न्यायाधीशको सम्पत्ति छानबिनसम्बन्धी रिट सुनुवाइका लागि पेसी तोकियो
सारांश
- सम्पत्ति छानबिनमा न्यायाधीश र पूर्वन्यायाधीशलाई पनि समावेश गरिएको भन्दै दायर गरिएको रिट सुनुवाइका लागि पेसी तोकिएको छ ।
- अधिवक्ता डा. प्रेमराज सिलवालले सम्पत्ति छानबिन आयोग असंवैधानिक र क्षेत्राधिकारविहीन भएको दाबी गर्दै रिट दायर गरेका छन् ।
- रिटमा अन्तर्राष्ट्रिय अभ्यासविपरीत सरकारले छानबिनको क्षेत्राधिकारमा पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीश तथा बहालवाला न्यायाधीशलाई समेत समेटेको उल्लेख छ ।
काठमाडौँ । सम्पत्ति छानबिनमा न्यायाधीश र पूर्वन्यायाधीशलाई पनि समावेश गरिएको भन्दै दायर गरिएको रिट सुनुवाइका लागि पेसी तोकिएको छ ।
अधिवक्ता डा. प्रेमराज सिलवालले दायर गरेको रिट शुक्रबार प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र न्यायाधीश टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तय भएको छ ।
अधिवक्ता सिलवालले सम्पत्ति छानबिन आयोग असंवैधानिक र क्षेत्राधिकारविहीन भएको दाबी गर्दै रिट दायर गरेका छन् ।
प्रधानन्यायाधीश वा न्यायाधीशले भ्रष्टाचार गरेको आधार र प्रमाण देखिएको खण्डमा कानुनी प्रबन्ध र प्रक्रियाबमोजिम संविधानको धारा १०१ अनुसार संसद्बाट महाभियोग लगाएर पदमुक्त भएपछि मात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन, अनुसन्धान र अभियोजन गरी विशेष अदालतमा मुद्दा चलाउन सक्ने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै त्यसविपरीत आयोगको कार्यक्षेत्र निर्धारण गरिएको दाबी रिटमा गरिएको छ ।
रिटमा अन्तर्राष्ट्रिय अभ्यासविपरीत सरकारले छानबिनको क्षेत्राधिकारमा पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीश तथा बहालवाला न्यायाधीशलाई समेत समेटेको र आयोगमा उनीहरूविरुद्ध उजुरी दिन सकिने व्यवस्था गरिएको उल्लेख छ ।
यसले स्वतन्त्र न्यायालयको मर्म, मान्यता, आधार र संवैधानिक व्यवस्था कमजोर बनाउने तथा न्यायाधीशहरू सरकारको दबाब, प्रभाव, आस र त्रासमा रहने अवस्था सिर्जना हुने भएकाले उक्त आयोग क्षेत्राधिकारविहीन रहेको भन्दै खारेजीको माग गरिएको छ ।
सरकारले २०६२/६३ सालदेखि हालसम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्चपदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्न गत वैशाख ३ गते आयोग गठन गरेको थियो ।
सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरेको थियो । उक्त आयोगलाई २०६२ सालयताका उच्च पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्ने कार्यादेश दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करको दर परिवर्तनका विषयमा छानबिन समिति आवश्यक : शाही
-
एडीबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत
-
मन्त्री निवासमा प्रहरीले खानतलासी गरेकामा सरकारको ध्यानाकर्षण
-
गाजामा सहायता आपूर्तिका प्रतिबन्धहरू हटाउन राष्ट्रसङ्घको आह्वान
-
प्रत्यक्ष फुटबल हेर्न इन्फान्टिनोको भागदौड, अत्यधिक उडानकै कारण प्रदूषणकारी बन्दैछ विश्वकप
-
एसिड आक्रमणमा दृष्टिविहीन हुनबाट बचेका विस्साको कंगोका लागि ऐतिहासिक गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण