कुशल व्यवस्थापन गर्न विशेष अधिकारयुक्त राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने सरकारको घोषणालाई सिबिफिनले ऐतिहासिक र दूरदर्शी कदमको रूपमा लिएको छ।

त्यस्तै, कर प्रणालीमा गरिएको सुधार, उद्योग व्यवसायलाई दिइएको सहुलियत, डिजिटल अर्थतन्त्रको प्रवर्द्धन, पूर्वाधार र ऊर्जा क्षेत्रको विकास जस्ता विषयलाई बजेटले प्राथमिकतामा राखेको भन्दै परिसंघले प्रशंसा गरेको छ।

बजेटले निजी क्षेत्रलाई आर्थिक वृद्धिको प्रमुख साझेदार र संवाहकका रूपमा आत्मसात् गरेको सिबिफिनको भनाइ छ। 

व्यक्तिगत आयकरमा छुटको सीमा वृद्धि, करको दरमा पुनरावलोकन, औद्योगिक कच्चा पदार्थमा भन्सार सहजीकरण तथा वैकल्पिक वित्तीय उपकरणमार्फत पुँजी परिचालन गर्ने व्यवस्थाले समग्र आर्थिक गतिविधिमा सकारात्मक ऊर्जा सञ्चार गर्ने विश्वास सिबिफिनले व्यक्त गरेको छ।

बजेटमा उल्लेखित जनमुखी र विकासमुखी नीति तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनका लागि नीतिगत स्थायित्व र निजी क्षेत्रसँगको सहकार्य आवश्यक रहेको परिसंघले औँल्याएको छ।

आर्थिक पुनरुत्थान, वित्तीय क्षेत्रको स्थायित्व, लगानी विस्तार र दिगो आर्थिक वृद्धिसहित सुदृढ एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणको दिशामा नेपाल सरकारसँग अनिकट सहकार्य गर्न पूर्ण प्रतिबद्धता रहेको समेत सीबीफिनले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप