वीरेन्द्रनगरमा कपडा व्यापारीको अवैध वित्तीय धन्दा: ३ करोडको सुन र १० लाख बढी नगद बरामद
सारांश
- कपडा व्यापारी श्यामसुन्दर अग्रवालको गोप्य कार्यालयबाट करिब ३ करोड मूल्य बराबरको सुन र चाँदीका गहना बरामद भएको छ ।
- प्रहरीले अग्रवालको साथबाट २ लाख १९ हजार ५०० नेपाली र ८ लाख ११ हजार ८०० भारतीय रुपैयाँ पनि बरामद गरेको छ ।
- कपडा पसलको आवरणमा अवैध रूपमा सुन धितो राखेर ब्याजमा पैसा दिने र भारतीय रुपैयाँको कारोबार गर्ने गरेको आरोप अग्रवालमाथि छ ।
सुर्खेत । कपडा व्यापारको आवरणमा अवैध वित्तीय धन्दा चलाइरहेका वीरेन्द्रनगरका व्यापारी ६३ वर्षीय श्यामसुन्दर अग्रवाल (बालाजी)बाट झण्डै ३ करोड रकम बराबरको सुन बरामद भएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले सोमबार उनको गोप्य कार्यालयमा छापा हानेको विषयमा जानकारी गराएको छ । जसमा त्यहाँबाट १८५ थान सुन तथा चाँदीका गहना बरामद भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता, प्रहरी नायव उपरीक्षक कवीन्द्रसिंह बोहोराले बताए ।
सुन विभिन्न बट्टा र पोकामा राखिएको थियो । ‘जसको अनुमानित बजार मूल्य करिब ३ करोड नेपाली रुपैयाँ रहेको छ,’ उनले भने ।
यस्तै, उनको साथबाट २ लाख १९ हजार ५०० नेपाली, र ८ लाख ११ हजार ८०० भारतीय रुपैयाँ पनि बरामद गरेको छ । साथै, नगद रुपैयाँ गन्ती गर्न प्रयोग गरिने १ मेसिन पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।
सोमबार अपराह्न ४ बजेतिर प्रहरीले वीरेन्द्रनगर नगरपालिका—६, तल्लो बजारस्थित शिव ईम्पोरियम नामक कपडा पसलमा भारतीय रुपैयाँ र सुनका गरगहना धितो राखी अवैध रूपमा ब्याजमा नगद दिने गरेको विशेष सूचनाका आधारमा प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त टोलीले उक्त पसलमा खानतलासी गरेको थियो ।
उनको यसअघि बालाजी बस्त्रालय थियो । त्यसलाई अहिले शिव ईम्पोरियम बनाएको र प्रहरीले छापा हानेको वीरेन्द्रचोक भन्दामाथिको गोप्य गोदामघरमा हो ।
प्रहरी प्रवक्ता बोहराका अनुसार नियन्त्रणमा लिइएका अग्रवालमाथि थप अनुसन्धान भइरहेको छ ।
प्रहरीले उनको ठेगाना बाँकेको नेपालगन्ज उपमहानगरपालिका—१० घर भई हाल वीरेन्द्रनगर–६ मा बसोबास गर्ने भनेको छ ।
यद्यपि उनी भारतीय मूलका कपडा व्यापारी हुन् । सुरुमा उनका बुबा नेपाल आएर कपडा व्यवसाय सुरु गरेका थिए ।
पछि २०६२/०६३ को जनआन्दोलन र माओवादी द्वन्द्वको सङ्क्रमणकालीन समयमा माओवादीहरूसँग मिलेर नेपालगन्जबाट नेपाली नागरिकता लिएको चर्चा छ ।
उनले ७० को दशकपछि कपडा पसलको आवरणमा अवैध रूपमा सुन धितो राखेर पैसा बाँड्ने र भारतीय रुपैयाँको व्यापार सञ्जाल बनाएको प्रहरी स्रोत बताउँछ ।
उनलाई नजिकबाट चिन्ने एक व्यक्तिका अनुसार, उनी खुल्लमखुल्ला देखाएर नै यस्तो काम गर्दै आएका थिए ।
‘उनले यो अवैध धन्दाको सुरुवात दसैँ तिहारजस्ता चाडपर्वका बेला भारतबाट आउने नेपालीहरूको भारु साटेर सुरु भएको देखिन्छ,’ स्रोत भन्छ, ‘भारु साटेबापत ३—५ प्रतिशतसम्म कमिसन लिने गरेका थिए ।’
पछि गाउँका सोझासाझादेखि व्यापारीहरूलाई लक्षित गरी सुन धितो राख्न लगाएर ३ देखि ५ प्रतिशतसम्म मासिक ब्याज असुल्ने गरेका थिए ।
बैंकले झन्झटिलो प्रक्रिया अपनाउने र सीमित ऋण दिने हुँदा, छिटो पैसा चाहिनेहरूका लागि उनी ‘अघोषित बैंक’ जस्तै बनेका थिए ।
यदि यो घटनामा निष्पक्ष अनुसन्धान हुने हो भने वीरेन्द्रनगरका अन्य ५–७ जना ठुला घराना भनिएकाहरू समेत मुछिने सम्भावना रहेको स्रोतको दाबी छ ।
अन्य ठुला भनिएकाले पनि आफ्नो कालो धन लुकाउन र ब्याज कमाउन उनकै माध्यमबाट पैसा परिचालन गर्ने गरेको पनि आशङ्का गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
-
धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ
-
उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत
-
ठगीको आरोपमा एकैपरिवारका तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण