मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फिफा विश्वकप २०२६

मेस्सीले दुई खेलमा पाँच गोल गरेसँगै ७८ वर्षअघिको त्यो चुनौतीपूर्ण रेकर्डतिर फुटबलप्रेमीकाे ध्यान

रेकर्डधारी जस्ट फोन्टेनको रोचक तथ्य
मङ्गलबार, ०९ असार २०८३, १२ : ३०
मङ्गलबार, ०९ असार २०८३

सारांश

  • जारी फिफा विश्वकप २०२६ मा अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले सुरुवाती दुई खेलमा पाँच गोल गर्दै ७८ वर्ष पुरानो कीर्तिमानतर्फ ध्यान खिचेका छन् ।
  • सन् १९५८ को विश्वकपमा फ्रान्सका जस्ट फोन्टेनले जम्मा ६ खेलमा १३ गोलको कीर्तिमान राखेका थिए, जुन पेनाल्टी बिनाको थियो ।
  • मेस्सीले यो रेकर्ड तोड्नका लागि अझै ९ गोल गर्नुपर्नेछ, तर बाँकी खेलहरू र अर्जेन्टिनाको बलियो स्थितिका कारण यो असम्भव नहुने देखिएको छ ।

काठमाडौँ । जारी फिफा विश्वकप २०२६मा अर्जेन्टिनी कप्तान लियोनल मेस्सीको प्रदर्शन लोभलाग्दो देखिएको छ ।

प्रतियोगिताका सुरुवाती दुई खेलमा गरी अर्जेन्टिनाले जम्मा ५ गोल गरेको छ । ती पाँचै गोल मेस्सीले गरेका हुन् ।

५ गोल गरेपछि मेस्सीले जर्मनीका मिरोस्लाभ क्लोजको १६ गोलको सर्वकालीन कीर्तिमानलाई त तोडे नै, सँगै फुटबल इतिहासकै सबैभन्दा कठिन मानिएको एउटा ७८ वर्ष पुरानो कीर्तिमानतर्फ पनि सबैको ध्यान खिचेका छन् ।

त्यो रेकर्ड हो- सन् १९५८ को स्विडेन विश्वकपमा फ्रान्सका भेट्रान स्ट्राइकर जस्ट फोन्टेनले कायम गरेको ‘एउटै विश्वकपमा सर्वाधिक १३ गोल’ को कीर्तिमान ।

just fontaine

  • को थिए रेकर्डधारी जस्ट फोन्टेन ?

जस्ट फोन्टेनको जन्म सन् १९३३ मा मोरक्को (त्यसबेलाको फ्रान्सेली उपनिवेश) मा भएको थियो । उनी एक तीष्ण, तीव्र गतिका र अद्भूत फिनिसिङ क्षमता भएका स्ट्राइकर थिए । फ्रान्सेली क्लब रेम्सबाट व्यावसायिक फुटबल खेल्ने क्रममा उनले आफ्नो गोल गर्ने क्षमता प्रमाणित गरिसकेका थिए ।

तर, सन् १९५८ को विश्वकप अघि उनी फ्रान्सको टोलीका लागि पहिलो रोजाइका खेलाडी समेत थिएनन् । टोलीका मुख्य स्ट्राइकर रेने ब्लीयर्ड घाइते भएपछि मात्रै फोन्टेनले विश्वकप खेल्ने अप्रत्याशित अवसर पाएका थिए ।

  • अर्काको जुत्ता मागेर बनाएका थिए ‘अनब्रेकेबल’ रेकर्ड

सन् १९५८ को स्वीडेन विश्वकप सुरु हुनुअघि फोन्टेनको आफ्नै फुटबल बुट (जुत्ता) च्यातिएको थियो । त्यसबेला आजको जस्तो प्रायोजक वा जगेडा जुत्ता धेरै खेलाडीसँग हुन्थेन । उनले आफ्ना साथी खेलाडी स्टेफेन ब्रुएबाट जुत्ता मागेर विश्वकपका खेल खेलेका थिए ।

अर्काको जुत्ता मागेर मैदान उत्रिएका फोन्टेनले पहिलो खेलमै प्याराग्वेविरुद्ध ह्याट्रिक गरे । त्यसपछि उनले युगोस्लाभियाविरुद्ध २ गोल, स्कटल्याण्डविरुद्ध १ गोल गरेर समूह चरणमै ६ गोल गरेका थिए । यद्यपि युगोस्लाभियाविरुद्ध फ्रान्स पराजित भएको थियो ।

फोन्टेनले क्वाटरफाइनलमा उत्तरी आयरल्याण्डविरुद्ध २ गोल र सेमिफाइनलमा ब्राजिलविरुद्ध १ गोल गरे । त्यतिबेला पेलेको उदय भएको ब्राजिलसामू फ्रान्स निरीह बनेको थियो ।  

सेमिफाइनलमा हारेपछि तेस्रो स्थानका लागि भएको प्ले–अफमा पश्चिम जर्मनीविरुद्ध एक्लैले ४ गोल गर्दै फोन्टेनले ६ खेलमा १३ गोलको त्यो अद्भूत आँकडा खडा गरे, जुन आज ७८ वर्षसम्म पनि कसैले तोड्न सकेको छैन ।

justine f

  • फोन्टेनको कीर्तिमानसँग जोडिएका रोचक तथ्यहरू

१. पेनाल्टी बिनाको १३ गोल

आजकालका स्ट्राइकरहरूले धेरैजसो गोल पेनाल्टीमार्फत गरेर आफ्नो सङ्ख्या बढाउँछन् । तर जस्ट फोन्टेनले १९५८ को विश्वकपमा गरेका १३ वटा गोलमध्ये एउटा पनि गोल पेनाल्टीमा गरिएको थिएन । उनले गरेका सबै गोलहरू 'ओपन प्ले' अर्थात् मैदानको नियमित खेलका क्रममा भएका थिए ।

२. खेल सुरु हुनुभन्दा अघिसम्म टोलीमा ठाउँ थिएन

विश्वकप सुरु हुनुभन्दा ठिक अघिसम्म फोन्टेन फ्रान्सको मुख्य टोलीमा पर्ने कुरा निश्चित थिएन । उनी फ्रान्सका मुख्य स्ट्राइकर रेने ब्लीयर्डको ब्याकअप खेलाडीका रूपमा मात्र स्वीडेन गएका थिए । तर, विश्वकप सुरु हुन केही दिन बाँकी छँदा ब्लीयर्ड अभ्यासका क्रममा गम्भीर घाइते भएपछि भाग्यले फोन्टेनले सुरुवाती ११ मा मौका पाएका थिए ।

३. गोल्डेन बुटको सट्टा पुरस्कारमा राइफल

आजको समयमा विश्वकपका शीर्ष गोलकर्तालाई फिफाले भव्य गोल्डेन बुट अवार्ड दिन्छ । तर सन् १९५८ मा फिफाले आधिकारिक रूपमा यस्तो बुट दिने चलन सुरु गरिसकेको थिएन ।

त्यसैले, स्वीडेनको एउटा स्थानीय पत्रिकाले फोन्टेनलाई प्रतियोगिताको शीर्ष गोलकर्ता भएकोमा पुरस्कार स्वरूप सिकार गर्ने एउटा अनौठो राइफल उपहार दिएको थियो ।

४. पेलेसँगको त्यो ऐतिहासिक मित्रता

१९५८ को विश्वकप फ्रान्सका लागि जस्ट फोन्टेन र ब्राजिलका लागि १७ वर्षीय युवा पेलेको उदयका लागि चिनिन्छ । सेमिफाइनलमा ब्राजिलले फ्रान्सलाई हराए पनि फोन्टेन र पेलेबिच मैदानमा निकै राम्रो सम्बन्ध बनेको थियो । फोन्टेनले पछि अन्तरवार्ताहरूमा भनेका थिए, 'जब मैले पेलेलाई खेल्दै गरेको देखेँ, मलाई लाग्यो अब मैले बुटहरू भित्तामा झुण्ड्याए हुन्छ, किनकि फुटबलको नयाँ राजा आइसकेका छन् ।'

५. रेकर्डको बारेमा फोन्टेनको आफ्नै भनाइ

आफ्नो रेकर्ड कहिल्यै नटुट्ने बारेमा जस्ट फोन्टेन आफैँले सन् २०१४ को एउटा अन्तरवार्तामा रमाइलो टिप्पणी गरेका थिए । उनले भनेका थिए, 'मेरो रेकर्ड तोड्नका लागि कुनै खेलाडीले एउटै विश्वकपका ७ खेलमा प्रत्येक खेलमा औषत २ गोल गर्नुपर्छ । आधुनिक फुटबलमा यो असम्भव जस्तै छ । मलाई लाग्छ यो रेकर्ड सधैँका लागि मेरै नाममा रहनेछ ।'

६. एउटै मात्र विश्वकपको अवसर

जस्ट फोन्टेनको यो कीर्तिमान जति महान छ, यसको अर्को पाटो उत्तिकै निराशाजनक छ । इतिहासकै सबैभन्दा घातक लयमा रहेका फोन्टेन र उनको टोली फ्रान्स त्यो विश्वकपको फाइनलसम्म पनि पुग्न सकेनन् ।

सेमिफाइनलमा फ्रान्सको भेट १७ वर्षीय पेले चम्किएको बलियो ब्राजिलसँग भयो । फ्रान्सका डिफेन्डर रोबर्ट जोन्क्वेट घाइते भएर मैदान छाड्नु परेपछि (त्यसबेला खेलाडी सब्सटिच्युट गर्ने नियम थिएन) १० खेलाडीमा खुम्चिएको फ्रान्स ब्राजिलसँग ५–२ ले पराजित भयो । फोन्टेनको टोलीले फाइनल खेल्न पाएन र तेस्रो स्थानमै चित्त बुझाउनु पर्‍यो ।

त्यसभन्दा पनि ठुलो निराशा त उनको करियरमा आउन बाँकी नै थियो । विश्वकप लगत्तै फोन्टेन पटक–पटक गम्भीर चोट (खुट्टा भाँचिने समस्या) को सिकार भए । सन् १९५८ को विश्वकपमा विश्वलाई स्तब्ध पारेका यी खेलाडीले चोटकै कारण सन् १९६२ मा मात्र २८ वर्षको उमेरमा फुटबलबाट सन्न्यास लिन बाध्य भए ।

यसको परिणाम इतिहासकै घातक स्ट्राइकरले आफ्नो जीवनमा मात्र एउटा विश्वकप खेल्न पाए । उनले न दोस्रो विश्वकप खेल्ने मौका पाए, न त विश्वकपको ट्रफी नै उचाल्न सके । तर, आफ्नो एकमात्र सहभागितामा उनले छोडेर गएको १३ गोलको त्यो विरासत आज पनि फुटबल इतिहासको सबैभन्दा अग्लो धरोहरका रूपमा ठिंग उभिएको छ ।

  • मेस्सीमा आशा देखिनुको कारण

हुन त जस्ट फोन्टेनको ७८ वर्ष पुरानो कीर्तिमान बराबर गर्न मेस्सीले अझै ९ गोल गर्नुपर्छ, जुन यति धेरै चुनौतीपूर्ण हो । सन् १९७० मा जर्मनीका गर्ड मुलरले १० गोल गरेपछि आजसम्म एउटै विश्वकपमा ९ गोल पनि कसैले गरेको छैन ।

२०२२ मा चम्किएका फ्रान्सका एम्बाप्पेले जम्मा ८ गोल गरेका थिए । त्यसअघि ब्राजिलका रोनाल्डोले मात्र एउटै खेलमा त्यति गोल गरेका थिए । मेस्सी आफ्नै नाममा ७ गोलको रेकर्ड छ ।

तर, जारी विश्वकपको समीकरण र अर्जेन्टिनाको बलियो स्थितिलाई हेर्दा मेस्सीलाई त्यो रेकर्ड तोड्न असम्भव नै भने नहुन सक्छ ।

१. बाँकी खेलहरूको अवसर

अर्जेन्टिनाले समूह चरणको अझै एक खेल खेल्न बाँकी छ । फिफा वरीयताको ६३ नम्बरमा रहेको जोर्डनसँग पहिलो नम्बरमा रहेको अर्जेन्टिनालाई खेल्न निकै सहज मानिएको छ ।

अर्कोतिर, उत्कृष्ट प्रदर्शनका साथ टोलीले नकआउट (अन्तिम ३२) को कम्तीमा एउटा खेल सुरक्षित गरिसकेको छ । समूह बिजेताको रूपमा जाने निश्चितजस्तै रहेको अर्जेन्टिना अब केप भर्डे वा उरूग्वेसँग खेल्ने सम्भावना छ ।

२. फाइनलसम्मको यात्रा र खेल सङ्ख्या

यदि अर्जेन्टिनाले आफ्नो गतिलाई कायम राख्दै जित्दै गयो भने मेस्सीले अन्तिम १६, क्वार्टरफाइनल (अन्तिम ८), सेमिफाइनल (अन्तिम ४) र फाइनल वा तेस्रो स्थानका लागि प्ले-अफ गरी थप ४ खेल खेल्न पाउनेछन् ।

३. प्रतिखेल औसत गोलको सम्भावना

मेस्सीले पहिलो २ खेलमै पाँच गोल गर्नु पनि विरलै देखिनेमध्ये एउटा घटना हो । अहिलेसम्म उनीबाहेक पाँच खेलाडीमात्रै यो सूचीमा छन् ।

हंगेरीका स्ट्राइकर सान्डोर कोकिसले सन् १९५४ मा पहिलो दुई खेलमा ७ गोल गर्नु बाहेक अन्य चार जनाले २ खेलमा पाँच गोल गरेका छन् । सन् २०१८ मा इङ्ल्यान्डका ह्यारी केनले यो सम्भव बनाउँदा त्यसअघि १९५८ मा मात्रै त्यो रेकर्ड थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप