आन्तरिक राजस्व बढ्दा लुम्बिनी प्रदेशको आम्दानी २६ अर्ब नाघ्यो
भैरहवा । लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको पहिलो ११ महिनामा आन्तरिक राजस्व सङ्कलनमा सुधार देखिएको छ । प्रदेश सरकारले गत जेठ २५ गतेसम्म रु पाँच अर्ब १४ करोड ४ लाख आन्तरिक राजस्व सङ्कलन गरेको छ । यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२ प्रतिशत बढी हो ।
आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले प्रदेशसभामा प्रस्तुत गरेकाे आर्थिक विवरणअनुसार सोही अवधिसम्म प्रदेश सञ्चित कोषमा रु २६ अर्ब ५७ करोड ७७ लाख दाखिला भएको छ । सङ्घीय सरकारबाट प्राप्त अनुदान, राजस्व बाँडफाँट र प्रदेशको आन्तरिक स्रोतबाट प्राप्त रकम सो कोषमा समावेश हुने व्यवस्था छ ।
प्रदेश सरकारले चालु आर्थिक वर्षमा हालसम्म रु १७ अर्ब ४७ करोड ८२ लाख खर्च गरेको जनाएको छ । यो कुल विनियोजित बजेटको ४४ दशमलव ८५ प्रतिशत हो । उक्त खर्चमध्ये रु १० अर्ब ११ करोड ९ लाख पुँजीगत तथा सात अर्ब ३६ करोड ७३ लाख चालुतर्फ रहेको मन्त्रालयले जनाएको छ ।
प्रदेश सरकारका अनुसार स्थानीय तहलाई वित्तीय हस्तान्तरणअन्तर्गत रु एक अर्ब ९३ करोड २३ लाख उपलब्ध गराइएकोमध्ये ५६ दशमलव ४२ प्रतिशत खर्च भइसकेको छ ।
प्रदेश गौरवको आयोजनाका रूपमा रहेको प्रदेश राजधानी व्यवस्थापन तथा निर्माण कार्यक्रमअन्तर्गत पहिलो चरणको काम सम्पन्न भएको छ । उक्त आयोजनाको भौतिक प्रगति शतप्रतिशत तथा वित्तीय प्रगति ९५ दशमलव ५८ प्रतिशत पुगेको छ । निर्माण सम्पन्न प्रशासनिक भवनबाट गत वैशाख २१ गतेदेखि सेवा सञ्चालन भइरहेको छ ।
मन्त्री कार्कीका अनुसार चालु आर्थिक वर्षमा प्रदेशको आर्थिक वृद्धिदर दुई दशमलव ८७ प्रतिशत रहने अनुमान गरिएको छ । कृषि क्षेत्रमा अपेक्षित वृद्धि हुन नसक्दा तथा यातायात, सञ्चार र व्यापार क्षेत्रको बिस्तार सुस्त हुँदा आर्थिक वृद्धिदर प्रभावित भएको प्रदेश सरकारले स्पष्ट गरेको छ । अघिल्लो आर्थिक वर्षमा प्रदेशको आर्थिक वृद्धिदर चार दशमलव २७ प्रतिशत रहेको थियो ।
प्रदेशको कुल गार्हस्थ्य उत्पादन चालु आर्थिक वर्षमा नौ रु खर्ब ३७ अर्ब पुग्ने अनुमान गरिएको छ । राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा लुम्बिनी प्रदेशको योगदान १४ दशमलव दुई प्रतिशत रहने प्रक्षेपण गरिएको छ ।
त्यसैगरी, लुम्बिनी प्रदेशमा विद्युत् पहुँच ९८ दशमलव ६ प्रतिशत र करिब ८० प्रतिशत घरधुरीमा इन्टरनेट सेवा विस्तार भएको अनुमान गरिएको छ ।
सङ्घीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान, समपूरक अनुदान र राजस्व बाँडफाँटमार्फत प्रदेशको आम्दानीमा उल्लेखनीय योगदान पुगेको आर्थिक विवरणमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई छिमेकी मुलुकमा परराष्ट्रमन्त्री खनालको भ्रमण : के देखियो समानता ?
-
मन्त्री पुन भन्छन्– नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार गर्न सकिन्छ
-
कक्षा ११ र १२ को छात्रवृत्तिका लागि पुनः आवेदन खुला
-
खण्डहर देउवा निवासमा टाँसियो अख्तियारले आरजुलाई बयानमा बोलाएको पत्र, तस्बिरहरू
-
युद्धकालीन उच्चबिन्दुभन्दा ३५ डलर तल झर्यो तेल
-
आगामी मौद्रिक नीतिका लागि उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको १२ बुँदे सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण