बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बिचमै छाडियो

बुधबार, २० जेठ २०८३, २१ : ५५
बुधबार, २० जेठ २०८३

काभ्रेपलाञ्चोक ।  वर्षौंदेखि दुई जिल्ला काभ्रेपलाञ्चोक र भक्तपुरको सीमास्थलमा अवस्थित पर्यटकीय क्षेत्र नगरकोटमा सीमाङ्कन समस्या समाधानार्थ प्रक्रिया थालिए पनि बीचमै छाडिएको छ ।

विसं २०८१ साउनमा दुई जिल्लाको चार नगरका जनप्रतिनिधि सम्मिलित गठित समितिले सीमास्थलको अनुगमन–निरीक्षण गरी प्रारम्भिक प्रतिवेदन तयार पारे पनि प्रतिवेदन कार्यान्वयनमा नल्याउँदा सीमास्थल छुट्याउने कार्य अलपत्र अवस्थामा रहेको हो ।

त्यतिबेला दुई जिल्लाका चार नगरका जनप्रतिनिधिले समितको प्रतिवेदन बुझ्दै अनुगमन–निरीक्षणसमेत गरेका थिए । नगरकोट काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका र बनेपा नपा तथा भक्तपुरको चाँगुनारायण नपा र शङ्खरापुुर नपाको सङ्गमस्थल पनि हो ।

“सबैले प्रतिवेदन अध्ययन गरेपछि पुनः छलफल गरी सीमाङ्कनका तथ्यमा गइने बताएका थिए, नेपाली सेनाको तालिमस्थल तथा केही संवेदनशील क्षेत्र देखिएपछि समिति निस्क्रियप्रायः भयो”, बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले भने ।

त्यतिबेला समितिले अनुगमन निरीक्षणबाट मिमाङ्कन समस्या समाधानका उपाय र विकल्पबारे प्रारम्भिक प्रतिवेदन बुझाए पनि कार्यान्वयनमा भने आनाकानी गरेपछि प्रक्रिया रोकिएको शाक्यको भनाइ छ ।

समितिमा तत्कालीन नापी विभागका नापी अधिकृत डिल्लीप्रसाद दाहालको संयोजकत्वमा गठित समितिमा चारै नगरका वडाध्यक्षलगायत जनप्रतिनिधि तथा काठमाडौँ, काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाका नापी कार्यालय प्रमुख एवं प्रतिनिधि, सम्बन्धित स्थानीय तहका नापी शाखा प्रमुख तथा प्राविधिक रहेका थिए ।

उक्त समितिलाई व्यवस्थापनमा आवश्यक सहयोग स्थानीय नाल्दुम–नगरकोट विकास समितिलेसमेत गरेको थियो । चार नगरबीच सीमाङ्कनबारे पटकपटक बसेको बैठक तथा छलफलपछि समिति गठन गर्ने निर्णयसमेत गरेको हो ।

मण्डनदेउपुर नगर प्रमुख टोकबहादुर वाइवाका अनुसार समितिको प्रतिवेदनका आधारमा थप छलफल गरी सीमाङ्कनको थप प्रक्रिया अघि बढाइने जनाइएको थियो । नगरकोटमा ‘पानी ढलो’का रूपमा काभ्रेपलाञ्चोक र भक्तपुर सीमा पर्ने मौखिकरुपमा बताइँदै आइएको थियो ।

यसैबिच नगरकोटका होटल व्यवसायीलाई काभे्रपलाञ्चोकका सांसद बदन भण्डारीले नगरकोटका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाएको संरचना अहिलेदेखि नै भत्काउन सुझाव दिएका छन् । “नगरकोटमा सरकारी तथा सार्वजनिक जग्गा अझित्रमण गरेको भए आफैँ भत्काउनुहोस्, नत्र अब डोजर चल्छ”, भण्डारीले भने ।

यसअघि भक्तपुर र काभ्रेपलाञ्चोक जिल्लास्थित नगरकोटको पर्यटन विकासका लागि दुवै जिल्लाका सिमाना जोडिएका नगरले संयुक्त बजेट लगानी गर्ने प्रतिबद्धतासमेत जनाइएको थियो । लामो समयदेखि सिमानामा रहेको सार्वजनिक जग्गा दुरुपयोग हुनाका साथै पर्यटन शुल्कमा समेत भक्तपुरको चाँगुनारायण नगर र काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरबिचको विवाद दीर्घकालीन रूपमा समाधान गरिएको थियो । उपत्यकाकै प्रमुख पर्यटकीय गन्तव्य नगरकोटको सीमाङ्कनन एवं यस क्षेत्रको पर्यटन विकासका लागि दुवै नगर संयुक्त भएर कार्य गर्ने सहमतिसमेत भएको थियो ।

त्यस्तै नगरकोटका ठूला होटलले नै सार्वजनिक जग्गा हड्पी भवन नै बनाएर होटल सञ्चालन गरेको विषयमा समेत विवाद हुँदै आएकाले विद्यमान सबै समस्या समाधान गर्ने र त्यस स्थललाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले चाँगुनारायणका नगर प्रमुख जीवन खत्री र मण्डनदेउपुरका नगर प्रमुख वाइवासहितको टोलीबीच सहमति गरिएको थियो ।

विसं २०७९ पुसमा भएको सहमतिमा नगरकोटको सीमाङ्कन गर्ने, सार्वजनिक जग्गा पहिचान गर्दै संरक्षण गर्ने र यस स्थललाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने निर्णय गर्दै यसका लागि आगामी गुरुयोजना निर्माण गर्न त्यो आर्थिक वर्षमा दुवै नगरले रु १०–१० लाख बजेटसमेत विनियोजन गरेका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप