बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
अपडेट

इरान–अमेरिका युद्ध अन्त्यतर्फ : ट्रम्प र पेजेशकियानले समझदारीपत्रमा गरे हस्ताक्षर

बिहीबार, ०४ असार २०८३, ०६ : २१
बिहीबार, ०४ असार २०८३

सारांश

  • इरान र अमेरिकाले जारी तनाव तथा युद्ध अन्त्य गर्ने उद्देश्यसहितको समझदारीपत्रमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसुद पेजेशकियानले डिजिटल माध्यमबाट हस्ताक्षर गरेका छन्।
  • समझौताअनुसार आगामी ६० दिनभित्र इरानको आणविक कार्यक्रम र प्रतिबन्ध हटाउने विषयमा वार्ता हुनेछ, जसमा इरानको पूर्वाधार पुनर्निर्माणका लागि ३०० अर्ब अमेरिकी डलरको कोष स्थापना गर्ने प्रस्ताव छ।
  • यद्यपि इरानको मिसाइल तथा प्रतिरक्षा कार्यक्रम सम्झौतामा समावेश छैन र इरानले सर्त पालना नगरेमा सैन्य कारबाही हुन सक्ने चेतावनी ट्रम्पले दिएका छन्।

काठमाडौँ । इरान र अमेरिकाबिच जारी तनाव तथा युद्ध अन्त्य गर्ने उद्देश्यसहित तयार गरिएको समझदारीपत्र (एमओयू) मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसुद पेजेशकियानले हस्ताक्षर गरेका छन्।

इरानको विदेश मन्त्रालय र ह्वाइट हाउसले समझदारीपत्रमा डिजिटल माध्यमबाट हस्ताक्षर सम्पन्न भएको पुष्टि गरेका छन्। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईका अनुसार हस्ताक्षर डिजिटल रूपमा भइसकेकाले स्विट्जरल्यान्डको जेनेभामा कुनै औपचारिक हस्ताक्षर समारोह आयोजना गरिने छैन। यद्यपि दुवै पक्षका वार्ता टोलीहरू शुक्रबार जेनेभामा भेट्ने कार्यक्रम यथावत् रहेको छ।

सम्झौताअनुसार अब आगामी ६० दिनभित्र इरानको आणविक कार्यक्रम र प्रतिबन्ध हटाउने विषयमा केन्द्रित वार्ता हुनेछ। राष्ट्रपति ट्रम्पले भने उक्त ६० दिने समयसीमा अन्तिम नभएको बताएका छन्।

ह्वाइट हाउसका अधिकारीहरूका अनुसार इरानको पूर्वाधार पुनर्निर्माण तथा आर्थिक पुनरुत्थानका लागि ३०० अर्ब अमेरिकी डलर बराबरको कोष स्थापना गर्ने प्रस्ताव गरिएको छ। उक्त रकम मुख्यतः इरानका छिमेकी तथा क्षेत्रीय साझेदार राष्ट्रहरूले लगानीका रूपमा उपलब्ध गराउनेछन्। इरानले पनि क्षेत्रीय साझेदारबाट ३०० अर्ब डलर बराबरको लगानी भित्रिने जनाएको छ।

इरानी पक्षले रोक्का गरिएका राष्ट्रिय सम्पत्ति फुकुवा गर्ने संयन्त्र पनि अन्तिम रूप दिइएको जनाएको छ। बाघाईले इरानलाई आफ्ना सम्पत्तिमाथि पूर्ण पहुँच र प्रयोगको अधिकार सुनिश्चित हुनुपर्ने बताएका छन्।

सम्झौतामा इरानको मिसाइल तथा प्रतिरक्षा कार्यक्रम भने समावेश गरिएको छैन। बाघाईले इरानको रक्षा क्षमता कुनै पनि वार्ताको विषय नबन्ने स्पष्ट पारेका छन्।

यसैबीच ट्रम्पले इरानले समझदारीपत्रका सर्त पालना नगरेमा कडा सैन्य कारबाही हुन सक्ने चेतावनी दिएका छन्। यद्यपि दुवै पक्षले हाल युद्ध अन्त्य र क्षेत्रीय स्थायित्वलाई प्राथमिकतामा राख्दै कूटनीतिक प्रक्रियालाई अघि बढाउने संकेत गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप