मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते

सोमबार, ०८ असार २०८३, २१ : १९
सोमबार, ०८ असार २०८३

नवलपुर ।  पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका-१० पितौजीमा आज साँझ इभी हाइस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

पोखराबाट कृष्णनगर कपिल्बस्तुतर्फ जाँदै गरेको बागमती प्रदेश ०२-०३ च १२०५ नम्बरको विद्युतीय सवारी (इभी) हाइस अनियन्त्रित भई सडकमा पल्टिएको थियो । दुर्घटनापछि सशस्त्र प्रहरी बलको टोली तत्काल घटनास्थल पुगेर उद्धारकार्य गरेको थियो ।

सशस्त्र प्रहरी नायब उपरीक्षक लक्ष्मण बरालको कमाण्डमा खटिएको १५ सदस्यीय टोलीले हाइसमा सवार नौ जनामध्ये आठ जना घाइतेको उद्धार गरी उपचारका लागि चितवन मेडिकल कलेज, भरतपुर पठाइएको जनाएको छ । दुर्घटनामा कपिलवस्तुको कृष्णनगर नगरपालिका-२ निवासी २७ वर्षीया श्रद्धा अग्रवाल र १५ महिनाका नौसद रिसिङ अग्रवाल गम्भीर घाइते भएका प्रहरी नायब उपरीक्षक बरालले जानकारी दिए ।

उनका अनुसार सवारी चालक कपिलवस्तुको मायादेवी गाउँपालिका-२ निवासी २४ वर्षीय विष्णु घर्ती, कृष्णनगर नगरपालिका-२ का २६ वर्षीय ऋषभ अग्रवाल, २५ वर्षीया रिद्धिसिंह सिंहनिया, २३ वर्षीया सेरी सिंह, २७ वर्षीया शिवानी अग्रवाल र ३१ वर्षीय अरविन्द अग्रवाल घाइते भएका छन् । घटनास्थलमा अस्थायी प्रहरी पोष्ट बेल्डियाबाट प्रहरीको टोली खटिई दुर्घटनाग्रस्त सवारीसाधन नियन्त्रणमा लिएको छ । दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप