आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
सीमा विवाद

सीमा विवादमा प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे भारतको प्रतिक्रिया, ‘तेस्रो पक्षको कुनै भूमिका छैन’

मङ्गलबार, १९ जेठ २०८३, १६ : ५२
मङ्गलबार, १९ जेठ २०८३

सारांश

  • भारतले प्रधानमन्त्री बालेन शाहको सीमा विवादसम्बन्धी अभिव्यक्तिको प्रतिक्रिया दिँदै द्विपक्षीय मामिलामा तेस्रो पक्षको भूमिका नहुने स्पष्ट पारेको छ।
  • भारतीय विदेश मन्त्रालयका प्रवक्ता जैसवालले सीमांकनको ९८ प्रतिशत काम सकिएको र बाँकी रहेका केही मुद्दा द्विपक्षीय संयन्त्रमार्फत समाधान गरिने बताए।
  • प्रधानमन्त्री बालेनले सांसदहरूलाई जवाफ दिने क्रममा भारतले नेपालको जग्गा मिचेको र नेपालले पनि भारतको जग्गा मिचेको अभिव्यक्ति दिएका थिए।

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले द्विपक्षीय सीमा विवादका विषयमा दिएको अभिव्यक्तिप्रति भारतले मंगलबार प्रतिक्रिया जनाएको छ। दुई छिमेकी देशबीचको आपसी मामिलामा ‘कुनै पनि तेस्रो पक्षको भूमिका नरहने’ जिकिर भारतले गरेको हो।

सञ्चारकर्मीका जिज्ञासाहरूको जवाफ दिँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नेपालका प्रधानमन्त्रीको भनाइलाई भारतले नोटिसमा लिएको बताउँदै सीमा सम्बन्धी विषयहरूलाई विद्यमान द्विपक्षीय संयन्त्रमार्फत सम्बोधन भइरहेको कुरामा जोड दिए।

‘हामीले प्रधानमन्त्रीको टिप्पणी हेरेका छौँ। भारत-नेपाल सीमाको करिब ९८ प्रतिशत क्षेत्रको सीमांकन भइसकेको छ। दशगजा (नो म्यान्स ल्यान्ड) अतिक्रमणसँग सम्बन्धित विषयहरू सहित केही मुद्दाहरू अझै बाँकी छन्। त्यस्ता मामिलाहरूलाई सम्बोधन गर्न हामीले द्विपक्षीय संयन्त्रहरू स्थापना गरेका छौँ,’ जैसवालले भने।

गण्डक नदीले आफ्नो बहाव परिवर्तन गर्दा निश्चित क्षेत्रहरूमा अहिलेको जस्तो परिस्थिति सिर्जना भएको उल्लेख गर्दै उनले हाल दशगजा क्षेत्रमा सुरक्षाकर्मीहरू तैनाथ रहेको समेत बताए।

गत फागुनमा भएकाे प्रतिनिधि सभा निर्वाचनपछि प्रधानमन्त्रीको हैसियतमा पहिलो पटक सांसदहरूसँगको प्रश्नोत्तरमा सहभागी बालेन शाहको अभिव्यक्ति विवादमा तानिएको छ।  आइतबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले नेपाल–भारत सीमा र चीनको विकासको अवस्थाबारे दिएको अभिव्यक्ति विवादमा तानिएको हो। 

लिपुलेक, लिम्पियाधुरा र कालापानीको विवादबारे सांसदले सोधेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री बालेनले नेपालले पनि भारतको सीमा मिचेको बताए। उनले भने, ’तपाईँहरूलाई एउटा कुरा अचम्म लाग्ला, भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ।’

उनले थप भनेका थिए, ‘लिपुलेक र लिम्पियाधुराको विषयमा नेपाल सरकारले आधिकारिक रूपमा 'डिप्लोम्याटिक नोट' भारत सरकारलाई पठाइसकेको छ र त्यसको जवाफ पनि आएको छ। दुवै सरकारले आफ्ना इतिहासविद् र सर्भेयरहरू राखेर 'टेबल टक' मार्फत यसलाई समाधान गर्ने कुरा भएको छ। ब्रिटिस इन्डियाले छाड्दाखेरिको समस्या अहिलेसम्म रहेकाले यसमा इङ्गल्याण्ड सरकारसँग पनि हामीले कुरा गरेका छौँ। यो कूटनीतिक तवरबाटै समाधान हुन्छ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप