शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य

शुक्रबार, २२ जेठ २०८३, १२ : ००
शुक्रबार, २२ जेठ २०८३

सारांश

  • मुख्यमन्त्री आचार्यले लोकतन्त्रको रक्षा, राष्ट्रियताको संरक्षण तथा समाज रूपान्तरणमा युवाको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन्।
  • प्रदेश सरकारले युवालाई प्राथमिकतामा राखी उद्यमशीलता, आत्मनिर्भरता र डिजिटल क्षेत्रमा युवा लक्षित कार्यक्रम सञ्चालन गर्ने मुख्यमन्त्री आचार्यले जानकारी दिए।
  • गुणस्तरीय शिक्षा, सीप विकास र नेतृत्व क्षमता अभिवृद्धिमार्फत युवालाई सक्षम, प्रतिस्पर्धी र आत्मनिर्भर बनाउने लक्ष्य प्रदेश सरकारको रहेको सामाजिक विकास मन्त्री तिमिल्सिनाले बताए।

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लोकतन्त्रको रक्षा, राष्ट्रियताको संरक्षण तथा समाज रूपान्तरणमा युवाको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको बताएका छन्।

लुम्बिनी प्रदेश स्तरीय युवा सम्मेलन २०८३ को शुक्रबार भालुबाङमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा युवालाई प्राथमिकतामा राखिएको उल्लेख गरे। उनले नीति तथा कार्यक्रमकै आधारमा आगामी बजेट तथा योजना निर्माण गरिने बताउँदै युवामैत्री कार्यक्रमलाई अझ प्रभावकारी बनाइने स्पष्ट पारे।

मुख्यमन्त्री आचार्यले युवालाई उद्यमशीलता र आत्मनिर्भरतातर्फ उन्मुख गराउने उद्देश्यसहित विभिन्न कार्यक्रम सञ्चालन गरिने जानकारी दिए। प्रदेश सरकारले डिजिटल क्षेत्रलाई प्राथमिकतामा राख्दै युवा लक्षित कार्यक्रम अघि सार्ने तयारी गरेको पनि उनले बताए। उनका अनुसार युवालाई आधुनिक प्रविधिसँग जोडेर उद्यमशीलता विकास, रोजगारी सिर्जना र आत्मनिर्भरता प्रवर्द्धनमा विशेष ध्यान दिइनेछ।

उनले अधिकार मात्र होइन, कर्तव्यप्रति पनि सचेत हुन युवालाई आग्रह गरे। समाज रूपान्तरण, सुशासन प्रवर्द्धन र समृद्ध समाज निर्माणका लागि युवाले अझ सक्रिय भूमिका खेल्नुपर्ने उनको भनाइ थियो।

मुख्यमन्त्री आचार्यले युवाको ऊर्जा, सीप र क्षमतालाई विकाससँग जोड्न सके प्रदेश तथा देशको समग्र विकासले तीव्र गति लिने विश्वास व्यक्त गरे। उनले उत्पादन, नवप्रवर्तन र उद्यमशीलतासँग युवालाई जोड्ने कार्यक्रम आगामी दिनमा अझ सशक्त रूपमा अघि बढाइने बताए।

कार्यक्रममा सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर युवा विकासका कार्यक्रम सञ्चालन गरिने जानकारी दिए। उनले गुणस्तरीय शिक्षा, सीप विकास र नेतृत्व क्षमताको अभिवृद्धिमार्फत युवालाई सक्षम, प्रतिस्पर्धी र आत्मनिर्भर बनाउने लक्ष्य प्रदेश सरकारको रहेको बताए।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण पंगेनी, युनिसेफका प्रतिनिधि रिद्धि शर्मा लगायतले युवाको सहभागिता, नेतृत्व विकास तथा सामाजिक उत्तरदायित्वका विषयमा धारणा राखेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप