फासीवादी मनोविज्ञानमाथि राजेन्द्र महर्जनको नयाँ पुस्तक
सारांश
- लेखक राजेन्द्र महर्जनको नयाँ पुस्तक 'उन्मादः फासीवाद मन्थन' बजारमा आएको छ ।
- यस पुस्तकमा फासीवाद, नाजीवाद, सामूहिक उन्माद, श्वेत श्रेष्ठतावाद र समकालीन लोकप्रियतावादी राजनीतिको विश्लेषण गरिएको छ ।
- पुस्तकले नेपाली राजनीति र समाजभित्र देखिएका फासीवादी प्रवृत्तिबारे पनि चर्चा गरेको छ ।
काठमाडौँ । लेखक तथा राजनीतिक विश्लेषक राजेन्द्र महर्जनको नयाँ पुस्तक ‘उन्मादः फासीवाद मन्थन’ बजारमा आएको छ ।
फासीवाद, नाजीवाद, सामूहिक उन्माद, श्वेत श्रेष्ठतावाद र समकालीन लोकप्रियतावादी राजनीतिको विश्लेषण गरिएको यस पुस्तकमा तीन दशकको अवधिमा लेखिएका तथा पुनःपरिमार्जित रचनाहरू समेटिएका छन् ।
पुस्तकको आरम्भमै लेखकले फासीवाद शब्दको अर्थ, त्यसको ऐतिहासिक विकासक्रम र बीसौँ शताब्दीदेखि एक्काइसौँ शताब्दीसम्म देखिएका विभिन्न स्वरूपबारे चर्चा गरेका छन् । फासीवादलाई कसरी चिन्ने भन्ने प्रश्नमा विभिन्न विद्वान्ले गरेका विमर्शलाई आधार बनाएर त्यसका मूल प्रवृत्ति पहिल्याइएको छ ।
विभिन्न खण्डमा विभाजन गरिएको यस पुस्तकमा सामूहिक उन्मादको मनोविज्ञान, इटालीको फासीवाद र जर्मनीको नाजीवाद, अडोल्फ हिटलरको उदय, यहुदी नरसंहार र जर्मन समाजमा नाजीवादी प्रभाव विस्तारका कारण, फासीवादको ऐतिहासिकता र पुँजीवादसँगको सम्बन्ध, श्वेत श्रेष्ठतावाद र अमेरिकी राजनीतिक संरचना, प्यालेस्टाइन–इजरायल द्वन्द्वबारे विश्लेषण गरिएको छ । यसका साथै नेपाली राजनीति र समाजभित्र देखिएका फासीवादी प्रवृत्तिबारे चर्चा गरिएको छ ।
लेखक महर्जनले पुस्तक कुनै ‘मोनोग्राफ’ नभई फासीवादी विचार र व्यवहारलाई चिन्न सक्ने वैचारिक दृष्टिकोण निर्माण गर्ने विभिन्न समयको प्रयास भएको बताएका छन् । ‘फासीवादको चिरफार गर्न थप अध्ययन र विमर्श आवश्यक छ,’ पुस्तकको भूमिकामा उनले उल्लेख गरेका छन् ।
यसअघि महर्जनका ‘चे ग्वेभारा’, ‘समाजवादको सपना’ ‘सिलु म्ये र सामाजिक प्रतिरोध’ लगायत पुस्तक प्रकाशित छन् । उनले ‘मूल्यांकन’, ‘नवयुवा मासिक’, ‘विकास पत्रिका’, ‘रूपान्तरण : समाज अध्ययन जर्नल’ र ‘मधेश अध्ययन जर्नल’ को सम्पादनसमेत गरेका छन् ।
विश्वभर दक्षिणपन्थी राष्ट्रवाद, धार्मिक ध्रुवीकरण र लोकप्रियतावादी राजनीतिको प्रभाव बढिरहेका बेला प्रकाशित ‘उन्माद ः फासीवाद मन्थन’ ले नेपाली भाषामा फासीवादमाथिको बहसलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ ।
राजनीतिशास्त्र, समाजशास्त्र र समकालीन वैचारिक बहसमा रुचि राख्ने पाठकका लागि रुचिकर रहने यो पुस्तक इन्डिगो इन्क प्रा.लि.ले प्रकाशन गरेको हो । ४८० पृष्ठको यस पुस्तकको मूल्य ११९९ रुपैयाँ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहद्वारा मकालु बेस क्याम्प ट्रेकको प्रचार
-
गण्डकीमा एक लाख ४१ हजार बढी ट्राफिक कारबाही, रु १२ करोड ६९ लाख राजस्व सङ्कलन
-
८ पेगको नसामा जावेद अख्तरले ९ मिनेटमै लेखेका थिए यो कालजयी गजल
-
पाराग्वेका अल्मिरोनलाई मुख छोपेर बोलेको आरोपमा रातो कार्ड, नयाँ नियमपछि पहिलो घटना
-
सातै प्रदेशमा ‘ब्लु बस’ सञ्चालनको तयारी
-
ट्राफिक कारबाहीमा एकैदिन १९ लाख ६० हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण