परराष्ट्रमन्त्री खनालको भारत भ्रमणपछि सीमा विवादबारे के भन्छन् भारतीय मिडिया ?
सारांश
- परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल-भारत सीमा विवादलाई द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्न चाहेको बताएका छन् ।
- उनले सीमा विवादमा बेलायतको मध्यस्थताको माग नभएको र यो विषय ऐतिहासिक दस्तावेजमा सीमित रहेको स्पष्ट पारे ।
- मन्त्री खनालले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भूभाग भएको दाबी गर्दै भारत र चीनबीचको लिपुलेक मार्ग सम्झौतामा नेपालको सहमति आवश्यक रहेको बताए ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भारत भ्रमणको चर्चा सेलाउन नपाउँदै परराष्ट्रमन्त्री शिशिर खनाल तीन दिवसीय कार्यक्रमका साथ भारत पुगे ।
रास्वपा सभापति लामिछाने र परराष्ट्रमन्त्री खनालको भारत भ्रमण यस्तो समयमा भएको थियो, जतिबेला प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले संसदमा दिएको अभिव्यक्तिलाई लिएर नेपालका विपक्षी दलले संसदमा अवरोध गर्दै आएका थिए ।
प्रधानमन्त्री बालेनको भनाइलाई लिएर भारतमा पनि विभिन्न खालका टिप्पणी भइरहेको थियो । बालेनको अभिव्यक्तिले नेपाल–भारत सम्बन्ध कस्तो होला भन्नेबारे धेरैले चिन्ता र चासोसमेत प्रकट गरिरहेका थिए ।
रास्वपा सभापति रवि लामिछानेलाई भारत सरकार र त्यहाँको सत्तारुढ दल भारतीय जनता पार्टीले निकै महत्त्व दिएको चर्चा चलिरहँदा परराष्ट्रमन्त्री खनाल पनि भारत भ्रमणमा निस्किएका थिए ।
परराष्ट्रमन्त्री खनालले आफ्ना भारतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गरे । उक्त भेटवार्तामा दुई पक्षीय सम्बन्धबारे लामो चर्चा भएको बताइएको छ । सोही भेटवार्तामा नेपाल–भारत सीमा विवादबारे समेत छलफल भएको थियो ।
परराष्ट्रमन्त्री खनालले नयाँ दिल्लीमै पत्रकारहरूसँग संक्षिप्त वार्ता पनि गरेका थिए । यिनै घटनाक्रम र परराष्ट्रमन्त्री खनालको अभिव्यक्तिलाई लिएर भारतीय सञ्चारमाध्यमले सीमा विवाद तथा दुई पक्षीय सम्बन्धका बारेमा समाचार प्रकाशन गरेका छन् ।
भारतीय अखबार नवभारत टाइम्सले आफ्नो अनलाइन संस्करणमा परराष्ट्रमन्त्री खनालद्वारा दिल्लीस्थित नेपाली दूतावासमा पत्रकारहरूसँग गरेको कुराकानीको विषयलाई आधार बनाएर प्राथमिकताका साथ समाचार प्रकाशन गरेको छ । सीमा विवादबारे सोधिएको एक प्रश्नमा मन्त्री खनालले दिएको जबाफ उद्धृत गर्दै समाचारमा लेखिएको छ, ‘हामी एकै नदीका सन्तान हौँ । हामी जब खुला मनले बस्छौँ, कुनै पनि समस्या धेरै ठुलो हुँदैन, कुनै पनि सीमा धेरै जटिल हुँदैन । हामीले भारततिर खुला हृदयले, स्पष्ट दृष्टिले र एक पारदर्शी एजेन्डा– नेपालको आर्थिक रुपान्तरणका साथ हेरेका छौँ ।’
मन्त्री खनालले नेपाल–भारत सम्बन्धलाई निकै महत्त्वपूर्ण रुपमा लिएको र आपसी सम्बन्ध निकै राम्रो रहेको बताएको पनि उक्त समाचारमा उल्लेख छ ।
अर्को भारतीय अखबार दैनिक जागरणको अनलाइन संस्करणमा पनि परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमणसम्बन्धी समाचारलाई प्राथमिकताका साथ प्रकाशन गरिएको छ ।
दिल्लीस्थित नेपाली दूतावासमा आयोजित पत्रकार सम्मेलनमै मन्त्री खनालले दिएको अभिव्यक्तिलाई उद्धृत गर्दै समाचारमा लेखिएको छ, ‘नेपालले नयाँ दिल्लीलाई २१ औँ शताब्दीको भूराजनीतिको अति समवेदनशील चश्माबाट हेर्न चाहँदैन । जबकि दुई देशबिच एक स्पष्ट तथा पारदर्शी एजेन्डा हुनुपर्छ ।’
बालेन शाह नेतृत्वको सरकार पूर्ण रूपमा नयाँ राजनीतिक वास्तविकता रहेको प्रस्ट पार्दै मन्त्री खनालले ‘यो सरकार पुराना बोझलाई लिएर नेपाल–भारत सम्बन्ध बन्धक बनाउन नचाहने’ बताएको उक्त समाचारमा उल्लेख छ ।
मन्त्री खनालले नेपाल–भारत सीमा विवाद सम्बन्धमा बेलायत जोडिनुको कारण प्रस्ट पार्दै दिएको अभिव्यक्तिलाई पनि समाचारमा जोडिएको छ । मन्त्री खनाललाई उद्धृत गर्दै समाचारमा लेखिएको छ, ‘बेलायतसँग सम्बन्धित टिप्पणी केवल ऐतिहासिक दस्तावेज र ब्रिटिश लाइब्रेरी–म्युजियमबाट जानकारी हासिल गर्ने सन्दर्भमा मात्र सीमित थियो, मध्यस्थताको माग गरिएको भन्ने होइन ।’
उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र नेपालकै रहेको दाबी गर्दै यस मुद्दालाई द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्न चाहेको प्रस्ट पारेको पनि समाचारमा उल्लेख छ । उनले भारत र चीनबिच लिपुलेक मार्ग हुँदै कैलाश मानसरोवर यात्रासम्बन्धी सम्झौता भएकोमा आपत्ति प्रकट गर्दै नेपालको सहमतिविना यस्तो निर्णय हुन नसक्ने प्रस्ट पारेको जनाइएको छ ।
भारतीय न्यूज च्यानल ‘आजतक’को अनलाइन संस्करणमा पनि मन्त्री खनालको भारत भ्रमणसँग सम्बन्धित समाचार प्रकाशन गरिएको छ । मन्त्री खनालले आपसी सम्बन्धलाई बलियो बनाउन र सीमा विवादसमेत विभिन्न विषय सुल्झाएर अघि बढ्न ठोस कदम उठाउने सन्दर्भमा आफ्नो भ्रमण सफल भएको बताएको समाचारमा उल्लेख छ ।
मन्त्री खनालले सीमा विवाद, क्षेत्रीय मतभेद, सीमा व्यवस्थापन जस्ता विषय कूटनीतिक र विद्यमान दुई पक्षीय संयन्त्रका माध्यमबाट सुल्झाउन सकिने विश्वास व्यक्त गरेको ‘आजतक’ले उल्लेख गरेको छ ।
भारतीय अखबार अमर उजालाको अनलाइन संस्करणमा पनि मन्त्री खनालको भारत भ्रमणलाई लिएर समाचार प्रकाशत गरिएको छ । मन्त्री खनालले दुई देशको साझा सीमा बाधा नभएर बलियो पुल बन्नुपर्ने धारणा राखेको समाचारमा उल्लेख छ ।
उनले भारतसँग सीमा तथा सीमाङ्कनबारे पुराना विवाद रहेको जिकिर गर्दै यी विषयलाई शान्तिपूर्ण रूपमा वार्ताका माध्यमबाट सुल्झाउन सकिने विश्वास व्यक्त गरेको जनाइएको छ ।
सीमा विवादमा नेपालले कुनै तेस्रो पक्षको मध्यस्थता नचाहेको प्रस्ट पार्दै मन्त्री खनालले दुई देशबिच विद्यमान संयन्त्रहरूलाई नै फेरि सक्रिय तुल्याएर लामो समयदेखि अल्झिएका विषय समाधान गर्न सकिने विश्वास व्यक्त गरेको समाचारमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती टी–२० कप : उपाधिका लागि चितवन र काठमाडौँ भिड्ने
-
लुम्बिनी मन्त्रिपरिषद् बैठक निर्णय : स्वास्थ्यमन्त्री घिमिरेलाई प्रवक्ताकाे जिम्मेवारी
-
कर्णालीमा रास्वपा : डोल्पा बाहेक सबैतिर वडादेखि जिल्लाको नेतृत्व चयन
-
इप्पानको विधान संशोधन सम्बन्धी विवाद समाधान: जेठ २९ गते अधिवेशन
-
११ उपमहानगरलाई ११ अर्ब ४८ करोड अनुदान, जनकपुरलाई सबैभन्दा धेरै, समानीकरणमा घोराही अगाडि
-
अपाङ्गता देखेर गाडीले रोकेन, अब निःशुल्क यात्रा गर्नेछन् कृष्णले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण