शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय
संसद् बैठक

सदनमा नेकपाको आरोप : सरकारको सुशासन खोक्रो भयो

शुक्रबार, ०५ असार २०८३, ११ : ५०
शुक्रबार, ०५ असार २०८३

सारांश

  • नेकपाका सांसद गणेशबहादुर विश्वकर्माले सरकारको सुशासनको नारा खोक्रो भएको आरोप लगाएका छन्।
  • उनले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिको विरोध गर्दै संसदमा माफी माग्न माग गरेका छन्।
  • सांसद विश्वकर्माले राष्ट्रिय स्वाधीनता विपरीतका अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुखसँग अनुरोध गरेका छन्।

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सरकारको सुशासनको नारा ‘खोक्रो’ भएको आरोप लगाएको छ । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपाका सांसद गणेशबहादुर विश्वकर्माले सार्वजनिक चर्चामा रहेका कूटनीतिज्ञ माथिको दुर्व्यवहार, संवैधानिक आयोगका प्रमुखलाई दबाब दिने कार्य र खुट्टा भाँचिदिन्छु जस्ता धम्कीपूर्ण अभिव्यक्तिको चर्चा गर्दै सरकारले कस्तो सुशासन दिन खोजेको हो भनी प्रश्न गरे । 

त्यस्तै, विश्वकर्माले प्रधानमन्त्रीको पछिल्लो सीमा सम्बन्धी अभिव्यक्तिको कडा विरोध गर्दै संसदमा माफी माग्न माग गरे । सांसद विश्वकर्माले प्रधानमन्त्रीले जेठ १७ गते संसद्को रोस्टमबाट दिएको अभिव्यक्ति राष्ट्रिय भावना र ऐतिहासिक तथ्य विपरीत रहेको दाबी गरे । 

आफ्नै देशको प्रधानमन्त्रीले नेपालले पनि भारतको केही भूमि अतिक्रमण गरेको छ भन्नु अस्वाभाविक र आपत्तिजनक भएको विश्वकर्माले बताए । उनले नयाँ तथ्य फेला परेको हो भने कुन भूमि, कहाँको र कति क्षेत्रफल मिचिएको हो, त्यसको आधिकारिक नक्सा र अभिलेख संसद्मा पेस गर्न चुनौती समेत दिए । 

प्रधानमन्त्रीको अभिव्यक्तिका सन्दर्भमा परराष्ट्र मन्त्रीले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै उनले प्रधानमन्त्री स्वयं संसदमा उपस्थित भएर नेपाली जनतासँग माफी माग्नुपर्ने बताए । ‘प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति नसच्याएसम्म हाम्रो विरोध निरन्तर रहनेछ । हामीलाई आत्मसमर्पण स्वीकार्य छैन,’ उनले भने । 

सांसद विश्वकर्माले राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डता विपरीतका गैरजिम्मेवार अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुखसँग समेत अनुरोध गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप