शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

चितवनमा ६० करोड लगानीमा दुई नयाँ उद्योगको शिलान्यास

शनिबार, ०६ असार २०८३, १३ : २३
शनिबार, ०६ असार २०८३

सारांश

  • पूर्वी चितवनको रत्ननगर नगरपालिकामा कोरियन लगानीको एसवाई प्यानलद्वारा करिब ६० करोड रुपैयाँको लागतमा दुई नयाँ उद्योगको शिलान्यास गरिएको छ।
  • एसवाई युपिभिसी तथा एसवाई कस्मेटिक उद्योगको शिलान्यास रत्ननगर नगरपालिकाका मेयर प्रह्लाद सापकोटा र कम्पनीका कार्यकारी प्रमुख होङ सङ बु ले गरेका हुन्।
  • दुवै उद्योगको निर्माण ६ महिनाभित्र सम्पन्न गरी युपिभिसीबाट ६ प्रकारका सामग्री र कस्मेटिक उद्योगबाट १८ प्रकारका सौन्दर्य सामग्री उत्पादन गर्ने लक्ष्य छ।

चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिका–१४ पिठुवामा कोरियन लगानीको कम्पनी एसवाई प्यानलद्वारा करिब ६० करोड रुपैयाँको लागतमा दुई नयाँ उद्योगको शिलान्यास गरिएको छ।

रत्ननगर नगरपालिकाका मेयर प्रह्लाद सापकोटा र कम्पनीका कार्यकारी प्रमुख होङ सङ बु ले संयुक्त रूपमा एसवाई युपिभिसी तथा एसवाई कस्मेटिक उद्योगको शिलान्यास गरेका हुन्।

नगरपालिकाको लगानीमैत्री नीति र सहज प्रशासनिक वातावरणका कारण कम्पनीले थप लगानी विस्तार गरेको जनाइएको छ। कम्पनीले यसअघि नै आईपिओमार्फत पुँजी सङ्कलन गरिसकेको छ, जसको उपयोग गरी नयाँ उद्योग सञ्चालनमा ल्याइने कार्यकारी प्रमुख होङले जानकारी दिए।

उनका अनुसार दुवै उद्योगको निर्माण कार्य आगामी ६ महिनाभित्र सम्पन्न गरी उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ। युपिभिसी उद्योगबाट झ्याल, ढोका तथा पार्टेसनसम्बन्धी ६ प्रकारका सामग्री उत्पादन गरिनेछ भने कस्मेटिक उद्योगबाट १८ प्रकारका सौन्दर्य सामग्री उत्पादन गरी बजारमा आपूर्ति गरिनेछ।

300b9c4a-d62a-4efb-b3a2-63a81f1fdc89

कम्पनीले अत्याधुनिक प्रविधि प्रयोग गरी अन्तर्राष्ट्रिय मापदण्डअनुसार गुणस्तरीय सामग्री सुलभ मूल्यमा उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ। साथै, स्वदेशमै उत्पादन वृद्धि गर्दै निर्यात प्रवर्द्धनमार्फत औद्योगिक विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

कम्पनीका निर्देशक अनिल सापकोटाले उद्योग सञ्चालनपछि स्थानीयस्तरमा रोजगारी सिर्जना, सीप विकास तथा आर्थिक गतिविधिमा उल्लेखनीय वृद्धि हुने बताए।

कार्यक्रममा प्रमुख अतिथि मेयर सापकोटाले उद्योगको सुरक्षा र आवश्यक सहयोगमा नगरपालिका प्रतिबद्ध रहेको जनाउँदै स्थानीय तथा विपन्न युवालाई रोजगारीमा प्राथमिकता दिन आग्रह गरे।

२०७४ सालमा पिठुवामा स्थापना भएको एसवाई प्यानलले हाल घर निर्माणसम्बन्धी सामग्री उत्पादन गर्दै नेपालसहित भारत र भूटानमा निर्यात गर्दै आएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप