वर्षा र पहिरोले कर्णाली करिडोर अवरुद्ध : सडक पुनर्निर्माणका लागि सांसद विश्वकर्माको माग
सारांश
- सांसद विष्णुबहादुर विश्वकर्माले अविरल वर्षाले अवरुद्ध कर्णाली करिडोर लगायत कालिकोटका सडकहरूको तत्काल पुनर्निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
- जेठ २६ र २७ गतेको भारी वर्षाले कर्णाली करिडोरका विभिन्न खण्डमा पहिरो खसी यातायात ठप्प भएको छ भने खेतबारीमा समेत क्षति पुगेको छ।
- सांसद विश्वकर्माले वन्यजन्तुको आक्रमणबाट नागरिकको सुरक्षा र घाइतेको उपचारको व्यवस्था गर्न पनि सरकारलाई आग्रह गरेका छन्।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद विष्णुबहादुर विश्वकर्माले हालैको अविरल वर्षाका कारण अवरुद्ध भएको कर्णाली करिडोर लगायत कालिकोटका विभिन्न सडक खण्डहरूको तत्काल पुनर्निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले प्राकृतिक विपत्ति र वन्यजन्तुको आक्रमणका कारण सास्ती भोगिरहेका कर्णालीका नागरिकको समस्या समाधान गर्न सरकारसँग माग गरेका हुन् ।
यही जेठ २६ र २७ गते राति कालिकोट क्षेत्रमा भएको भारी वर्षाका कारण विभिन्न स्थानमा पहिरो खस्दा यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ। पहिरोका कारण कर्णाली करिडोर अन्तर्गत कालिकोटको नरहरिनाथ गाउँपालिकामा पर्ने लालीघाटदेखि भौतेकुना खण्ड, सान्नीत्रिवेणीको रेगिंल खण्ड र पचालझरनाको घाटपारी खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्। वर्षापछिको पहिरो र बाढीले स्थानीय सडक संरचना, बाटोघाटो र सर्वसाधारणको खेतबारीमा समेत ठुलो क्षति पुर्याएको जानकारी संसद्मा गराइएको छ।
सांसद विश्वकर्माले बाढीपहिरोले पुर्याएको भौतिक तथा कृषि क्षेत्रको क्षतिको विवरण प्रस्तुत गर्दै भने, ‘कालिकोटमा यही जेठ २६ र २७ गते अविरल वर्षा हुँदा कालिकोटको नरहरिनाथ गाउँपालिकाका सबै वडामा लगाएको मकै खेती नष्ट भएको छ। खेत, बाटो तथा सडकहरू सबै नष्ट भासिएर नष्ट भएका छन्। भत्किएका सडक र बाटोहरू बनाउन म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’ उनले किसानहरूको बालीनाली सखाप भएको र बाटोघाटो भत्किँदा स्थानीयको जनजीवन कष्टकर बनेको तर्फ सरकारलाई गम्भीर हुन आग्रह गरे।
प्राकृतिक विपत्तिको चपेटामा परेको कालिकोटमा वन्यजन्तुको त्रास समेत थपिएको विषय उनले बैठकमा उठाए। कर्णाली राजमार्ग नजिकै स्थानीय नागरिक नेत्रबहादुर शाही बाघको आक्रमणमा परी गम्भीर घाइते भएको घटना संसद्मा प्रस्तुत गर्दै उनले नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न माग गरे।
उनले भने, ‘कर्णाली राजमार्ग नजिकै बाघको आक्रमणमा परी नेत्रबहादुर शाही घाइते हुनुभएको छ। आक्रमण गर्ने उक्त बाघलाई नियन्त्रणमा लिई त्यहाँका नागरिकलाई सुरक्षितसँग बस्ने वातावरण निर्माण गर्न पनि म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’
सांसद विश्वकर्माले गाउँबस्तीमा त्रास फैलाइरहेको उक्त बाघलाई तत्काल नियन्त्रणमा लिन र घाइतेको उपचार तथा स्थानीय बासिन्दाको सुरक्षाका लागि आवश्यक व्यवस्था मिलाउन सरकारसँग आग्रह गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवन राइनोजद्वारा कुशल मल्लसहित सात खेलाडी रिटेन
-
सिंहदरबारभित्रै गुणस्तरहीन वस्तु बिक्री, केन्द्रीय क्यान्टिनलाई २ लाख जरिवाना
-
९ करोड कमाउँदै ‘लालीबजार’ छैटौँ सातामा, ‘रोल नं १’ तेस्रो सातामा प्रवेश
-
सरकारका गतिविधिहरू ‘छलकपटपूर्ण’ : झाँक्री
-
रूस र युक्रेनकाे सीमा क्षेत्रमा भएकाे आक्रमणमा ३ जनाको मृत्यु
-
सरुवा भएका प्रहरी निरीक्षकहरूलाई महानिरीक्षक कार्कीको निर्देशन, ‘व्यक्तिगत स्वार्थ त्यागेर नागरिक केन्द्रित बनौँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण