शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नयाँ विमानस्थल बनाउने हतारोले प्राधिकरण टाट पल्टिने खतरा

हवाई रुट र लगानी ढाँचा पुनरावलोकन गर्न महानिर्देशक डंगोलको माग
शुक्रबार, २९ जेठ २०८३, १५ : ००
शुक्रबार, २९ जेठ २०८३

सारांश

  • नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक मुकेश डंगोलले हवाई रुटको उपलब्धता र विमानस्थल निर्माणको लगानी ढाँचामा तत्काल पुनरावलोकन गर्नुपर्ने बताएका छन्।
  • उनले ठुला पूर्वाधारमा गरिएको ऋण लगानीले प्राधिकरणलाई टाट पल्टिने अवस्थामा पुर्याउन सक्ने चेतावनी दिँदै नयाँ विमानस्थल निर्माणभन्दा भएका विमानस्थलको सुरक्षा र स्तरोन्नतिमा केन्द्रित हुनुपर्ने बताए।
  • डंगोलले स्वदेशी वायुसेवा कम्पनीहरूको विकासमा जोड दिँदै नेपालमा जहाज भित्र्याउँदा लाग्ने भ्याट लगायतका अतिरिक्त खर्चले लगानीकर्तालाई निरुत्साहित गरेको बताए।

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक मुकेश डंगोलले नेपालको हवाई क्षेत्रको विकासका लागि हवाई रुटको उपलब्धता र विमानस्थल निर्माणको हालको लगानी ढाँचामा तत्काल पुनरावलोकन गर्नुपर्ने बताएका छन्। 

शुक्रबार संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा धारणा राख्दै उनले अबको हवाई नीतिले फड्को मार्नुपर्ने आवश्यकता औँल्याएका हुन्।

बैठकमा डंगोलले भू–परिवेष्ठित मुलुक नेपाल ‘स्काइ–लक्ड’ अवस्थामा रहन नहुने बताउँदै हवाई रुटमा लचकताको खाँचो रहेको स्पष्ट पारे। नेपाल भित्रिने हवाई प्रवेश बिन्दुहरू अत्यन्त सीमित भएका कारण सिमरा क्षेत्रमा हवाई ट्राफिकको चाप बढेको उनले जानकारी दिए। सन् २०१६ मा भारत सरकारसँग महेन्द्रनगर, भैरहवा र जनकपुरका रुटहरूलाई द्विपक्षीय बनाउने सहमति भए पनि प्राविधिक कारणले कार्यान्वयनमा आउन नसकेको उनले बताए।

डंगोलले भने, ‘नीतिगत तहमा सहमति भएपनि प्राविधिक तहमा काम बाँकी छ। दुवै मुलुकका उड्डयन निकायहरूले एउटै समयमा एरोनटिकल इन्फरमेसन पब्लिकेसनमा रुटहरू प्रकाशित गर्नुपर्ने हुन्छ।’ उनले सन् २०१९ पछि कोभिडका कारण संवाद टुटेको भए पनि हालै परराष्ट्र मन्त्रीको भारत भ्रमणका क्रममा यो विषय पुनः उठेको जानकारी दिँदै प्राधिकरण र भारतीय विमानस्थल प्राधिकरण बिचको संयुक्त प्राविधिक टोलीको बैठक छिट्टै बस्ने तयारी भइरहेको बताए।

गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रसङ्ग उल्लेख गर्दै महानिर्देशक डंगोलले ठुला पूर्वाधारमा गरिएको ऋण लगानीले प्राधिकरणलाई टाट पल्टिने अवस्थामा पुर्‍याउन सक्ने चेतावनी दिए। अब नयाँ विमानस्थल बनाउनुभन्दा भएका ५५ वटा विमानस्थलको सुरक्षा र स्तरोन्नतिमा केन्द्रित हुनुपर्ने उनको भनाइ छ। उनले थपे, ‘आजकै तरिकाले विमानस्थल बनाउँदै जाने हो भने ऋणको दायित्वले समस्या निम्त्याउँछ। हाम्रो लगानीको प्राथमिकता निर्माणबाट सरेर हवाई सुरक्षा र दक्षतातर्फ केन्द्रित हुनुपर्छ। यस विषयमा संसदीय समितिले स्पष्ट दिशा निर्देश गर्न आवश्यक छ।’

विमानस्थल सञ्चालनका लागि विदेशी वायुसेवाको मात्र भर पर्न नहुने भन्दै डंगोलले स्वदेशी वायुसेवा कम्पनीहरूको विकासमा जोड दिए। सिङ्गापुर र कतारको उदाहरण दिँदै उनले भने, ‘हाम्रा विमानस्थल तब चल्छन् जब हाम्रा आफ्नै वायुयानहरूको सङ्ख्या बढ्छ। अहिले हामीले पसल त थाप्यौँ तर ग्राहक पर्खेर बस्नुपर्ने अवस्था छ।’ नेपालमा जहाज भित्र्याउँदा लाग्ने भ्याट लगायतका अतिरिक्त खर्चले लगानीकर्तालाई निरुत्साहित गरेको बताउँदै उनले व्यावसायिक वातावरण निर्माणका लागि एकीकृत प्रयास आवश्यक रहेको धारणा राखे।

बैठकमा उठेका प्राविधिक प्रश्नहरूको जवाफ दिँदै डंगोलले तुम्लिङटार विमानस्थलमा जाडोयाममा हुने उडान अवरोध र भौगोलिक जटिलताबारे पनि चर्चा गरे। साथै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक पूर्वाधार र सेवा सुविधामा देखिएका समस्या समाधानका लागि दैनिक र साप्ताहिक रूपमा मन्त्रालयमा रिपोर्टिङ भइरहेको र सुधारका कामहरू जारी रहेको उनले स्पष्ट पारे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप