सत्तापक्षकै आक्रोशः बजेट मन्त्रीमुखी भयो
विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको वार्षिक बजेटप्रति प्रदेशसभामा सांसदहरूले आलोचना गरेका छन् ।
सोमबार बसेको प्रदेशसभा बैठकमा सांसदहरूले बजेट विनियोजन असन्तुलित रहेको र दलीय वा मन्त्रीमुखी प्राथमिकता भएको भन्दै आलोचना गरेका हुन् ।
सांसद प्रेमराज लिम्बूले चिया क्षेत्रलाई नसमेटिएको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले चिया निकासीको समस्या समाधानका लागि कूटनीतिक पहल गर्न र संघ सरकारको ध्यानाकर्षण गराउन प्रदेश सरकारलाई आग्रह गरे । उनले बजेटको कार्यान्वयनको विषयमा पनि संशय व्यक्त गरे । ‘बजेट विनियोजन हुनु मात्र ठुलो कुरा होइन, यो विनियोजित पक्ष, कार्यान्वयनको सुनिश्चितता, वैदेशिक पलायनले रित्तिँदै गरेका गाउँमा बजेटको सुनिश्चितता र सही कार्यान्वयन कसरी हुन्छ भन्ने कुरा महत्त्वपूर्ण हो,’ उनले भने ।
सांसद गीतादेवी रेग्मीले बजेटको प्राथमिकता र कार्यान्वयन क्षमतामा प्रश्न गरिन् । उनले कृषि आधुनिकीकरण, विद्यालय नर्सिङ कार्यक्रम र डिजिटल शिक्षाजस्ता कार्यक्रमले राम्रो गरेको बताइन् । यद्यपि किसानमैत्री बजेट नभएको उनको गुनासो थियो । ‘किसानले मकै उत्पादन गरेका छन्, तर बजार र उचित मूल्य पाएका छैनन् । किसानको मकै बारीमै कुहिने अवस्था छ । कृषि मन्त्रालयको बजेट समग्र मन्त्रालयमध्ये निकै कम छ । उत्पादन गर्नुभन्दा पहिले नै वस्तुको न्यूनतम मूल्य निर्धारण र बजार व्यवस्थापन नहुने हो भने किसानहरू पलायन हुने क्रम रोकिँदैन,’ उनले भनिन् ।
सांसद राजेन्द्र कार्कीले प्रदेशको विद्यमान विकास मोडेल र बजेट विनियोजनको सन्तुलनमाथि प्रश्न गरे । ‘यो कस्तो खालको बजेट हो ? आज गाउँहरू खाली भइरहेका छन्, युवाहरू विदेश पलायन भइरहेका छन् । गाउँमा आगो बाल्ने र थानो सुताउने मान्छे छैनन् । हामीले पूर्वाधारका नाममा बाटो मात्र बनाएर कसका लागि बनाउँदैछौँ ? के हो यो,’ उनले आक्रोश व्यक्त गरे ।
अर्का सांसद खड्ग बहादुर बस्नेतले आफ्नो क्षेत्रमा बजेट नपारिएको भन्दै असन्तुष्टि व्यक्त गरे । प्रदेश संरचना र बजेट निर्माणको प्रक्रियामाथि कटाक्ष गर्दै बस्नेतले प्रदेशको औचित्य र महत्त्व बुझाउन ठोस कार्यक्रम आउनुपर्ने र खुद्रे योजनामा बजेट छर्ने प्रवृत्ति रोकिनुपर्नेमा जोड दिए ।
सांसद डोल्मा तामाङले बजेटको प्राथमिकता र विनियोजनमा रहेको रित्तो गाउँका सडकमा गाडी गुडाएर मात्र समृद्धि नआउने बताइन् । सांसदहरुले गाउँघरमा युवा जनशक्ति नरहेको र केवल वृद्धवृद्धा रहेको, बाँदरको जगजगी रहेको जस्ता विषयमा सरकारको आलोचना गरे ।
सांसद राधाकृष्ण खनालले पनि बजेट वक्तव्य र रातो किताबमा फरक परेको भन्दै बजेटको आलोचना गरे । ‘यस्तो पाराले आगामी वर्षका लक्ष्यहरू कसरी हासिल हुन सक्छन् ?,’ उनले प्रश्न गरे, ‘बजेट वक्तव्य सुन्दा निकै आकर्षक र सकारात्मक लाग्छ, तर रातो किताब प्राप्त गरेर हेर्दा ती घोषणाहरू र प्रतिबद्धता अनुरूप बजेट विनियोजन भएको देखिँदैन । पुल वा ठूला योजनाका लागि १०–१५ लाख मात्र विनियोजन गर्ने प्रवृत्तिले योजनाहरू अलपत्र पर्छन् र यसले नागरिकको अपेक्षा पूरा गर्न सक्दैन ।’
त्यस्तै, सांसद डोल्मा तामाङले वक्तव्य सुन्दा निकै राम्रो र आकर्षक लागे पनि रातो किताब हेर्दा ती घोषणाहरू अनुरूप बजेट नआएको बताइन् । कलभर्ट निर्माणका नाममा बजेट सक्ने प्रवृत्तिले गुणस्तरीय काम हुन नसकेको उनको टिप्पणी थियो ।
प्रदेशको मेरुदण्ड मानिएको कृषि क्षेत्रलाई बजेटले उचित सम्बोधन गर्न नसकेको सांसदहरुले बताए । सांसदहरूले बजेट केवल मन्त्रीहरूको क्षेत्रकेन्द्रित भएको भन्दै आलोचना गरे ।
सांसद नरायण बुर्जा मगरले प्रदेशको आन्तरिक शान्ति सुरक्षा र नागरिकका आधारभूत आवश्यकता विषयमा सरकारको ध्यानाकर्षण गराए । ‘प्रदेशका विभिन्न संवेदनशील क्षेत्रमा स्थापना गरिएका अस्थायी प्रहरी चौकीहरूमा सवारी साधनको चरम अभाव छ ।
सुरक्षाकर्मीहरूलाई कार्यसम्पादनमा सहजता ल्याउन कम्तीमा दुईपाङ्ग्रे सवारी साधन (मोटरसाइकल) को व्यवस्था तत्काल गरिनुपर्छ,’ उनले भने । मगरले विपन्न नागरिकका लागि ल्याइएको ‘कोशी जनता आवास कार्यक्रम’ को कार्यान्वयन पक्ष अत्यन्तै सुस्त र फितलो भएको टिप्पणी गर्दै आवास निर्माण र वितरण प्रणालीलाई व्यवस्थित बनाउन सरकारसँग आग्रह गरे ।
सांसद डोल्मा तामाङले पर्यटन क्षेत्रको बजेट विनियोजनमा भौगोलिक विभेद भएको गुनासो गरिन् । ‘सगरमाथाको देश भनेर गर्व गर्ने कोशी प्रदेश सरकारले सोलुखुम्बु र सगरमाथा क्षेत्रको पर्यटन पूर्वाधार विकासमा पर्याप्त ध्यान दिन सकेको छैन । पर्यटनको प्रचुर सम्भावना भएका क्षेत्रहरू ओझेलमा परेका छन् भने पहुँचका आधारमा सम्भावना नभएका ठाउँमा बजेट छरिएको छ,’ उनले भनिन् ।
उनले महिला सशक्तीकरणका लागि ल्याइएका कतिपय कार्यक्रम सकारात्मक भए पनि विद्यालय तहमा खेलकुद र अन्य आवश्यक पूर्वाधारको अभाव हुँदा ती कार्यक्रमको पूर्ण प्रतिफल आउन नसक्ने बताइन् । प्रदेशसभाको बैठक आगामी मंगलबार पुनः बस्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण