सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
अनुवाद

फासीवाद के हो ?

सोमबार, १८ जेठ २०८३, ०७ : १०
सोमबार, १८ जेठ २०८३

सारांश

  • फासीवादको सुरुवात इटालीमा बेनिटो मुसोलिनीले गरेका थिए, जसले प्राचीन रोमको प्रतीक 'फासेस' बाट आफ्नो आन्दोलनको नाम राखेका थिए ।
  • फासीवादले लगभग सबै कुरालाई नश्लको आँखाबाट हेर्छ, नश्लीय सर्वोच्चता र 'नश्लीय स्वास्थ्य' कायम राख्न प्रतिबद्ध हुन्छ ।
  • फासीवादले पुँजीवादलाई समर्थन गर्छ, निजी सम्पत्तिको सुरक्षाको बदलामा पुँजीपतिहरूलाई आफ्नो आसेपासे बन्न माग गर्छ ।

अमेरिकामा राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पले आफ्नो कार्यभार सम्हालेदेखि इतिहासकारहरू उनलाई फासीवादी भन्ने कि नभन्ने विषयमा बहस गर्न थालेका छन् ।

म आफ्नो विश्वविद्यालयमा दोस्रो विश्वयुद्धबारे पढाउने गर्छु । साथै फासीवादका बारेमा पनि लेख्ने गर्छु । एउटा फासीवादबारे लेखक तथा अध्यापकका रूपमा मैले फासीवादबारे इतिहासकारहरू बिच केही समान धारणा पाएको छु । खास गरी त्यस्तो समानता फासीवादको व्यापक अर्थमा परिभाषाको हकमा देखिन्छ ।

अहिले फासीवाद शब्दको प्रयोग त्रुटिपूर्ण ढङ्गले पनि हुँदैछ । यद्यपि प्रयोग भने बढेको छ । यस्तो अवस्थामा हामिले फासीवाद के हो र के होइन भन्नेबारे फरक छुट्याउनु महत्त्वपूर्ण ठानेको छु ।

  • नश्ललाई पहिलो ठान्ने सोच

आज भन्दा करिब एक शताब्दी अघि फासीवादको सुरुवात इटालीमा बेनिटो मुसोलिनी र उनका सहयोगीहरूले गरेका थिए । उनीहरूले आफ्नो आन्दोलनको नाम राख्नका लागि ‘फासेस’ भनिने प्राचीन रोमको प्रचलित प्रतीकको उपयोग गरेका थिए । जसमा एउटा बञ्चरोलाई वरपर काठका डन्डीले बेरेर दह्रोसँग बाँधिएको थियो । त्यो प्रतिकले एउटा नेताको वरपर एकीकृत हुँदा हासिल हुने शक्तितर्फ सङ्केत गर्थ्यो ।

तर, फासीवादको अर्थ केवल निरङ्कुशता मात्रै भने होइन ।

यो सामान्य अर्थको अधिनायकवाद भन्दा पनि फरक छ । अधिनायकवाद सामान्यतः बलियो नेता वा सानो सम्भ्रान्त समूहले चलाउने लोकतान्त्रिक सरकार हो । ‘स्टालिनवाद’ भनेको प्रभावशाली कर्मचारितन्त्र र आर्थिक नियन्त्रणको बलमा चलाइने अधिनायकवादी शासन हो ।

यो नाम पूर्वसोभियत नेताको नामबाट लिइएको हो । ‘अराजकतावाद’ भनेको समाजलाई कुनै राज्यको उपस्थिति बाहेक नै संगठित र व्यवस्थित गर्न सकिन्छ भन्ने मान्यता राख्ने विचार हो ।

यो सबैभन्दा माथी फासीवादले भने लगभग सबै कुरालाई नश्लको आँखाबाट हेर्छ । फासीवादीहरू केवल नश्लीय सर्वोच्चताप्रति प्रतिबद्ध हुँदैनन्, उनीहरूले भन्ने गरेको ‘नश्लीय स्वास्थ्य’ कायम राख्न समेत उत्तिकै प्रतिबद्ध हुन्छ । त्यसको अर्थ उनीहरूको नश्लको शुद्धताका साथै उनीहरूले तल्लो ठानेका नश्लहरू बिचमा फरक गर्ने भन्ने हुन्छ ।

त्यसको अर्थ फासीवादिहरू उनीहरूको देशमा को वैधानिक नश्ल हो र को होइन भन्ने अनिवार्य परिभाषित गर्छन् । उनीहरू अनिवार्य रूपमा ‘सक्कली’ नश्लको अवधारणा लागू गर्छन् ।

एडल्फ हिटलर र नाजि शासनले भन्ने गरेको आर्यन नश्लबारे धेरैलाई थाहा छ । त्यस्तो नश्लीय अवधारणाको कुनै जैविक एवं ऐतिहासिक सत्यता थिएन । नाजीहरू पौराणिक विगत र त्यहाँका महानायकलाई जोड्न खोज्थे । यसरी आफ्नो नश्लको गौरव गाथा तयार हुन्थ्यो ।

केही व्यक्तिलाई ‘सक्कली नश्ल’को समूहमा समावेश गर्नुको अर्थ हुन्छ बाँकी मानिसहरू बहिष्कृत हुन् ।

  • पुँजीवाद

फासीवादीहरूका लागि पुँजीवाद राम्रो हुन्छ । उनीहरूले मान्ने गरेको ‘जो योग्य छ, उसैको अस्तित्व रहन्छ’ भन्ने मान्यताबारे पुँजीवाद सकारात्मक हुन्छ । योग्यतमको अस्तित्वको अवधारणा सामाजिक डार्विनवादी लेखक हर्बर्ट स्पेन्सरले अघि सारेका हुन् । पुँजीवादअन्तर्गत विविध कम्पनीहरूले फासीवादी नेतृत्व र ‘फोल्क’ भनिने मानिसहरूको आवश्यकता पनि पूरा गर्छन् ।

निजी सम्पत्तिको सुरक्षा गरिदिएको बदलामा फासीवादीहरू पुँजीपतिलाई आफ्नो आसेपासे बनुन् भन्ने माग गर्छन् ।

file-20210216-17-1q0gdrt

उदाहरणका लागि कुनै कम्पनीले देशभित्र वा बाहिर चलिरहेका युद्धका लागि राम्रोसँग हतियार उत्पादन गरिरहेको छ भने त्यो राम्रो मानिन्छ । तर यदि कुनै कम्पनीले सत्तासँग नमिल्ने मानिसहरूलाई फाइदा गराउँदैछ वा उपनश्लको रूपमा कल्पना गरिएको समूहलाई धनी बनाउँदै छ भने त्यो फासीवादीहरूलाई सैह्य हुँदैन, उनीहरू त्यस्तो कम्पनीको स्वामित्व खोसेर आफूप्रति प्रतिबद्ध व्यक्ति वा समूहलाई दिलाउँछन् ।

यदि अर्थतन्त्र कमजोर छ भने त्यस्तो अवस्थामा फासीवादीहरूको तरिका अलिक भिन्न हुन्छ । उनीहरू जनताको ध्यान दैनन्दिन जीवनको अभावबाट हटाएर देशभक्तिपूर्ण गौरव वा आन्तरिक अथवा बाह्य दुस्मन विरुद्धको बदला लिने योजना तर्फ केन्द्रित गराउँछन् ।

  • शक्ति र सत्य

फासीवादीहरूका लागि एउटा विचारको महत्त्व धेरै ठुलो हुन्छ । उनीहरू मुलुकका ‘देशभक्त’हरू कमजोर भएको तथा ‘असल मानिसहरू’ अपमानित भएको तर ‘खराब मानिसहरू’को भने राम्रो भइरहेको धारणा राख्छन् ।

फासीवादीहरूको जवाफेहितामा यस्ता गुनासोको उत्तर हुँदैन । त्यसका लागि उथलपुथलकारी परिवर्तन चाहिन्छ । जसले गर्दा ‘सही मानिसहरू’ विद्यमान कानुन वा लोकतन्त्रको अवरोधको सीमा तोडेर बाहिर आउन पाउँछन् ।

फासीवादीहरूको बुझाइमा शक्तिले नै सत्य तय गर्छ ।

उनीहरूका अनुसार कानुन भनेको आफूले तोकेका जनताको आवश्यकता अनुरूप चल्नुपर्छ । साथै समाजवाद र उदारवाद नष्ट पारिनुपर्छ । फासीवादीहरू पार्टीकै सैन्य टोलीलाई नै प्रोत्साहित गर्छन् । त्यस पछि उनीहरू विभिन्न संघ/संगठन (युनियन)हरू ध्वस्त पार्छन् ।

निर्वाचनलाई विकृत पार्छन् । प्रहरी बललाई या त धम्काएर दबाबमा राख्छन्, नत्र आफ्नो प्रणालीमा सहयोगीका रूपमा समाहित गराउँछन् ।

इतिहासमा जर्मनी र इटालीका फासीवादीहरूले शक्तिले सत्य तय गर्ने अवधारणाको प्रयोग मुलुकभित्र मात्रै गरेनन् । अन्य मुलुकहरूमा पनि थोपरे । तर सन १९३० को दशकमा बेलायतमा ओस्वाल्ड मोस्लेको अगुवाइमा संगठित फासीवादीहरू भने ‘इसोलेसनिज्म’ अर्थात् अलगाववादको वकालत गर्थे ।  यहुदीहरूलाई राज्यको काल्पनिक दुस्मन घोषणा गर्दै उनीहरूविरुद्ध आन्तरिक युद्ध चलाउनुपर्नेमा जोड गर्थे ।

file-20210216-23-1ec0ygi

  • फासीवाद र समाजवाद

फासीवादीहरूको पहिलो निशाना समाजवादी नै हुन्छन् । उनीहरू समाजवादविरुद्ध आन्दोलन गर्छन् । यसको कारण के हो भने, फासीवादीहरूले अँगाल्ने आसेपासे पुँजीवाद अर्थात् ‘क्रोनी क्यापिटालिजम’लाई समाजवादले चुनौती दिन्छ ।

समाजवादले कुनै जाति वा नश्लको पर्वाह नगरी सबैलाई बराबर र समतामूलक न्याय स्थापनाका लागि काम गरिरहेको हुन्छ । अझ धेरै समाजवादीहरू त राष्ट्रहरू बिचको विभाजन नै मेटाउनुपर्ने धारणा राख्छन् साथै तदनुकुल गतिविधि गर्न खोज्छन् । त्यस्तो अवधारणाले फासीवादीहरूको शक्तिशाली राष्ट्र राज्यप्रतिको विश्वासलाई अप्ठेरोमा पार्छ ।

मुलुकभित्र बर्चस्वशाली सम्भ्रान्त तथा कुलिनहरूलाई आफूअनुकूल बनाइसकेपछि फासीवादीहरू चर्चलाई पनि विस्थापन गर्ने वा साझा फाइदाका लागि मिलेर काम गर्न तयार पार्ने प्रयास गर्छन् ।

इटालीका मुसोलिनी, जर्मनीका एडोल्फ हिटलर तथा स्पेनका फालाङ्गवादीहरूले चर्चलाई हटाउनुको साटो मिलेर अघि बढ्नु ठिक हुने बुझेका थिए । आफ्नो शासनलाई कुनै प्रकारको खतरा हुने आक्रमण नहुने हदसम्म चर्चलाई उनीहरूले चलाएनन् ।

फासीवादीहरू लोकतन्त्र मान्दैनन् । समाजवाद वा अझ व्यापक उदारवाद ल्याउन सक्ने लोकतन्त्र त उनीहरूले स्वीकार नै गर्दैनन् । लोकतन्त्रमा मतदाताहरूले आफू अनुकूलको लोककल्याणकारी नीति रोज्न सक्छन् । विभिन्न वर्ग, लिङ्ग र जातिहरूबिचको असमानता घटाउने बाटोमा जान सक्छन् । यस्ता सबै प्रयत्नलाई फासीवादीहरू अस्वीकार गर्छन् ।

  • फासीवाद र राष्ट्रवाद

फासीवाद भनेको तार्किक रूपमा राष्ट्रवादकै उच्चतम स्वरुप हो । राज्यहरूको निर्माण नश्ल/जाति वा ऐतिहासिक जनताहरूको आधारमा हुनुपर्छ भन्ने करिब २ सय ५० वर्ष पुरानो विचारको उच्चतम नतिजा हो ।

सुरुवातकालका फासीवादीहरूले आफ्ना यस्ता विचार र धारणाहरू शून्यबाट सिर्जना गरेका थिएनन् । तत्कालीन समयमा विद्यमान राष्ट्रवादकै अवधारणा लिएर अझै चरम अवस्थामा पुर्‍याएका हुन् । फासीवादीहरूका लागि राष्ट्र भनेको अरू सबैकुरा भन्दा महत्त्वपूर्ण हुन्छ । उनीहरू आफूले  असल र   वास्तविक ‘जनताहरू’ तथा तिनीहरूले मान्ने नेताको चाहना अन्य सबै सरोकारहरूको तुलनामा प्राथमिकतासाथ अगाडि आउनुपर्छ भन्ने मान्छन् । त्यसलाई वैज्ञानिक प्रमाण, तथ्य वा विधि संगत तर्कहरू भन्दा पनि माथि ठान्छन् ।

साँच्चिकै भन्ने हो भने फासीवादमा मानिसहरूको चाहना, जनता, तथ्य प्रमाण आदि सबै भनेको उनीहरूको नेता हुन्छ । नेताले आफूलाई नै जनताको ‘वास्तविक इच्छा’ को प्रतिनिधि ठान्छ । फलतः जनताको चाहना एवं राष्ट्रको नाममा गरिने व्याख्या र नेताको विचार एउटै जस्तो देखाइन्छ । तथ्य र प्रमाणलाई भने प्रायः नेताको विचारअनुसार दबाइन्छ वा बदलिन्छ ।

(लेखक वेस्टर्न रिजर्भ विश्वविद्यालयका सह–प्रध्यापक हुन् ।)

(द कन्भर्सेसनबाट)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

जोन ब्रोइक
जोन ब्रोइक
लेखकबाट थप