पोखरा महानगरले अनलाइनबाट गुनासो लिने, सेवा प्रवाहलाई व्यवस्थित बनाउन लाइन बस्ने अभियान चलाइने
सारांश
- पोखरा महानगरपालिकाले सेवा प्रवाहलाई व्यवस्थित गर्न लाइन बस्ने अभियान चलाउने भएको छ।
- नागरिकका गुनासो डिजिटल प्रणालीबाट लिनका लागि मोबाइल एप, वेबसाइट र क्युआर कोड प्रयोग गरिनेछ।
- यसका साथै पर्यटकलाई मित्रवत् व्यवहार गर्न प्रेरित गर्ने मुस्कान सहितको पोखरा अभियान पनि सञ्चालन गरिनेछ।
पोखरा। सरकारी वा सार्वजनिक कार्यालयमा सेवा लिन जाँदा हुने भिडभाडलाई व्यवस्थित गर्न लाइन बस्ने अभियान सुरु गर्ने पोखरा महानगरपालिकाले घोषणा गरेको छ।
आगामी आर्थिक वर्ष २०८३।०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर धनराज आचार्यले ३३ वटा अभियानको घोषणा गरेका हुन्।
उनका अनुसार पोखराले आगामी आर्थिक वर्ष सेवा प्रवाहलाई व्यवस्थित बनाउन लाइन बस्ने अभियान चलाउन लागिएको हो । ‘सेवाग्राहीको भिडभाड हुने कार्यालयमा लाइन बस्ने संस्कृतिको विकासमा जोड दिइनेछ,’ प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ।
महानगरले नागरिकको गुनासो चाहिँ डिजिटल प्रणालीबाट लिने जनाएको छ । ‘सार्वजनिक महत्वका विषयमा महानगरपालिका समक्ष नागरिकहरूले आफ्ना सुझाव, समस्या र गुनासो सहजै दर्ता गर्न सकुन् भन्नका लागि हामीले मोबाइल एप, वेबसाइट र क्युआर कोड लगायतका प्रविधिको प्रयोग गरी डिजिटल गुनासो अभियान सञ्चालन गर्नेछौँ,’ नीति तथा कार्यक्रममा भनिएको छ ।
यसबाहेक पोखरा भित्रिने पर्यटकका लागि महानगरको सीमानामा रिफ्रेसमेण्ट सेन्टर स्थापना गर्नेदेखि सिङ्गो पोखरालाई मुस्कानको सहर बनाउनेसम्मका घोषणा गरिएको छ ।
‘सेवा लगायतका क्षेत्रमा क्रियाशील ट्याक्सी चालक, होटल कर्मचारी, व्यापारी र नागरिकलाई पर्यटकसँग मित्रवत् व्यवहार गर्न प्रेरित गर्दै मुस्कान सहितको पोखरा सन्देशलाई महानगरव्यापी बनाउन हामीले यो अभियान सञ्चालन गर्नेछौँ,’ मेयर आचार्यले भने।
महानगरले पोखरालाई सभ्य र समृद्ध पर्यटकीय शहरका रूपमा विकास गर्न यी अभियान चलाउने घोषणा गरेको हो । यसबाहेक मेरो कुकुर, मेरो जिम्मेवारी अभियानमार्फत महानगरभित्रका घरपालुवा कुकुरहरूको अनिवार्य दर्ता र नवीकरण प्रणाली लागू गरिने आचार्यले जानकारी दिए ।
कुकुरलाई सार्वजनिक स्थलमा दिशा गराउने वा जथाभाबी छोड्ने धनीलाई कानुनी दायरामा ल्याउने चेतावनी नीति तथा कार्यक्रम मार्फत दिइएको छ ।
यस्तै, सडक र सार्वजनिक स्थललाई सफा राख्न १० मिनेट नागरिक योगदान अभियान सञ्चालन गरी प्रत्येक नागरिकलाई दैनिक आफ्नो टोल वा पार्क सफा गर्न प्रोत्साहन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
महानगरले ध्वनि र वायु प्रदूषण नियन्त्रणका लागि शून्य अतिक्रमण शून्य प्रदूषण तथा अनावश्यक हर्न बजाउने प्रवृत्तिलाई निरुत्साहित गर्न हर्न कम, सम्मान बढी अभियान सञ्चालन गर्ने जनाएको छ ।
एक वडा–एक सार्वजनिक शौचालय निर्माण देखि नो प्लास्टिक पोखरा अभियान, एक पर्यटक एक मित्र अभियान, साप्ताहिक कार फ्री अभियान समेत सञ्चालन गर्ने बताइएको छ ।
महानगरले घोषणा गरेका ३३ अभियानहरू
१) ग्रीन शिक्षक तथा विद्यालय विकास अभियान
२) सीमा नाकामा रिफेस्मेन्ट सेन्टर
३) एक वडा–एक सार्वजनिक शौचालय अभियान
४) सुरक्षित शहर अभियान
५) सुन्दर घर, हरित घर अभियान
६) वार्षिक ग्रीन अवार्ड
७) सफा टोल प्रोत्साहन कार्यक्रम
८) महिला सशक्तीकरण तथा आमा समूह सम्मान कार्यक्रम
९) उत्कृष्ट सहकारी सम्मान कार्यक्रम
१०) वर्ष व्यक्तित्व सम्मान
११) पर्यटन उत्कृष्टता पुरस्कार
१२) मेरो घर अगाडि, मेरो जिम्मेवारी अभियान
१३) नो प्लास्टिक पोखरा अभियान
१४) मुस्कान सहितको पोखरा अभियान
१५) हरित बाल्कोनी, हरित घर अभियान
१६) भित्ते कला र संस्कृति अभियान
१७) हर्न कम, सम्मान बढी अभियान
१८) एक पर्यटक, एक मित्र अभियान
१९) सफा सार्वजनिक शौचालय अभियान
२०) पैदलमैत्री पोखरा अभियान
२१) सभ्य र सुसंस्कृत पोखरेली अभियान
२२) पोखरा पर्यटन दूत अभियान
२३) साप्ताहिक कार–फ्री सडक अभियान
२४) एक संस्था, एक सार्वजनिक स्थल सरसफाइ र वृक्षारोपण अभियान
२५) लाइनमा बसौँ, सभ्यता देखाऔँ अभियान
२६) पोखरा बोल्छ, सभ्य भाषा प्रयोग गरौँ अभियान
२७) उज्यालो र सुरक्षित पोखरा अभियान
२८) पोखराको फोटो, विश्वभर प्रचार अभियान
२९) अतिथि देवो भवः अभियान
३०) १० मिनेट नागरिक योगदान अभियान
३१) मेरो कुकुर, मेरो जिम्मेवारी अभियान
३२) डिजिटल गुनासो अभियान
३३) शून्य अतिक्रमण शून्य प्रदूषण अभियान
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने
-
पहिलो हाफमा गोलरहित बराबरीमा रोकिए मेक्सिको र दक्षिण कोरिया
-
मधुमेहका बिरामीले खान हुन्छ अनार ?
-
सीप सिकेर आत्मनिर्भर बन्दै म्याग्देका महिला
-
सुदूरपश्चिम प्रदेशका ६० हजार घरपरिवार अझै विद्युत्को पहुँच बाहिर
-
नुहाउनेबित्तिकै पानी पिउन हुन्छ कि हुन्न ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण