शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय
'स्टार एन्ड स्टोरिज'मा कलाकार जितु नेपाल

‘दुःखका कुरै नगरौं, बसमा झुण्डिएर बस्थेँ, भाडा माग्नुअघि नै झर्थें’

शुक्रबार, २९ जेठ २०८३, १० : ००
शुक्रबार, २९ जेठ २०८३

काठमाडौं । जितु नेपालले ‘मुन्द्रे’ उपनामबाट नेपाली हास्य-व्यंग्य क्षेत्रमा फराकिलो पहिचान बनाए । कुनैबेला चर्चित हास्य टेलिसिरियल ‘जिरे खुर्सानी’को मुख्य पात्र थियो मुन्द्रे, जसको भूमिका जितु नेपालले निर्वाह गरेका थिए । लामो समय ‘जिरे खुर्सानी’ चल्यो, तर टेलिभिजन युग सकिएसँगै यो ओझेलमा पर्‍यो । त्यसपछि जितु फिल्म र कमेडी शोमा सक्रिय हुन थाले । 

उनको ‘मुन्द्रेको कमेडी क्लब’ शो पछिल्लो समय निकै चर्चामा रह्यो । त्यसपछि भने उनी फिल्ममा हिरोको रूपमा बढी छाइरहेका छन् । पहिले हास्य कलाकारकै भूमिका फिल्ममा निर्वाह गर्ने जितु ‘ह्यारी कि प्यारी’बाट हिरोका रूपमा डेब्यु भए । उनकै मुख्य भूमिका रहेको फिल्म ‘आई एम जितबहादुर’ असार ५ गतेदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ । यो फिल्ममा उनी अभिनेताका साथै निर्माता पनि हुन् । 

रातोपाटीको ‘स्टार एन्ड स्टोरिज’मा अभिनेता तथा हास्य कलाकार जितु नेपालसँग कलाकारिताका संघर्ष र फिल्ममा आधारित रहेर कुराकानी गरिएको छ । प्रस्तुत छ अन्तर्वार्ताको सम्पादित अंश (विस्तृत भिडियोमा हेर्न-सुन्न सकिन्छ) :

‘आई एम जितबहादुर’ तपाईंकै वास्तविक जीवनी भन्दा फरक पर्ला र ?

यो ठ्याक्कै मेरो जीवनी त होइन, तर कथाका धेरै पक्ष मेरो विगतको सङ्घर्षसँग मेल खान्छन् ।

Jitu Nepal1

सुरूमा यो फिल्मको नाम अर्कै राख्ने भनिएको थियो । तर पछि निर्देशकले तपाईंको वास्तविक नाम जितबहादुर हो, फिल्ममा पनि सङ्घर्ष गर्ने पात्र जितबहादुर नै छ, त्यसैले ‘आई एम जितबहादुर’ राखौँ’ भन्नुभयो । गाउँबाट काठमाडौँ छिरेर कलाकार बन्नका लागि एउटा सामान्य युवाले गर्ने सङ्घर्ष यसमा देखाइएको छ ।

हिरोकै रूपमा काम पाइरहनुभएको थियो, निर्माता पनि बन्नुभयो, सजिलो रहेछ निर्माताको जिम्मेवारी ?

निर्माता बन्दा धेरै ठुलो जिम्मेवारी काँधमा आउँदो रहेछ । मलाई सबैभन्दा गाह्रो र बढी प्रेसर के कुराले दिएको छ भने मलाई विश्वास गरेर केही दाइहरू र साथीहरूले रकम लगानी गरिदिनुभएको छ । फिल्म  प्रदर्शनपछि उहाँहरूको रकम सुरक्षित रूपमा फर्काउनु मेरो पहिलो कर्तव्य र चुनौती हो ।

म चाहन्नँ कि कसैले ‘जितुलाई पैसा दिएको थिएँ, डुब्यो’ भनोस् । कमसेकम मुनाफा नभए पनि उहाँहरूको लगानी फिर्ता गर्न पाएँ भने मेरो वास्तविक जित त्यही हुनेछ ।

पहिले हिरो, अनि निर्माता, यो योजना अनुसार नै हो ?

योजनाबद्ध होइन, परिस्थिति र समयले जुरायो । फिल्मका निर्देशक शुभेन्दु घोष, जो कोलकाताको हुनहुन्छ । उहाँले मलाई अलिकति हौसला दिनुभयो । उहाँले ‘हामी कम बजेटमा राम्रो सिनेमा बनाउन सक्छौँ, म सबै प्राविधिक जिम्मेवारी लिन्छु’ भनेर एउटा सुन्दर कथा सुनाउनुभयो । मलाई पनि कथा मनपर्‍यो र एउटा नयाँ प्रयोग गरौँ न त भनेर निर्माणमा होमिएँ ।

Jitu Nepal

बजारमा हल्ला छ, दीपक-दीपासँगको ‘इगो’ले जितु निर्माता बने ?

त्यस्तो ‘इगो’ र रिसराग केही छैन । बजारमा मान्छेहरूले आ–आफ्नो किसिमले अनुमान लगाउँछन् । म त्यति धेरै रिस वा इगो पालेर बस्ने मान्छे होइन । कहिलेकाहीँ सानोतिनो कुरामा चित्त दुखाइ होला, तर समयसँगै त्यो आफैं हराएर जान्छ । दीपकजी र दीपासँग मेरो आज पनि राम्रो सम्बन्ध छ । 

अहिले ठुलो पर्दामा छाइरहँदा काठमाडौँ छिर्दाका ती दिन कति बिर्सनुभयो, कति मानस्पटलमा ताजै छन् ?  

म एसएलसी पास गरेर सर्टिफिकेट बोकेर काठमाडौँ आएको थिएँ । १६ वर्षको ठिटो थिएँ, आफूलाई ठुलै मान्छे जस्तो लाग्थ्यो । गाउँमा एसएलसी पास गर्नु भनेको धेरै ठुलो कुरा थियो । तर काठमाडौँमा जागिर पाउन एसएलसी मात्र पर्याप्त थिएन । मेरो उचाई र जिउडाल सानो भएकाले धेरै ठाउँबाट रिजेक्ट भएँ । सेक्युरिटीको काम पाउन पनि जिउडाल ठुलो हुनुपर्थ्यो । 

म प्रायः भोकभोकै हिँड्थेँ । बस चढ्न पैसा नहुँदा पछाडि झुण्डिएर छतमा चढ्ने र भाडा माग्न आउनुभन्दा अगाडि नै झर्ने गर्थें । ती संघर्ष सम्झिँदा अहिले पनि आँसु बरर हुन्छ । ती दिन मेरा जीवनका सबैभन्दा ठुला पाठशाला हुन् । म कालीमाटीबाट साइकलमा १२० केजीसम्म तरकारी लोड गरेर ल्याउँथेँ । बिजुलीबजारको पुलबाट बानेश्वरसम्म साइकल ठेल्दा मुटु फुट्ला जस्तो हुन्थ्यो । रुने क्षणहरूको त के कुरा गर्नु र कति हो कति । एकपटक कमलादीबाट डिल्लीबजारसम्म रोएरै हिँडेको थिएँ ।

Jitu Nepal2

जति नै काम गरेपनि दर्शकले मुन्द्रे भन्छन् त ?

हो । ‘जिरे खुर्सानी’को ‘मुन्द्रे’ पात्र मेरो जीवनको कोसेढुङ्गा हो । त्यसले मलाई जुन उचाई दियो, त्यसको आधार नै मेरो विगतको सङ्घर्ष थियो । दर्शकहरूले मुन्द्रेको त्यो शैली, बोल्ने तरिका र हाउभाउलाई निकै रुचाउनुभयो । 

कलाकारहरू राजनीतिमा प्रवेश गरिरहँदा तपाईंलाई अफर आएन ?

कुराकानी नभएका होइनन्, धेरै ठाउँबाट प्रस्ताव आएका थिए । तर म राजनीतिमा कहिल्यै जान्नँ । भगवानरूपी दर्शकहरूले मलाई कलाकारको रूपमा जुन सम्मान र माया दिनुभएको छ, म त्यसैमा सन्तुष्ट र खुसी छु । कलाकार सबैको साझा मान्छे हो, दलको घेराभित्र सीमित हुनुहुँदैन ।

भिडियो/फोटो : मनोज खड्का, आयुष धामी/रातोपाटी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप