मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
रास्वपा महाधिवेशन

कसैलाई पनि उम्मेदवारीबाट वञ्चित गराइँदैन : रवि लामिछाने

मङ्गलबार, ०९ असार २०८३, १६ : ००
मङ्गलबार, ०९ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीको महाधिवेशनमा नेतृत्व चयनका लागि कसैलाई पनि उम्मेदवारी दिनबाट वञ्चित नगराइने स्पष्ट पारेका छन् ।
  • उनले सांसद वा मन्त्री भइसकेका व्यक्तिलाई उम्मेदवार बन्न नदिने भन्ने हल्ला निराधार रहेको र पुराना तथा नयाँ साथीहरूलाई योग्यता अनुसार प्रतिस्पर्धा गर्ने अधिकार रहेको बताए ।
  • महाधिवेशनमा सहभागी प्रतिनिधिहरूको आर्थिक भार कम गर्न प्रतिनिधि शुल्कलाई ऐच्छिक बनाउने र मतभेदलाई छलफलमार्फत टुङ्ग्याउनुपर्नेमा उनले जोड दिए ।

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको महाधिवेशनमा नेतृत्व चयनका लागि कसैलाई पनि उम्मेदवारी दिनबाट वञ्चित नगराइने स्पष्ट पारेका छन् । 

चितवनमा जारी पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनको बन्दसत्रलाई मङ्गलबार सम्बोधन गर्दै उनले सांसद वा मन्त्री भइसकेका व्यक्तिलाई उम्मेदवार बन्न नदिने भन्ने हल्ला निराधार रहेको बताए ।

लामिछानेले पुराना र नयाँ सबै साथीहरूलाई आफ्नो योग्यता र क्षमता अनुसार प्रतिस्पर्धा गर्ने अधिकार रहेको उल्लेख गरे । पार्टीले कसलाई भोट हाल्ने वा नहाल्ने भन्ने विषयमा कुनै औपचारिक निर्णय नगरेको भन्दै उनले प्रतिनिधिहरूलाई आफ्नो विवेक प्रयोग गरेर नेतृत्व छान्न आग्रह गरे । रास्वपा 'ह्वीप' भन्दा पनि 'विवेक' ले चल्ने पार्टी भएको उनले दाबी गरे ।

महाधिवेशनमा सहभागी प्रतिनिधिहरूको आर्थिक भारलाई कम गर्न लामिछानेले प्रतिनिधि शुल्कलाई ऐच्छिक बनाउने घोषणा समेत गरे ।

पार्टीले तोकेको ५ हजार रुपैयाँ शुल्क तिर्न नसक्ने वा नचाहनेहरूले तिर्नु नपर्ने र तिरिसकेकाले पनि फिर्ता चाहेमा त्यसको व्यवस्था मिलाउन उनले निर्देशन दिए । प्रतिनिधिहरूलाई आर्थिक समस्याका कारण मतदान प्रक्रियाबाट बाहिरिनु पर्ने अवस्था आउन नदिने उनले प्रतिबद्धता जनाए ।

पार्टीभित्रका मतभेद र असन्तुष्टिलाई सडकमा लैजानुको साटो छलफलमार्फत टुङ्ग्याउनुपर्नेमा लामिछानेले जोड दिए । उनले निर्वाचनका क्रममा प्यानल बनाएर वा समूहगत रूपमा प्रचार गर्ने कार्यलाई निरुत्साहित गरे । 'एक रास्वपा, एक घण्टी' को भावना अनुसार अघि बढ्न आग्रह गर्दै उनले स्वस्थ प्रतिस्पर्धाबाटै पार्टी परिपक्व हुने बताए ।

बन्दसत्रमा विभिन्न साङ्गठनिक र आर्थिक प्रतिवेदनहरूका साथै सभापतिको तर्फबाट राजनीतिक प्रतिवेदन प्रस्तुत हुने र त्यसमाथि छलफल भएपछि मात्र निर्वाचन प्रक्रिया सुरु हुने उनले जानकारी दिए।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप