बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
स्वास्थ्य/ जीवनशैली

मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?

बिहीबार, ०४ असार २०८३, ०७ : ४८
बिहीबार, ०४ असार २०८३

काठमाडौं । मनसुनसँगै मुलुकभर मौसमजन्य तथा महामारीजन्य रोगहरूको जोखिम आकलन गरी स्वास्थ्य सेवा विभागले आफ्नो सम्पूर्ण संरचनागत प्रणालीलाई उच्च सतर्कताका साथ परिचालन गर्ने भएको छ ।

मनसुनको अवधिमा विशेषगरी हैजा, डेंगी, झाडापखाला, स्क्रब टाइफस, मलेरिया र इन्फ्लुएन्जाजस्ता रोगहरू देखापर्ने गर्छन् ।

बढ्दो तापक्रम, आद्र्रता र निरन्तर वर्षाका कारण विभिन्न प्रकारका संक्रामक रोग फैलिने सम्भावना उच्च रहने भएकाले त्यसको प्रतिकार्यका लागि आफूहरू तयारी अवस्थामा रहेको स्वास्थ्य सेवा विभागले जनाएको छ । मनसुनको समयमा खानेपानीका स्रोत दूषित हुन सक्ने र सरसफाइ व्यवस्थापनमा समस्या आउन सक्ने भएकाले रोगहरूको संक्रमण बढ्न सक्ने स्वास्थ्य अधिकारीहरू बताउँछन् ।

महामारीजन्य रोग नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेल्ने स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका लागि सरकारले आगामी आर्थिक वर्षमा ३० करोड १६ लाख रुपैयाँ बजेट छुट्याएको छ । विभागले समुदाय र स्वास्थ्य चौकीदेखि प्रादेशिक तथा केन्द्रीय अस्पतालहरूसम्म रोग रोकथाम र उपचारको एकीकृत पूर्वतयारी थालेको हो ।

यस अभियानअन्तर्गत देशभरका दुई सयभन्दा बढी स्वास्थ्यकर्मीहरूलाई ‘फिल्ड इपिडिमियोलोजिकल ट्रेनिङ प्रोग्राम’ प्रदान गरी महामारीको अनुसन्धान र तत्काल प्रतिकार्य (रेस्पोन्स) का लागि तयारी अवस्थामा राखिएको छ ।

स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचनले महामारीको पूर्वतयारी तथा प्रतिकार्यका लागि तयारी अवस्थामा रहन भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै गाउँपालिका र नगरपालिकालाई पत्राचार गरिएको बताए ।

उनले भने, ‘डेंगी र स्क्रब टाइफस लगायतका बिरामीको निगरानीका लागि स्थानीय तहबाटै आवश्यक संख्यामा निदान किट व्यवस्थापन गरी जाँचको व्यवस्था मिलाउन अनुरोध गरेका छौँ । साथै हैजासम्बन्धी जाँचका लागि हरेक जिल्लास्थित स्वास्थ्य, जनस्वास्थ्य वा स्वास्थ्य सेवा कार्यालयहरूसँग समन्वय गर्न पनि आग्रह गरिएको छ ।’

डा. भट्टचनका अनुसार कुनै पनि जनस्वास्थ्य महामारी वा प्रकोप देखिएको खण्डमा उक्त प्रकोपसम्बन्धी सूचना ’सोरमास’ प्रणालीमा प्रविष्ट गरी प्रारम्भिक द्रुत जोखिम लेखाजोखा गर्दै प्रतिकार्यलाई व्यवस्थित गर्न सम्बन्धित प्रदेश तथा इपिडिमियोलोजी र रोग नियन्त्रण महाशाखासँग समन्वय गर्न अनुरोध गरिएको छ ।

मनसुनजन्य रोगबाट बच्न सरसफाइमा विशेष ध्यान दिनुपर्ने चिकित्सकहरू बताउँछन् । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार यस बेला सरकारले खानेपानीको अनुगमनलाई तीव्रता दिनुपर्छ । डा. पुनले भने, ‘मनसुनमा झाडापखाला र हैजाजस्ता पानीजन्य रोगहरू धेरै फैलिने गर्छन् ।

संघ, प्रदेश र स्थानीय तहको त्रिपक्षीय समन्वयलाई सुदृढ बनाउँदै विभागले स्थानीय तहका अस्पतालका चिकित्सक, नर्स, ल्याब, जनस्वास्थ्य र तथ्यांक क्षेत्रका जनशक्तिलाई अग्रपंक्तिमा खटाउने जनाएको छ ।

महामारीको प्रारम्भिक चेतावनी र प्रभावकारी नियन्त्रणका लागि सरकारले आधुनिक प्रविधिको प्रयोग र प्रत्यक्ष निगरानी प्रणालीलाई प्राथमिकतामा राखेको छ । पानीजन्य रोगहरू, विशेष गरी हैजा र झाडापखालाको प्रकोप रोक्न खानेपानीको गुणस्तर परीक्षण गर्ने उद्देश्यले ‘वाटर क्वालिटी सर्भिलेन्स’ (खानेपानी गुणस्तर निगरानी) कार्यलाई अगाडि बढाइएको छ । यसका साथै, सरुवा रोग र पहिचान नभएका तर संक्रामक लक्षण देखिएका घटनाहरूको तत्काल डिजिटल रिपोर्टिङ गर्न देशैभर ‘सोरमास’ (सर्भिलेन्स आउटब्रेक रेस्पोन्स म्यानेजमेन्ट एन्ड एनालाइसिस सिस्टम) प्रणाली लागू गरिएको छ । यो लाइभ डिजिटल निगरानी प्रणालीले सम्भावित जोखिमपूर्ण महामारीको पूर्वसूचना प्रदान गर्ने हुँदा जनस्वास्थ्य प्रकोपको द्रुत जोखिम मूल्याङ्कन गर्न सहज हुनेछ ।

गाउँघरमा खटिने महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्य चौकीका कर्मचारीहरूलाई कुन–कुन सरुवा रोगको तत्काल रिपोर्टिङ गर्नुपर्छ भन्नेबारे निरन्तर प्रशिक्षित गरिएकाले समुदायस्तरमा बिरामी देखापर्नेबित्तिकै केन्द्रीय निकायसम्म तुरुन्त जानकारी पुग्ने प्रणालीको विकास गरिएको छ ।

विशेष गरी पछिल्ला वर्षहरूमा जनस्वास्थ्यको ठूलो चुनौती बनेको डेंगी रोग नियन्त्रणका लागि सरकारले रणनीतिक योजना र बजेटको व्यवस्था गरेको छ ।

आगामी आर्थिक वर्षमा स्थानीय तहहरूमा डेंगी सङ्क्रमण फैलाउने लामखुट्टेका लार्भा खोजेर नष्ट गर्ने अर्थात् ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न ३ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । साथै, जिल्लास्तरमा स्थानीय तहसँग समन्वय कायम गर्न प्रत्येक जिल्लाका लागि थप ५० हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था मिलाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

मनसुनजन्य रोगबाट बच्न सरसफाइमा विशेष ध्यान दिनुपर्ने चिकित्सकहरू बताउँछन् । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार यस बेला सरकारले खानेपानीको अनुगमनलाई तीव्रता दिनुपर्छ । डा. पुनले भने, ‘मनसुनमा झाडापखाला र हैजाजस्ता पानीजन्य रोगहरू धेरै फैलिने गर्छन् ।

यस समयमा जारको पानीको माग धेरै र आपूर्ति कम हुने भएकाले गुणस्तरमा समस्या आई संक्रमणको जोखिम हुन्छ, त्यसैले सरकारले अनुगमन बढाउनुपर्छ ।’ यो समयमा डेंगी र स्क्रब टाइफस जस्ता किटजन्य रोगहरूको संक्रमण समेत बढ्ने भएकाले सरकारले जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने उनले बताए । डा. पुनले थपे, ‘लामखुट्टे नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियानलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्नुपर्छ र व्यक्ति स्वयं पनि सजग र सचेत हुनुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रशान्त वली
प्रशान्त वली
लेखकबाट थप