नगर प्रहरीलाई सुनिता डंगोलको निर्देशन, ‘जनताको सेवा नम्र बोलीबाट सुरु होस्’
सारांश
- कार्यवाहक प्रमुख सुनिता डंगोलले नगर प्रहरीलाई देशकै नमुना बन्ने गरी काम गर्न निर्देशन दिएकी छन् ।
- उनले नगर प्रहरी जनताको सेवा नम्र बोलीबाट सुरु गर्न र काठमाडौँ महानगरपालिकाको छवि उचाइमा पुर्याउन आग्रह गरिन् ।
- बर्खायामलाई ध्यानमा राख्दै विपद् तथा उद्धार कार्यका लागि तयारी अवस्थामा रहन र अन्य सुरक्षा निकायसँग समन्वय गर्न पनि निर्देशन दिइएको छ ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले नगर प्रहरीलाई देशकै नमुना नगर प्रहरी बन्ने गरी काम गर्न निर्देशन दिएकी छन् ।
बुधवार महानगर प्रहरी प्रमुखको पदोन्नति तथा जिम्मेवारी हस्तान्तरण कार्यक्रममा बोल्दै उनले जनतासँग नम्र व्यवहार गर्दै सेवा प्रवाह गर्न निर्देशन दिएकी हुन् ।
उनले नगर प्रहरी काठमाडौँ महानगरको ब्राण्ड एम्बेसडर भएको उल्लेख गर्दै नगर प्रहरीको कार्यशैली र व्यवहारले नै महानगरपालिकाको छवि निर्धारण गर्ने स्पष्ट पारिन् । कार्यवाहक प्रमुख डंगोलले नगर प्रहरीलाई जनतासँग प्रत्यक्ष रूपमा जोडिएर काम गर्न, सेवाको सुरुवात नम्र व्यवहारबाट गर्न तथा चेन अफ कमाण्डको पूर्ण पालना गर्न निर्देशन दिइन् ।
उनले बर्खायामलाई ध्यानमा राख्दै सम्भावित विपद् तथा उद्धार कार्यका लागि तयारी अवस्थामा रहन पनि नगर प्रहरीलाई आग्रह गरिन् । त्यसका लागि अन्य सुरक्षा निकायसँग समन्वय गर्न नगर प्रहरी नेतृत्वलाई निर्देशन दिँदै उनले संगठनभित्रको एकता कायम राख्नुपर्नेमा जोड दिइन् ।
सहरको सुरक्षा र व्यवस्थापनका विषयमा बोल्दै उनले भनिन्, ‘नगर प्रहरी भन्नेबित्तिकै काठमाडौँ महानगरपालिकाको ब्राण्ड एम्बेसडरजस्तै हो, अनुहार नै हो । यहाँहरूले गर्नुहुने व्यवहार, काम नै काठमाडौँ महानगरपालिकालाई झल्काइरहेको हुन्छ । यहाँहरू सबैजना काठमाडौँ महानगरपालिकाको अनुहार हुनुहुन्छ, यहाँहरूको जिम्मेवारी अझ धेरै महत्वपूर्ण छ । त्यति मात्र नभएर एकदमै सेन्सेटिभ पनि छ । यहाँहरूले जस्तो व्यवहार गर्नुभयो, महानगरपालिकाको इमेज त्यस्तै बनाउनमा ठुलो मदत पुगिरहेको हुन्छ । फिल्डमा नगर प्रहरी भइरहँदा जो कोहीलाई पनि समस्या पर्दा को छ ? भन्दा नगर प्रहरी छ, भनेर निर्धक्कका साथ समस्या पर्दाखेरि यहाँहरुलाई सम्झिने गरी काम गरिदिनु हुन अनुरोध गर्दछु ।’

उनले थपिन्, ‘यहाँहरूले जनतासँग जोडिएर जब काम गर्नुहुन्छ, यहाँहरू सबैजनालाई निर्देशनको रूपमा नै लिनुहोला, जनतासँग जोडिएर काम गर्दाखेरि नम्रतापूर्वक, विनम्रतापूर्वक यहाँहरूले डिल गर्नुहोला । यहाँको सेवा नै नमस्कारबाट सुरु होस् । यहाँहरूले दिने सेवा नम्र बोलीबाट सुरु भयो भने ५० प्रतिशत समस्या त त्यहीँ समाधान हुन्छ । साथै यहाँहरू रातिसम्म जब फिल्डमा काम गर्नुहुन्छ, त्यसको रेगुलर रिपोर्टिङ भइरहोस् । त्यसमा कुनैपनि सम्झौता नगरिकन रिपोर्टिङ गरिदिनुहोला । दिनको तीन पटकसम्म घुम्ती नगर प्रहरी टोली विशेष सहरका विशेष ठाउँहरूमा यहाँहरू घुम्ने काम गर्नुहोस् । सडक, फुटपाथ, फोहोरमैला, सडकपेटी ओगटेर राखिएको व्यापार गरिरहेको छ, अथवा ओगटेर राखिएका छन् भने त्यस्ता कुराहरूलाई निरन्तर रूपमा यहाँहरूले निगरानी गरिरहनुपर्यो । यो रेगुलर कामको रूपमा दिनमा कम्तीमा तीन पटक काठमाडौँको परिक्रमा गर्ने, त्यहाँ भएका समस्यालाई तुरुन्तै समाधान गर्ने काममा यहाँहरू जुट्नुहोला ।’
उनले नगर प्रहरीको वृद्धि–विकास, सरुवा, बढुवा तथा तह मिलानका विषयहरू कानुनसम्मत रूपमा अगाडि बढाइने प्रतिबद्धता समेत जनाइन् । नगर प्रहरीको कार्यक्षमता अभिवृद्धि, तालिम तथा आवश्यक उपकरण व्यवस्थापनलाई प्राथमिकतामा राखिने उल्लेख गर्दै उनले वरिष्ठ र कनिष्ठको आधारमा विभेद नगरी सबैलाई सम्मानजनक अवसर प्रदान गरिने बताइन् ।
कार्यक्रममा काठमाडौँ महानगरपालिकाको महानगर प्रहरी बल प्रमुख विष्णुप्रसाद जोशीले महानगरका नीति र निर्देशनहरू अक्षरशः पालन गर्ने प्रतिबद्धता व्यक्त गरे । महानगर प्रहरी ऐन कार्यान्वयनमा आइसकेको उल्लेख गर्दै उनले अब प्रहरीको वृत्तिविकासमा पनि ध्यान दिन महानगर नेतृत्वलाई आग्रह गरे । विगतमा ऐन कार्यान्वयनमा नआउँदा प्रहरीको वृत्ति विकास लगायतका कामहरू अवरुद्ध बनेको उनको भनाइ थियो ।
काठमाडौँ महानगरपालिकाले बुधवार नगर प्रहरी उपरीक्षक जोशीलाई नगर प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति गरी नयाँ जिम्मेवारी हस्तान्तरण गरेको हो । नगर प्रहरीको मनोबल बढाउँदै सहरको शान्ति सुरक्षा, फुटपाथ व्यवस्थापन, र फोहोरमैला नियन्त्रणमा थप प्रभावकारी कदम चाल्न यस पदोन्नति र निर्देशनले नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
-
किन फरक छ दिल्लीको विद्यार्थी आन्दोलन ?
-
सिक्किमको टिस्टा जलविद्युत् आयोजनाको सुरुङमा पहिरो : ८ जनाको मृत्यु, १९ जना थुनिए
-
बाढीका कारण अफगानिस्तानमा कम्तीमा २० जनाको मृत्यु, १०० भन्दा बढी बेपत्ता
-
चीनलाई विश्वकप चाहिँदैन, उसँग आफ्नै ‘भिलेज सुपर लिग’ छ
-
अर्जेन्टिना र स्पेनका खेलाडीबिच मैदानमै कुटाकुट, फिफाद्वारा अनुसन्धान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण