मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
संसदीय दलकाे बैठक

एमालेको निष्कर्ष : विष्णु पौडेललाई गैरकानुनी, गैरन्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरियो

मङ्गलबार, ०९ असार २०८३, १८ : २५
मङ्गलबार, ०९ असार २०८३

सारांश

  • नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानुनी, गैरन्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरेको निष्कर्ष निकालेको छ ।
  • पौडेललाई अविलम्ब बिनाशर्त रिहाइ गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
  • सरकार तानाशाही र स्वेच्छाचारी बाटोमा हिँडिरहेकाले यसका विरुद्ध सदनबाट सङ्घर्ष गर्ने निर्णय समेत गरेको छ ।

काठमाडौँ । नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानुनी, गैरन्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरेको निष्कर्ष निकालेको छ । 

पार्टी कार्यालय च्यासलमा मङ्गलबार बसेको एमाले संसदीय दलको बैठकले पौडेललाई गैरकानुनी, गैरन्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पूर्वाग्रह ढङ्गले पक्राउ गरेको भन्दै भर्त्सना गरेको प्रमुख सचेतक ऐन महरले जानकारी दिए । 

पौडेललाई पक्राउ गर्नु कानुनी राज्य र विधिको शासनको बर्खिलापमा रहेकाले अविलम्ब बिनाशर्त रिहाइ गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको महरले बताए । 

फरक राजनीतिक विचार राख्ने पार्टीका नेता कार्यकर्ताहरूलाई शृङ्खलाबद्ध र योजनाबद्ध तरिकाले सरकारले प्रतिशोध साँधेको उनले बताए । 

सरकारको यस्तै रवैया जारी रहे त्यसबाट उत्पन्न हुनसक्ने परिस्थितिको जिम्मेवार स्वयं सरकार नै हुने उनले चेतावनी दिए। बैठकले सशक्त, रचनात्मक र एकदम जिम्मेवार प्रतिपक्षीको रूपमा सदनमा भूमिका खेल्ने र त्यसका लागि पार्टीसँग सहकार्य र समन्वय गर्ने प्रस्ताव पारित गरेको छ भने सरकार तानासाही र स्वेच्छाचारी बाटोमा हिँडिराखेकाले यसका विरुद्ध सदनबाट सङ्घर्ष गर्ने निर्णय समेत गरेको प्रमुख सचेतक महरले जानकारी दिए । 

बैठकले चिया निर्यातको समस्या समाधान गर्न, पेट्रोलियम पदार्थहरूको मूल्यवृद्धिका कारण उपभोग्य बस्तुमा भएको मूल्यवृद्धि नियन्त्रण गर्न समेत सरकारको ध्यानाकर्षण गराएको छ भने प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि राज्यका निकायहरूलाई तयारी अवस्थामा रहन र सहज रूपमा मलको व्यवस्था गर्न समेत सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको प्रमुख सचेतक महरले बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप