हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण
सारांश
- शुक्लागण्डकी नगरपालिकाले हलगोरु पाल्ने ३९ किसानलाई प्रतिहल पाँच हजार प्रोत्साहन रकम दियो।
- कार्यक्रमको उद्देश्य परम्परागत कृषि संरक्षण र किसानलाई खेतीमा प्रोत्साहन गर्नु हो।
- किसानले सरकारको किसानमैत्री कार्यक्रममा खुसी व्यक्त गरेका छन्।
तनहुँ । परम्परागत कृषि प्रणालीको संरक्षण तथा किसानलाई खेतीपातीप्रति थप प्रोत्साहित गर्ने उद्देश्यले शुक्लागण्डकी नगरपालिका–१२ ले हल गोरु पाल्ने किसानलाई प्रोत्साहन रकम वितरण गरेको छ । वडाका ३९ जना किसानलाई प्रतिहल गोरु रु पाँच हजारका दरले प्रोत्साहन रकम प्रदान गरिएको हो ।
शुक्लागण्डकी नगरपालिकाको कृषि विकास शाखामार्फत सञ्चालित कार्यक्रमअन्तर्गत वडा नं १२ का किसानलाई बिहीबार नगद प्रोत्साहन वितरण गरिएको हो । वडाध्यक्ष इन्द्र गुरुङले किसानलाई रकम हस्तान्तरण गर्दै कृषि क्षेत्रलाई आत्मनिर्भर र उत्पादनमुखी बनाउन स्थानीय तहले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।
गुरुङले आधुनिक प्रविधिको प्रयोगसँगै परम्परागत कृषि अभ्यासको संरक्षण पनि आवश्यक रहेको उल्लेख गर्दै गाउँघरमा खेतीपातीका लागि हल गोरुको प्रयोग क्रमशः घट्दै गइरहेको अवस्थामा यस्ता प्रोत्साहन कार्यक्रमले किसानलाई उत्साहित बनाउने विश्वास व्यक्त गरे ।
“हाम्रा पुर्खादेखि चलिआएको कृषि प्रणाली र स्थानीय उत्पादनको आधार जोगाउन हल गोरुको महत्त्वपूर्ण भूमिका छ”, उनले भने, “किसानको मिहिनेत र योगदानको सम्मान गर्दै नगरपालिकाले यो कार्यक्रम सञ्चालन गरेको हो । आगामी दिनमा पनि किसानलक्षित विभिन्न सहयोग तथा प्रोत्साहनका कार्यक्रम ल्याइनेछ ।”
उनले कृषि क्षेत्रलाई व्यावसायिक र उत्पादनमुखी बनाउन नगरपालिकाले बीउ बिजन, तालिम, प्रविधि हस्तान्तरण तथा कृषि पूर्वाधार विकासका कार्यक्रमलाई समेत प्राथमिकतामा राखेको जानकारी दिए । नगरपालिकाका कृषि विकास शाखा प्रमुख दीपकुमार उपाध्यायले परम्परागत कृषि प्रणाली संरक्षण, स्थानीय जातका पशुपालन प्रवर्द्धन तथा किसानलाई खेतीमा निरन्तर लागिरहन उत्प्रेरित गर्न प्रोत्साहन रकम वितरण गरिएको बताए ।
उनका अनुसार पछिल्ला वर्षहरूमा कृषि यान्त्रिकीकरण बढेसँगै हलगोरु पाल्ने किसानको सङ्ख्या घट्दै गएको छ । यद्यपि पहाडी तथा ग्रामीण क्षेत्रमा अझै पनि हलगोरु खेतीको महत्त्वपूर्ण आधारका रूपमा रहेको उनले उल्लेख गरे ।
“परम्परागत कृषि प्रणाली हाम्रो कृषि संस्कृतिसँग जोडिएको विषय हो”, उपाध्यायले भने, “हलगोरु संरक्षण गर्नु भनेको कृषि परम्परा, जैविक उत्पादन र ग्रामीण जीवनशैलीको संरक्षण गर्नु पनि हो । त्यसैले नगरपालिकाले किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरेको हो ।”
प्रोत्साहन रकम प्राप्त गरेका किसानले स्थानीय सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै किसानमैत्री कार्यक्रम सञ्चालन गरेकामा खुसी व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्विट्जरल्याण्ड र बोस्नियाबिच कडा प्रतिस्पर्धा, पहिलो हाफमा भएन गोल
-
नेपालगन्जबाट दुई चिकित्सकसहित पाँच पक्राउ
-
हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण
-
खामेनीद्वारा सम्झौता स्वीकृतः ‘फरक मत भए पनि राष्ट्रपतिको आश्वासनपछि अनुमति दिएँ’
-
अघिल्लो चरण प्रवेशका लागि स्विट्जरल्याण्ड र बोस्निया भिड्दै, दुवैलाई जितको खोजी
-
१२ बजे १२ समाचार: प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित, फेरिँदै विद्यालय पाठ्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण