सीको उत्तर कोरिया भ्रमणले बढायो उत्तर कोरियाको साख
सारांश
- चीनका राष्ट्रपति सी चिनपिङले उत्तर कोरियाको दुईदिने भ्रमण सम्पन्न गरेका छन्, जुन सन् २०१९ पछि उनको पहिलो औपचारिक भ्रमण हो ।
- यस भ्रमणबाट कुनै ठोस सम्झौता सार्वजनिक नभए पनि यसको महत्त्वलाई किमले विशेष रूपमा उल्लेख गरेका छन् र यसले दुई देशीय सम्बन्धलाई ठूलो महत्त्व दिएको संकेत गरेको छ ।
- यो भ्रमणले उत्तर कोरियाका लागि चीनको प्रमुख सहयोगी भूमिकालाई स्मरण गराएको छ र अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुद उत्तर कोरियासँग प्रभावशाली मित्रहरू छन् भन्ने सन्देश दिएको छ ।
काठमाडौँ । चीनका राष्ट्रपति सी चिनपिङले उत्तर कोरियाको दुईदिने भ्रमण सम्पन्न गरेका छन् । सन् २०१९ पछि यो उनको उत्तर कोरियाको पहिलो औपचारिक भ्रमण हो ।
प्योङयाङमा सी चिनपिङको भव्य स्वागत गरिएको यस भ्रमणबाट कुनै ठोस सम्झौता सार्वजनिक नभए पनि यसको महत्त्वलाई किमले विशेष रूपमा उल्लेख गरेका छन् ।
सरकारी समाचार संस्था केसीएनएका अनुसार उनले सीले यस वर्षको पहिलो राजकीय भ्रमणका लागि प्योङयाङ रोज्नु दुई देशीय सम्बन्धलाई ‘ठूलो महत्त्व’ दिएको संकेत भएको बताए ।
यो भ्रमण त्यस्तो समयमा भएको हो जब बेइजिङले आफ्नो रणनीतिक रूपमा महत्त्वपूर्ण तर अप्रत्याशित साझेदारमाथि प्रभाव र सम्बन्ध पुनः स्थापित गर्ने प्रयास गरिरहेको छ । पछिल्ला वर्षहरूमा उत्तर कोरिया रुससँग अझ नजिकिएको छ । यस भ्रमणमार्फत राष्ट्रपति सीले किमलाई उनको प्रमुख सहयोगी चीन नै हो भन्ने कुरा स्मरण गराएका छन् ।
किमका लागि भने अमेरिकी नेता डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सीले भेटघाट गरेको केही सातापछि यति उच्चस्तरीय अतिथि आफ्नो देशमा आउनु अन्तर्राष्ट्रिय प्रतिबन्धहरू जारी रहे पनि आफूसँग प्रभावशाली मित्रहरू छन् भन्ने सन्देश दिने अवसर बनेको छ ।
सोमबार साँझ आयोजित भोजमा सीले चीन र उत्तर कोरियाबीचको सम्बन्धको प्रशंसा गर्दै दुवै देश ‘पहाड र नदीले जोडिएका तथा साझा भाग्य बाँडेका’ राष्ट्र भएको बताए, चिनियाँ सरकारी सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ । किमले पनि यसमा सहमति जनाउँदै चीनसँगको मित्रतालाई उच्च प्राथमिकतामा राखिरहने र बेइजिङको ‘एक चीन’ सिद्धान्तलाई समर्थन गर्ने प्रतिबद्धता दोहो¥याए ।
अन्तर्राष्ट्रिय परिस्थितिमा उथलपुथल भइरहेका बेला यो भ्रमणले दुई देशबीचको मित्रतालाई थप मजबुत बनाएको कुरा किमले बताएका छन् ।
सीले आफू र किमबीच ‘अहिलेको समयलाई आत्मसात गर्दै’ उच्चस्तरीय र जनस्तरका सम्बन्धहरूलाई अझ गहिरो बनाउने विषयमा ‘महत्त्वपूर्ण सहमति’ भएको बताए । दुवै नेताले यस वर्ष चीन र उत्तर कोरियाबीचको रक्षा सम्झौताको ६५औँ वार्षिकोत्सव परेको पनि उल्लेख गरे । यो चीनले कुनै पनि देशसँग गरेको एकमात्र रक्षा सम्झौता हो ।
उत्तर कोरियाका लागि चीन सबैभन्दा महत्त्वपूर्ण राजनीतिक र आर्थिक साझेदार हो । आणविक हतियार कार्यक्रमका कारण लगाइएका कडा अन्तर्राष्ट्रिय प्रतिबन्धबीच चीन उसका लागि जीवनरेखा समान बनेको छ ।
तर उत्तर कोरिया चीनमा निर्भर भए पनि र गठबन्धनमा कनिष्ठ साझेदारको भूमिकामा रहे पनि यस भ्रमणमा अब बिस्तारै उ पनि हाबी हुदैँ गएको देखियो । सोमबारको वार्ताबारे सरकारी सञ्चारमाध्यमले सार्वजनिक गरेका विवरणहरूमा उत्तर कोरियाको आणविक निःशस्त्रीकरणको विषय उल्लेख गरिएको थिएन । यद्यपि यो अप्रत्याशित भने थिएन ।
हालका वर्षहरूमा चीनले कोरियाली प्रायद्वीपलाई आणविक हतियारमुक्त बनाउने आफ्नो माग उल्लेखनीय रूपमा कम गरेको छ र सार्वजनिक रूपमा यो विषय उठाउन पनि छाडेको छ । सीको भ्रमणमा उनका सरकारका केही प्रमुख व्यक्तित्वहरू पनि सहभागी थिए । तीमध्ये उनका प्रमुख सहयोगी काई ची, रक्षामन्त्री दोङ जुन, विदेशमन्त्री वाङ यी तथा वाणिज्यमन्त्री वाङ वेन्ताओ रहेका थिए ।
मंगलबार दुवै नेताले कोरियाली युद्धमा लडेका चिनियाँ सैनिकहरूको सम्झनामा बनाइएको फ्रेन्डसिप टावरको भ्रमण गरे । उनीहरूले प्योङयाङको उच्चस्तरीय क्याडर विद्यालयमा पुगेर सदाबहार मित्रताको प्रतीकस्वरूप एउटा धुपीको बिरुवा पनि रोपे, सिन्ह्वाले जनाएको छ ।
प्योङयाङ बसाइका क्रममा सीलाई शहरको केन्द्रमा रहेको विशेष अतिथि निवास कुम्सुसान स्टेट गेस्ट हाउसमा राखिएको थियो । सन् २०१९ मा सीको पहिलो राजकीय भ्रमणका लागि निर्माण गरिएको बताइने उक्त अतिथि गृहमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र बेलारुसका राष्ट्रपति अलेक्जान्दर लुकासेन्कोजस्ता विदेशी नेताहरूलाई पनि आतिथ्य दिइएको छ ।
आफ्नो सम्बोधनमा सीले यो भ्रमणले ‘दुवै देशको समाजवादी अभियानका लागि संयुक्त रूपमा अझ उज्यालो भविष्यको सुरुआत गर्ने’ आशा व्यक्त गरे । यही विषय चीनका लागि संवेदनशील बिन्दु पनि बनेको छ । बेइजिङले लामो समयदेखि उत्तर कोरियालाई चीनकै मोडेल अपनाउन जोड दिदै आएको छ । उ चाहन्छ कि उत्तर कोरियाले पनि एकदलीय शासन कायम राख्दै बजार, वैदेशिक लगानी र अन्तर्राष्ट्रिय व्यापार विस्तार गर्ने नीति लियोस् ।
तर, किमले भने विकासको कुनै स्पष्ट मोडलबारे उल्लेख गरेनन् । उत्तर कोरियाले अझै पनि चीनको विकास अनुभवबाट सिक्न अस्वीकार गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिरामी पुर्जीको आधारमा ११ स्वास्थ्य संस्थाबाट सिस्प्लाटिन र कार्बोप्लाटिन इन्जेक्सन उपलब्ध हुने
-
बैंकिङ कसूर र चेक अनादरका १४ मुद्दामा फरार व्यक्ति पक्राउ
-
महाकाली सिँचाइ आयोजनाः सिँचाइ क्षेत्र विस्तार गरिँदै
-
सहकारी पीडितको आर्तनाद: स्ट्याण्डर्ड सहकारीले ठग्यो, सरकारी संयन्त्रले साथ दिएन
-
एमाले कार्यदलको निर्णय : सातै प्रदेशबाट सुझाव सङ्कलन गर्ने
-
सशस्त्रका एआईजी पोखरेललाई मानवश्रोत विभागको जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण