उपत्यका बर्डफ्लुको ‘हटस्पट’ : ६ लाख कुखुरा र १० लाखभन्दा बढी अण्डा नष्ट
सारांश
- नेपालमा बर्डफ्लु सङ्क्रमण काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा तीव्र रूपमा फैलिएको छ ।
- यस प्रकोपका कारण हालसम्म करिब ६ लाख कुखुरा र १० लाख बढी अण्डा नष्ट गरिएको छ ।
- उपत्यकामा कुखुराको मासुको बिक्रीमा २० देखि ३० प्रतिशतले गिरावट आएको छ ।
काठमाडौँ । नेपालमा विगत केही समयदेखि देखापरेको घातक एभियन इन्फ्लुएन्जा अर्थात् बर्डफ्लु सङ्क्रमण काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लाहरूमा तीव्र रूपमा फैलिएको छ ।
विशेषगरी काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाहरू काठमाडौँ, ललितपुर र भक्तपुर यस सङ्क्रमणको मुख्य ‘हटस्पट’का रूपमा देखा परेको छ ।
पशु सेवा विभागका अनुसार व्यावसायिक रूपमा पालिएका कुखुराहरूमा मात्र नभई रैथाने तथा जङ्गली पक्षीहरू, विशेषगरी कागहरूमा समेत बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि यस पटकको प्रकोप थप जटिल र संवेदनशील बनेको छ । सरकारले सङ्क्रमण नियन्त्रणका लागि प्रभावित क्षेत्रहरूमा द्रुत प्रतिकार्य टोली परिचालन गरी सङ्क्रमित पक्षी, अण्डा र दाना नष्ट गर्ने कार्यलाई तीव्रता दिएको छ ।
तर सङ्क्रमणको दरमा सोचेजस्तो कमी आउन नसक्दा पोल्ट्री क्षेत्रले ठुलो आर्थिक नोक्सानी बेहोर्नुपरेको छ भने उपभोक्तामा बढेको त्रासका कारण बजारमा कुखुराको मासुको व्यापारमा समेत उल्लेख्य गिरावट आएको छ ।
कोशीबाट सुरु, काठमाडौंमा भयावह
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो बर्डफ्लु आउटब्रेक गत २०८२ साल चैत ४ गते कोशी प्रदेशको मोरङ जिल्लाअन्तर्गत सुन्दरहरैंचा–४ र उर्लाबारी–८ मा पुष्टि भएको थियो । त्यसयता विस्तारै देशका अन्य भागमा फैलिँदै गएको यो सङ्क्रमणले अहिले राजधानी काठमाडौँ उपत्यकालाई नराम्ररी गाँजेको छ ।
पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार हाल काठमाडौँ उपत्यका बर्डफ्लु सङ्क्रमणको केन्द्रविन्दु बनेको छ । यी तीनवटै जिल्लाका विभिन्न स्थानीय तहहरूमा यसको उपस्थिति तीव्र पाइएको छ । यसअघि नियन्त्रणमा आइसकेको दाबी गरिए पनि भाइरसको उत्परिवर्तनशील प्रकृति र वातावरणीय अनुकूलताका कारण सङ्क्रमण पुनः फैलिएको प्राविधिक विश्लेषण छ ।
_3dS8PpmBOZ.jpg)
महानिर्देशक दाहालले उपत्यकामा व्यावसायिक फार्महरूमा मात्र नभएर खुला रूपमा रहने जङ्गली पक्षीहरूमा पनि सङ्क्रमण देखिएकाले नियन्त्रण कार्य थप चुनौतीपूर्ण बनेको बताए । काठमाडौँका विभिन्न स्थानमा कागहरू मरेको फेला परेपछि गरिएको परीक्षणमा बर्डफ्लु पुष्टि हुनुले यो भाइरस समुदाय र वातावरणमा व्यापक भइसकेको सङ्केत गरेको उनले बताए । उपत्यकाबाहिर काभ्रेपलाञ्चोक र चितवनका केही व्यावसायिक फार्महरूमा समेत सङ्क्रमण पुष्टि भएको छ । यद्यपि हालसम्मको तथ्यांकअनुसार कुल सङ्क्रमणको ९० प्रतिशतभन्दा बढी हिस्सा उपत्यकाभित्रै केन्द्रित रहेको देखिन्छ ।
१० लाख बढी अण्डा र ६ लाख कुखुरा नष्ट
यस बर्डफ्लु प्रकोपका कारण नेपालको पोल्ट्री व्यवसायले इतिहासकै ठुलो क्षतिमध्ये एक बेहोर्नुपरेको छ । सरकारले जारी गरेको बर्डफ्लु नियन्त्रण नियमावली अनुसार सङ्क्रमण पुष्टि भएको क्षेत्रको निश्चित परिधिभित्र रहेका सम्पूर्ण पक्षी, अण्डा, दाना र अन्य सङ्क्रमित सामग्रीहरू नष्ट गर्नुपर्ने कानुनी व्यवस्था छ । सोही व्यवस्थाअनुसार विभागले ठुलो परिमाणमा जैविक नष्टीकरणको कार्य अघि बढाएको छ ।
महानिर्देशक दाहालका अनुसार हालसम्म देशैभर गरी करिब ५ लाख ५० हजारदेखि ६ लाख गोटा कुखुरा तथा अन्य पक्षीहरू नष्ट गरिसकिएको छ । विगतको तथ्यांकमा निरन्तर नयाँ सङ्क्रमित क्षेत्रहरू थपिने क्रम जारी रहेकाले यो सङ्ख्या ६ लाखको हाराहारी पुगेको हो । यसैगरी सङ्क्रमण फैलिन नदिन १० लाखभन्दा बढी अण्डा र करिब २ सय देखि ५ सय टनसम्म अर्थात् २ लाख ७ हजार केजीभन्दा बढी दाना र अन्य फिड सामग्रीहरू वैज्ञानिक विधिबाट नष्ट गरिएको छ ।
सङ्क्रमण पुष्टि हुनासाथ विभागको टोलीले सम्बन्धित फार्मलाई सिल गरी त्यहाँका पक्षी र अण्डा नष्ट गरेर सुरक्षित तरिकाले खाल्डो खनी पुर्ने काम गरिरहेको उनले स्पष्ट पारे ।
फर्मको कुखुरा भन्दा लोकल कुखुराले बढाउँदैछ बर्डफ्लु
उपत्यकाका भित्री सहरी क्षेत्रभन्दा पनि काँठ क्षेत्र तथा सहरोन्मुख इलाकाहरू जहाँ जैविक सुरक्षाको अवस्था तुलनात्मक रूपमा कमजोर छ, त्यस्ता क्षेत्रमा बर्डफ्लु बढी देखिएको पशु सेवा विभागको विश्लेषण छ । ‘काठमाडौँ जिल्लाका बुढानीलकण्ठ, शङ्खरापुर, गोकर्णेश्वर, टोखा, चन्द्रागिरि, कीर्तिपुर र काठमाडौँ महानगरपालिकाका केही बाहिरी क्षेत्रहरू बढी प्रभावित भएका छन्,’ विभागका महानिर्देशक दाहाल भन्छन् ।
भक्तपुर जिल्लाका सल्लाघारी, चाँगुनारायण र सूर्यविनायक क्षेत्रका फार्महरूमा सङ्क्रमण तीव्र पाइएको छ भने ललितपुरको गोदावरी र इमाडोल क्षेत्रका विभिन्न व्यावसायिक तथा घरेलु फार्महरू यसको चपेटामा परेका छन् । उपत्यकाबाहिर काभ्रेपलाञ्चोकको बनेपा र आसपासका केही क्षेत्रमा पनि यसको प्रभाव देखिएको छ ।
विभागका अनुसार सहरी क्षेत्रका तुलनामा ग्रामीण तथा काँठ क्षेत्रमा किसानहरूले व्यावसायिक कुखुरापालन र रैथाने स्थानीय कुखुरापालन सँगसँगै गर्ने गरेकाले सङ्क्रमण सहजै फैलिएको पाइएको छ ।
‘धेरै ठाउँमा किसानहरूले व्यावसायिक फार्मको छेउमै थोरै सङ्ख्यामा स्थानीय कुखुरा पनि पाल्ने गरेका छन्, जो बाहिर चर्न जाँदा जङ्गली चरा वा कागको सम्पर्कमा आउँछन् र भाइरस लिएर फार्मभित्र फर्कन्छन्, जसले गर्दा व्यावसायिक रूपमा पालिएका कुखुरामा पनि द्रुत गतिमा सङ्क्रमण फैलिन पुगेको छ । कागहरूले फार्मभित्रको चारो खाने वा त्यहाँ पानी पिउने क्रममा आफ्नो र्याल वा सुलीमार्फत भाइरस सारेको प्राविधिक विश्लेषण छ,’ महानिर्देशक दाहालले रातोपाटीसँग भने ।

३० प्रतिशतले घट्यो कुखुराको मासु बिक्री
बर्डफ्लु बढेसँगै उपभोक्तामा बढेको मनोवैज्ञानिक त्रासको सीधा असर कुखुराको मासु व्यवसायमा परेको छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी सङ्घका अध्यक्ष जंगबहादुर बीसीका अनुसार बर्डफ्लुका कारण हाल काठमाडौँ उपत्यकामा कुखुराको मासुको खपत २० देखि ३० प्रतिशतसम्मले गिरावट आएको छ । काठमाडौँ उपत्यका नेपालकै सबैभन्दा ठुलो कुखुराको मासु खपत हुने क्षेत्र हो । जहाँ सामान्य अवस्थामा दैनिक करिब ३ लाख केजी मासुको माग हुने गर्दछ ।
‘बर्डफ्लुको त्रासका कारण यो मागमा २० देखि ३० प्रतिशतले कमी आउँदा दैनिक ६० हजारदेखि ९० हजार केजीसम्म मासुको खपत कम भएको छ । अहिले उपत्यकामा दैनिक २ लाख १० हजारदेखि २ लाख ४० हजार केजीको हाराहारीमा मात्र मासुको बिक्री–वितरण भइरहेको छ,’ बीसीले भने । उनले उपत्यकाबाहिरका जिल्लाहरूमा भने व्यवसाय र खपत सामान्य रूपमै चलिरहेको बताए ।
व्यवसायीले लापरबाही गरेको छैन
रोग नियन्त्रणका सन्दर्भमा सरकार र व्यवसायी दुवैले आफ्नो ठाउँबाट जिम्मेवारीपूर्वक काम गरिरहेको र यसमा कसैको लापरवाही नरहेको व्यवसायीहरूको दाबी छ । अध्यक्ष बीसीले जहाँ–जहाँ सङ्क्रमण देखिएको छ, त्यहाँ नियन्त्रण गर्ने र सङ्क्रमित पक्षीहरूलाई नष्ट गर्ने काम नियमित रूपमा भइरहेको स्पष्ट पारे । बर्डफ्लु प्रत्येक वर्ष वा केही वर्षको अन्तरालमा आउने प्राकृतिक समस्या जस्तै बनेकाले यसलाई पूर्ण रूपमा रोक्न समय लाग्ने भए पनि बजारमा सुरक्षित मासु मात्र पठाइने व्यवस्था मिलाइएको छ । बर्डफ्लु पुष्टि भएका फार्महरूलाई सरकारले तत्काल सिल गर्ने र त्यहाँका सम्पूर्ण पक्षीहरू नष्ट गर्ने भएकाले सङ्क्रमित क्षेत्रबाट बजारमा अस्वस्थकर मासु आउने सम्भावना रहँदैन ।
विभागका महानिर्देशक दाहालले पनि बर्डफ्लु लागेपछि कुखुराहरू आफैँ मर्ने र रोग लुकाउँदा सिङ्गो फार्म नै सखाप हुने भएकाले किसानहरूले रोग लुकाउने नगरेको बताए । ‘फार्ममा अलिकति पनि शंकास्पद रूपमा कुखुरा मर्न थाले भने किसान आफैँले विभाग वा स्थानीय भेटेरिनरी अस्पतालमा खबर गर्ने गरेका छन्,’ उनी थप्छन्, ‘बजारमा सङ्क्रमित मासु पठाउने सम्भावना न्यून रहेको र सङ्क्रमण पुष्टि भएका फार्महरूलाई तत्काल सिल गरिने भएकाले बजारमा पाइने मासु र अण्डाका विषयमा उपभोक्ताहरू धेरै त्रसित हुनुपर्ने अवस्था छैन,’ दाहालले भने ।
बर्डफ्लु भाइरस जनस्वास्थ्यका दृष्टिकोणले अत्यन्तै संवेदनशील मानिने भए पनि हालको सङ्क्रमणका क्रममा नेपालमा मानिसमा बर्डफ्लु सरेको कुनै पनि घटना पुष्टि भएको छैन । विभागले हरेक पटक कुनै फार्ममा बर्डफ्लु पुष्टि हुनासाथ स्वास्थ्य मन्त्रालयलाई तुरुन्त जानकारी गराउने गरेको छ र स्वास्थ्य मन्त्रालयको टोलीले सङ्क्रमित फार्मका सञ्चालक, कामदार र आसपासका बासिन्दाहरूको स्वास्थ्य परीक्षण तथा निगरानी गरिरहेको छ ।
पशु स्वास्थ्यविद्हरूका अनुसार यो भाइरस बढी तापक्रममा बाँच्न नसक्ने भएकाले उपभोक्ताहरूले सामान्य सचेतता अपनाएर कुखुराको मासु र अण्डा उपभोग गर्न सक्छन् । कुखुराको मासु वा अण्डा खाँदा कम्तीमा ७० डिग्री सेल्सियस तापक्रममा राम्ररी पकाएर मात्र खानुपर्ने र मासु काट्ने ठाउँ, चक्कु र भाँडाकुँडालाई सफा राख्नुपर्ने सुझाव विभागले दिएको छ ।
संक्रमणमा कमी नआएपछि रणनीतिक योजना बनाउँदै विभाग
यस पटकको सङ्क्रमणको दरमा सोचेजस्तो कमी नआएपछि पशु सेवा विभागले थप कडा कदम चाल्ने तयारी गरेको छ । यसका लागि सरोकारवाला निकायहरूसँग समन्वय गरी उच्चस्तरीय छलफल र समीक्षा बैठक बस्ने तयारी भइरहेको छ । महानिर्देशक दाहालले उपलब्ध सबै संयन्त्र प्रयोग गरेर नियन्त्रणको प्रयास भइरहेको भए पनि भाइरस लामो समयसम्म वातावरणमा टिकिरहने प्रकृतिको देखिएकाले थप रणनीतिक योजना आवश्यक भएको बताए ।
यसका लागि कृषि तथा पशुपक्षी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, गृहमन्त्रालय र सुरक्षा निकायका प्रतिनिधिहरूसँग समन्वय गरी संयुक्त समीक्षा बैठक बस्ने तयारी गरिएको छ । काठमाडौँको सदर चिडियाखाना तथा अन्य राष्ट्रिय निकुञ्जहरूमा रहेका दुर्लभ चराचुरुङ्गीहरूलाई जोगाउन वन तथा वन्यजन्तु प्रशासनसँग समन्वय गरी विशेष सतर्कता अपनाइएको छ । बर्डफ्लु पशुपक्षीबाट मानिसमा समेत सर्न सक्ने सम्भावना भएको रोग भएकाले स्वास्थ्य मन्त्रालयको महामारी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग मिलेर मानव स्वास्थ्य निगरानी बढाउने कार्यलाई तीव्रता दिइएको छ ।
नेपालमा विगतमा पनि बर्डफ्लु देखिने गरेको भए पनि यस पटकको सङ्क्रमणको स्वरूप र फैलावट अलि फरक पाइएकाले विभागले भाइरसको उत्परिवर्तन वा नयाँ भेरियन्टको सम्भावनाबारे अध्ययन सुरु गरेको छ । भाइरसले आफ्नो प्रकृति बदलेको छ कि छैन भनेर पत्ता लगाउन जेनेटिक सिक्वेन्सिङ गर्ने प्रक्रिया अघि बढाइएको महानिर्देशक दाहालले बताए । ‘यसका लागि दक्षिण एसियाली क्षेत्रीय समन्वय संयन्त्र र आन्तरिक प्रयोगशालाहरू सक्रिय पारिएको छ र वैज्ञानिक परीक्षणको रिपोर्ट आएपछि यसको वास्तविक स्वरूप स्पष्ट हुनेछ,’ उनले भने ।
बर्डफ्लु रोक्न के गर्दै छ विभाग ?
विगतको अनुभवका आधारमा कुनै पनि क्षेत्रमा बर्डफ्लु पूर्ण रूपमा नियन्त्रणमा आउन कम्तीमा डेढ महिना अर्थात् ४५ दिन लाग्ने गर्दछ । उपत्यकामा सङ्क्रमण सुरु भएको केही हप्ता भइसकेकाले अबको केही समयभित्रै यो विस्तारै घट्ने क्रममा जाने अनुमान विभागको छ । उपत्यकामा आवतजावत पूर्ण रूपमा बन्द गरेर मात्र रोग नियन्त्रण गर्न खोज्दा त्यसले आर्थिक र सामाजिक रूपमा ठुलो समस्या निम्त्याउने भएकाले विभागले व्यावहारिक कठिनाइहरूलाई ध्यानमा राख्दै नाकाहरूमा पशु क्वारेन्टाइनलाई थप चुस्त बनाएको छ ।
उपत्यका भित्रिने पशुपक्षीजन्य सामग्रीको परीक्षणमा कडाइ गरेको छ । हावा र जङ्गली चराको माध्यमबाट फैलिने रोग भएकाले यसलाई पूर्ण रूपमा थुन्न गाह्रो भए पनि सङ्क्रमणले आफ्नो उच्च विन्दु लिइसकेकाले अबका दिनमा यो विस्तारै ओरालो लाग्ने प्रक्षेपण गरिएको छ ।
‘पशु सेवा विभागले बर्डफ्लु नियन्त्रणका लागि आफ्नो क्षमताले भ्याएसम्मका प्रयासहरू गरिरहेको छ र क्षति बेहोरेका किसानहरूलाई सरकारले तोकेको मापदण्ड अनुसार राहत वा क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था मिलाइएको छ,’ महानिर्देशक डा. दाहालले भने ।
_bAVeuM4IVZ.webp)
फैलिन नदिन के गर्ने ?
रोग अन्यत्र फैलिन नदिन र फार्म तथा घरपालुवा पक्षीलाई बर्डफ्लुबाट जोगाउन पशु सेवा विभागले आम जनसमुदाय र व्यवसायीहरूलाई विभिन्न सुरक्षा उपायहरू अपनाउन विशेष आग्रह गरेको छ । पक्षी फार्ममा अनावश्यक व्यक्तिहरू र सवारी साधनहरूलाई प्रवेश गराउन पूर्ण रोक लगाउनुपर्ने बताइएको छ ।
‘फार्म परिसरभित्र सवारी साधन वा व्यक्ति प्रवेश गराउनै पर्ने भएमा पूर्ण रूपमा निसङ्क्रमण गरेर मात्र प्रवेश गराउनुपर्छ भने एउटा फार्ममा काम गर्ने कामदार वा व्यक्ति अर्को फार्ममा जानु हुँदैन । प्रयोग भइसकेको अण्डा राख्ने कागजको क्रेट पुनः प्रयोग नगर्न र फार्म वा खोरको प्रवेशद्वारमा अनिवार्य रूपमा चुना वा निसङ्क्रामक औषधि राखिएको फुटबाथको व्यवस्था गरी प्रत्येक पटक प्रवेश गर्दा त्यसमा टेकेर वा स्प्रे गरेर मात्र भित्र जाने व्यवस्था मिलाउने’ विभागले भनेको छ ।
यसैगरी खोरभित्र प्रवेश गर्दा अनिवार्य रूपमा छुट्टै बुट र एप्रोन प्रयोग गर्ने, खोरभित्र र बाहिर दैनिक रूपमा निसङ्क्रामक औषधि छर्कने तथा फार्म परिसरभित्र कुकुर, बिरालो र मुसाजस्ता अन्य पशु वा जीवहरू प्रवेश गर्न नसक्ने गरी जैविक सुरक्षा बलियो बनाउनुपर्ने पशुसेवा विभागले अपिल गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीमा विवाद नभएको सन्देश दिने रवि–बालेनको प्रयास
-
‘एक निर्वाचन क्षेत्रः एक प्रमुख पर्यटकीय गन्तव्य’ अवधारणा कार्यान्वयन गर्दै बागमती
-
बङ्गलादेशमा डेङ्गु सङ्क्रमणमा वृद्धि : जुन महिनामा एक हजार ७०० भन्दा बढी सङ्क्रमित
-
तिलिचो भक्ति यात्रा सम्पन्न
-
हराएका प्राचीन महत्वका पूरातात्विक सम्पदा स्वदेश फिर्ता ल्याइयो
-
‘जाइन्ट किलर’ साउदीको चुनौती, दबाबमा स्पेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण