शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय
केन्द्रीय सुरक्षा समिति बैठक

बाजुरा र हुम्लाको सिमानामा प्रहरी र सशस्त्रको अस्थायी बेस राख्ने निर्णय

शुक्रबार, २९ जेठ २०८३, २१ : ५२
शुक्रबार, २९ जेठ २०८३

सारांश

  • बाजुरा र हुम्लाको सीमा विवाद समाधान नहुँदा सो क्षेत्रमा केन्द्रीय संयुक्त सुरक्षा बेस राख्ने निर्णय गरिएको छ ।
  • गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले बाजुराको हिमाली गाउँपालिका वडा नम्बर–३ लाम्पाटामा नेपाल प्रहरी र सशस्त्रको 'केन्द्रीय संयुक्त सुरक्षा बेस' राख्ने निर्णय गरेको हो ।
  • सीमा विवादको विषयमा हुम्ला र बाजुराका स्थानीयको बिचमा वैशाख ३ मा झडप भएको थियो ।

काठमाडौँ । बाजुरा र हुम्लाको सीमा विवाद नटुङ्गिएसँगै सो क्षेत्रमा केन्द्रीय संयुक्त सुरक्षा बेस राख्ने निर्णय गरिएको छ । शुक्रवार गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले दुई जिल्लाको सीमा स्थित बाजुराको हिमाली गाउँपालिका वडा नम्बर–३ लाम्पाटामा नेपाल प्रहरी र सशस्त्रको ‘केन्द्रीय संयुक्त सुरक्षा बेस’ राख्ने निर्णय गरेको हो । गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा बसेको बैठकमा ३ सुरक्षा निकायका प्रमुखहरू र सेनाका प्रतिनिधि सहभागी थिए ।

बैठकमा सहभागी गृह मन्त्रालयका एक जना अधिकृतका अनुसार सुरक्षा बेस राख्ने गरी सुदूरपश्चिम प्रदेशबाट प्रहरी र सशस्त्रको टिम त्यसतर्फ पठाइएको छ । ती अधिकृत भन्छन्– ‘सुरक्षाकर्मीलाई आवश्यक बन्दोबस्तीको सामान हेलिकप्टरबाट पठाउने निर्णय भएको छ ।’

सीमा विवादको विषयमा हुम्ला र बाजुराका स्थानीयको बिचमा वैशाख ३ मा झडप भएको थियो । यसअघि  विवाद भएको ठाउँमा लङ रुट पट्रोलका लागि जिप्रका बाजुरामा कार्यरत इन्स्पेक्टर लक्ष्मीराज जोशीको कमान्डमा १६ जना सुरक्षाकर्मी त्यसतर्फ पठाइएको थियो ।

सो टोली अहिले लाम्पाटा नजिकै गुम्बा भन्ने ठाउँमा बसेको छ । थप फौज पुगेपछि लाम्पाटामा बेस राखिने सुदूरपश्चिमका डीआईजी ओम रानाले रातोपाटीलाई बताए । सिमानामा अस्थायी प्रहरी चौकी निर्माण गर्ने विषयमा दुई जिल्लाका स्थानीय बिचमा विवाद सुरु भएको थियो ।

बाजुरा र हुम्ला जोड्न कर्णाली करिडोरको धुलाचौरमा स्थानीयले सड्क अवरुद्ध गरेका थिए । दुई पक्षको बिचमा वार्ता भएसँगै शनिवारबाट सड्क खुलाउने सहमति भएको छ ।

वैशाख ३ मा झडप हुँदा हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थलीका स्थानीयले हिमाली–३ का वडा सदस्य पेमा गारा गुरुङसहित ५ जनालाई कुटपिट गरेका थिए । कुटपिटमा संलग्न आरोपमा २३ जना विरुद्ध जिल्ला प्रहरी कार्यालय बाजुरामा किटानी जाहेरी दर्ता भएको छ ।

कुटपिटमा संलग्नहरूलाई प्रहरीले खोजी गरिरहेको छ । घटना छानबिन गर्न प्रहरी प्रधान कार्यालयको एसएसपीको नेतृत्वमा टिम गठन गरेको थियो । नापी विभागको टोलीलाई पनि तत्काल त्यसतर्फ पठाउने केन्द्रीय सुरक्षा समितिले निर्णय गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप