शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
अवैध 'धन्दा'

भारतीय मूलका कपडा व्यापारीको वीरेन्द्रनगरमा अवैध बैंकिङ र सुन कारोबार सञ्जाल

गोप्य कार्यालयमा प्रहरीको छापा, सञ्जाल ठुलो रहेको आशंका
सोमबार, १८ जेठ २०८३, १९ : ५५
सोमबार, १८ जेठ २०८३

सारांश

  • वीरेन्द्रनगरको एक कार्यालयमा प्रहरीले छापा मारी अवैध बैंकिङ र सुन कारोबार सञ्जालको पर्दाफास गरेको छ ।
  • भारतीय मूलका कपडा व्यापारी श्यामसुन्दर अग्रवालको कार्यालयबाट ठूलो मात्रामा सुन र नगद बरामद भएको अनुमान गरिएको छ ।
  • अग्रवालले बालाजु बस्त्रालयको आवरणमा सुन धितो राखी चर्को ब्याजमा ऋण दिने र भारतीय रुपैयाँको सट्टापट्टा गर्ने अवैध धन्दा चलाएको आरोप छ ।

सुर्खेत । प्रहरीले वीरेन्द्रनगरका चर्चित कपडा व्यापारी श्यामसुन्दर अग्रवालको कार्यालयमा छापा मारेको छ । 

वीरेन्द्र चोकको १० मिटरजति उत्तरतर्फ कोठा भाडामा लिएर बनाइएको कार्यालयमा अवैध रुपमा ठूलो बैङ्किङ कारोबार र सुन राखेको गोप्य सुचनाका आधारमा त्यहाँ प्रहरीले छापा हानेको हो । अहिले थप अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयको अनुसन्धान टोली त्यहाँ पुगेको छ भने राजस्व कार्यालयको टोली पनि । 

वीरेन्द्र चोक वीरेन्द्रनगरको मुख्य बजार चोक हो । त्यसको थोरै उत्तरतर्फ वाणिज्य बैंकको शाखा छ । त्यो भन्दा तल्लो घरको कोलियाबाट भित्र छिर्दा अर्को सुनसान गोप्य घर जस्तो छ । त्यहीँबाट श्यामसुन्दरले अवैध कारोबारो सञ्चालन गर्थे । 

‘हामीले छापा हानेको छ, ठूलो मात्रामा सुन र नगद भएको अनुमान छ,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका सुचना अधिकारी कपिन्द्रसिंह बोहोराले भने, ‘मुचुल्का तयार हुँदै छ, त्यसपछि मात्रै वास्तविकता बाहिर आऊला ।’

यो अनुुसन्धानलाई टुङ्गोमा पुर्‍याएर मात्रै प्रहरीले वास्तविकता बाहिर सार्वजनिक गर्ने तयारी गरेको छ । उनका अनुसार, छापा मारेको स्थानबाट सुन र रकमको मुचुल्का तयार पार्न अझै केही घण्टा लाग्ने देखिन्छ । 
स्रोतका अनुुसार, श्यामसुन्दरले अवैध रुपमा ठूलो बैङ्किङ कारोबारो र सुनहित राखेको सुराक प्रहरी कहाँ पुगेको थियो । 

सोही आधारमा उनी त्यहीभित्र रहेको मौका छोपेर प्रहरीले छापा हानेको थियो ।

घटनास्थलमा रहेका एक प्रहरी अधिकारीका अनुसार, छापा हानेको घर उनको होइन । त्यहाँ उनको गोदामजस्तै बनाएका थिए । भाडामा लिएर उनले आफ्नो कार्यालयजस्तै बनाएका छन् । मंगलगढी चोक नजिकै बालाजु बस्त्रालय नामक कपडा पसलका मालिक उनले छापा हानेको भाडामा लिएको घरमा सुन र अवैध कारोबार गर्थे ।

को हुन् भारतीय मुलका व्यापारी श्यामसुन्दर ?

श्यामसुन्दर ७० को दशकपछि वीरेन्द्रनगरमा एकाएक चर्चामा आएका कपडा व्यापारी हुन् । उनको मंगलगढी चोक नजिकै बालाजु बस्त्रालय नामको कपडा पसल छ । तर उनले त्यसको आवरणमा अवैध रूपमा भारतीय रुपैयाँको सट्टापट्टा गर्ने र सुन धितो राखेर चर्को ब्याजमा ऋण लगानी गर्ने ठूलो सञ्जाल बनाएका छन् ।

उनलाई वीरेन्द्रनगरमा पछिल्लो समय धनाड्यकै रुपमा चिन्ने गरिन्छ ।

उनलाई नजिकबाट चिन्नेहरुका अनुसार, उनका बुबाले भारतबाट आएर नेपालमा आएर कपडा व्यापार सुरु गरेका थिए । ‘उनको विषयमा गहिरो अनुसन्धान गर्ने हो भने ठूलो सञ्जाल मात्र फेला पर्ने आशङ्का गरिएको छ,’ एक प्रहरी अधिकारी भन्छन् । 

अउनले २०६२/०६३ को जनआन्दोलन र माओवादी द्वन्द्वको संक्रमणकालीन समयमा माओवादीहरूसँग मिलेर नेपालगन्जबाट नेपाली नागरिकता लिएको  चर्चा छ । ‘यद्यपि त्यो विषय छानबिनपछि बाहिर आऊला,’उनलाई चिन्ने एक व्यवसायीले भने । 

उनले कपडा व्यावसायको आवरणमा भित्र अवैध वित्तीय कारोबारलाई प्राथमिकता दिँदै आएका थिए । ‘कपडा पसल त केवल बाहिर देखाउनका लागि मात्रै हो, उसको मुख्य काम त अवैध रूपमा सुन धितो राखेर पैसा बाँड्नु र भारतीय रुपैयाँको व्यापार गर्नु हो,’अर्का एक स्थानीय व्यक्ति भन्छन् । 

उनलाई नजिकबाट चिन्ने एक व्यक्तिका अनुसार, उनी खुलमखुल्ला देखाएर नै यस्तो काम गर्दै आएका थिए । यदि अनुसन्धान हुने हो भने वीरेन्द्रनगरका अन्य व्यापारीहरु पनि यो सञ्जालमा मुछिने सम्भावना रहेको उनको दाबी छ । 

स्रोतका अनुसार, उनले यो अवैध धन्दाको सुरुवात दसैँ तिहारजस्ता चाडपर्वका बेला भारतबाट आउने नेपालीहरूको भारु साटेर सुरु भएको देखिन्छ । भारु साटेबापत ३–५ प्रतिशतसम्म कमिशन लिने गरेका थिए । पछि गाउँका सोझादेखि व्यापारीहरूलाई लक्षित गरी सुन धितो राख्न लगाएर ३ देखि ५ प्रतिशतसम्म मासिक ब्याज असुल्ने गरेका थिए । 

बैंकले झन्झटिलो प्रक्रिया अपनाउने र सीमित ऋण दिने हुँदा, छिटो पैसा चाहिनेहरूलाई यो पसल ‘अघोषित बैंक’ जस्तै बनेको ती व्यक्तिले बताए । एक प्रहरी अधिकारीले यो अवैध धन्दामा वीरेन्द्रनगरका ५–७ जना ठूला घराना भनिएकाहरू समेत मुछिने सम्भावना रहेको बताए । 

‘अन्य ठूला भनिएकाले पनि आफ्नो कालो धन लुकाउन र ब्याज कमाउन उनकै माध्यमबाट पैसा परिचालन गर्ने गरेको पनि आशङ्का गरिएको छ,’स्रोतले भन्यो । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप