डीएभी कलेजमा विद्यार्थी मृत्यु प्रकरणप्रति अखिल (क्रान्तिकारी) को ध्यानाकर्षण
सारांश
- डीएभी कलेजमा कक्षा-१२ मा अध्ययनरत विद्यार्थी आर्यन सिंहको निधन भएको घटनाप्रति अखिल (क्रान्तिकारी) उपत्यका विशेष प्रदेश समितिले ध्यानाकर्षण जनाएको छ।
- समितिले घटनाको सत्यतथ्य निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न र पीडित परिवारलाई न्याय दिन माग गरेको छ।
- यस्ता घटना दोहोरिन नदिन शैक्षिक संस्थामा प्रभावकारी सुरक्षा मापदण्ड लागू गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।
काठमाडौँ । डीएभी कलेजमा कक्षा–१२ मा अध्ययनरत विद्यार्थी आर्यन सिंहको कलेज भवनको छतमा भएको घटनापछि गम्भीर घाइते भई उपचारका क्रममा निधन भएको घटनाप्रति अखिल (क्रान्तिकारी) उपत्यका विशेष प्रदेश समितिले गम्भीर ध्यानाकर्षण जनाएको छ।
समितिका इन्चार्ज निरोज श्रेष्ठले मङ्गलबार एक प्रेस विज्ञप्ति जारी गर्दै दिवङ्गत विद्यार्थीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ।
विद्यालय तथा कलेज विद्यार्थीका लागि सबैभन्दा सुरक्षित स्थान हुनुपर्ने भए पनि विद्यालय परिसरमै यस्तो दुःखद घटना हुनु अत्यन्तै गम्भीर विषय भएको उल्लेख गर्दै घटनाको सत्यतथ्य निष्पक्ष, पारदर्शी र प्रभावकारी ढङ्गले छानबिन गरी यथाशीघ्र सार्वजनिक गर्न सम्बन्धित निकायसँग जोडदार माग गरिएको छ।
त्यस्तै, विद्यालय प्रशासनको सुरक्षा व्यवस्था, निगरानी प्रणाली, जिम्मेवारी तथा सम्भावित लापरबाहीका विषयमा समेत गहिरो छानबिन गरी दोषी देखिने जोसुकैमाथि कानुनबमोजिम कडा कारबाही गर्नुपर्ने माग गरिएको छ।
विज्ञप्तिमा पीडित परिवारलाई न्याय दिलाउन तथा भविष्यमा यस्ता दुःखद घटना दोहोरिन नदिन सबै शैक्षिक संस्थामा प्रभावकारी सुरक्षा मापदण्ड लागू गर्नुपर्ने आवश्यकता समेत औँल्याइएको छ।
घटनाको सत्य लुकाउने, प्रभावित पार्ने वा दोषीलाई उन्मुक्ति दिने कुनै पनि प्रयास भए अखिल (क्रान्तिकारी) उपत्यका विशेष प्रदेश समिति न्यायका पक्षमा सशक्त रूपमा सङ्घर्षमा जान बाध्य हुने चेतावनीसमेत दिइएको छ।

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण