शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सुकुमबासी समस्या

खरिपाटी होल्डिङ सेन्टरका सुकुमबासीको आक्रोश– हामी गोली थाप्छौँ, तर होल्डिङ सेन्टर छोड्दैनौँ

शुक्रबार, १२ असार २०८३, १३ : ००
शुक्रबार, १२ असार २०८३

सारांश

  • खरिपाटी होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमबासीहरू सरकारले सेन्टर छाड्न चेतावनी दिएपछि आक्रोशित बनेका छन् ।
  • उनीहरूले सरकारले लालपुर्जाको व्यवस्था नगरेसम्म सेन्टर नछाड्ने अडान लिएका छन् र बल प्रयोग गरे गोली थाप्न तयार रहेको बताएका छन् ।
  • होल्डिङ सेन्टरमा बस्ने बालबालिकाको पढाइ ठप्प भएको र बिरामी तथा गर्भवती महिलाहरू जोखिममा परेको गुनासो छ ।

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका–७ खरिपाटीको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमबासीहरू सरकारप्रति आक्रोशित छन् । होल्डिङ सेन्टर छाड्न चेतावनी दिइएपछि उनीहरू आक्रोशित भएका हुन् ।

उक्त होल्डिङ सेन्टरमा बस्दै आएकी ६९ वर्षीय महिमा राई यसअघि बल्खुको सुकुमबासी बस्तीमा बस्थिन् । वैशाख १८ गते बल्खुको सुकुमबासी बस्तीमा डोजर चलेपछि उनको घर भत्कियो । ऋण लिएर बनाएको घर भत्किएपछि उनको सानो परिवार छिन्नभिन्न भयो ।

खरिपाटीको होल्डिङ सेन्टरमा एकल महिला महिमाले कठिन दिनहरू गुजारिन् । उनका एक छोरा र छोरी कोठा लिएर बाहिरै बसेपछि उनी सहाराविहीन बन्न पुगिन् । त्यसमाथि होल्डिङ सेन्टर छोड्न सरकारी सूचना टाँसिएपछि उनमा तनाव बढेको छ ।

‘हामीलाई घरबाट निकालियो, सडकमा पुर्‍याइयो । अब मर्नुको विकल्प छैन,’ महिमाले भनिन्, ‘सरकारले हामीलाई बाहिर निस्केर जाऊ भन्छ, तर हामी गोली थाप्न तयार छौँ, होल्डिङ सेन्टर छोड्दैनौँ ।’

भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा महिमाजस्तै २०७ जना सुकुमबासी छन् । उनीहरूमा छटपटी र तनाब बढेको छ । यस अस्थायी होल्डिङ सेन्टरमा आश्रय लिइरहेका ९८ परिवार बिचल्लीमा पर्ने त्रासमा बाँचिरहेका छन् ।

७० वर्षमा लागेकी मीना बस्नेतले श्रवण शक्ति गुमाइसकिन् । बल्खुस्थित टहरामा डोजर चल्दै गर्दा उनले ‘सामान निकाल्छु’ मात्र के भनेकी थिइन्, प्रहरीले कुटपिट गरिहाल्यो । त्यो बेला अलिअलि कान सुन्ने आफू कुटपिटपछि श्रवण शक्ति पूरै गुमेको उनले सुनाइन् । ‘होल्डिङ सेन्टरको शरणमा पुर्‍याइसकेपछि एक दिन पनि मेरो कानको उपचार भएन,’ उनले भनिन्, ‘ग्यास्टिकको औषधि खाइरहनु परेको छ ।’

भक्तपुरको खरिपाटीमा राखिएका सुकुमबासीहरूलाई सरकारले बाहिरिन अल्टिमेटम दिएपछि उनीहरू आक्रोशित बनेका छन् । यहाँ राखिएकामध्ये ३३ जना विद्यार्थी चाँगुनारायण नगरपालिका–७ बागेश्वरीस्थित बाल्मिकी आधारभूत विद्यालयमा अध्ययन गर्थे । बिहिबारदेखि विद्यार्थीहरू लिनका लागि स्कुल बस नै नआएपछि थप अन्योलता छाएको छ ।

WhatsApp Image 2026-06-25 at 19.48.59

सरकारले अस्थायी रूपमा बस्ने व्यवस्था गरे पनि दिगो समाधान दिन नसकेको सुकुमबासीहरूको गुनासो छ । सरकारले ‘कोठा खोजेर जाऊ, आफैँ व्यवस्था गर’ भन्दै सेन्टर खाली गर्न दबाब दिइरहेको उनीहरूको गुनासो छ । सेन्टरमा आश्रय लिइरहेका गर्भवती महिला, बिरामी र बालबालिकाहरू सबैभन्दा जोखिममा देखिएका छन् ।

‘हामी यहाँ रहरले बसेका होइनौँ । सरकारले लालपुर्जा दिने आश्वासनमा हामीलाई यहाँ राख्यो । अहिले पन्छिन खोज्दैछ,’ होल्डिङ सेन्टरमा रहेका पवन गुरुङले भने, ‘यस्तो अवस्थामा हामी कहाँ जाने ?’

फोक्सोमा पानी जमेको बताउने राजकुमार विकले आफ्नो उपचार नभएको गुनासो गरे । सरकारले सुकुमबासीलाई व्यवस्थापन नगरी जबर्जस्ती निकाल्न खोजेको आरोप लगाएका उनीहरू होल्डिङ सेन्टर बाहिर नजाने अडानमा छन् । यदि सरकाले बल प्रयोग गर्‍यो भने बरु गोली थाप्न तयार रहेको उनीहरू बताउँछन् ।

बल्खुको टहरा डोजरले भत्किएपछि माया घिसिङका लागि सरकारले दिएको यो आश्रय नै अन्तिम सहारा बनेको थियो । अहिले एकाएक सरकारले बाहिरिन दबाब दिएपछि एकैचोटि शून्यमा पुर्‍याएको महसुस भएको उनीहरू बताउँछन् ।

मायाका अनुसार सेन्टरमा बस्ने बच्चाहरूको पढाइ अहिले पूर्णतः ठप्प छ । सरकारले स्कुल पढ्ने वातावरण खोसिदिएको उनको गुनासो छ ।

सरकारले जबसम्म लालपुर्जाको व्यवस्था गर्दैन, तबसम्म आफूहरू यहाँबाट कतै नजाने मायाको स्पष्ट अडान छ । ‘यदि बलजफ्ती निकाल्न खोजिन्छ भने हामी यो ठाउँ छोड्न तयार छैनौँ । हाम्रो घर छैन भने हामीलाई ज्यानको पनि माया छैन,’ उनले भनिन् ।

सेन्टरमा आश्रय लिइरहेका अधिकांशले बाहिर कोठा खोज्न जाँदा ‘सुकुमबासी’ भएकै कारण घरबेटीहरूले कोठा नदिएको दुखेसो पोखे । कसैले दिइहाले पनि दोब्बर भाडा मागेका गुनासो गरेका छन् । सरकारले दिने भनेको २५ हजार रुपैयाँले सुकुमबासी समस्या हल नगर्ने उनीहरू बताउँछन् ।

सरकारले होल्डिङ सेन्टरमा राखेपछि व्यवस्थापन गर्ने दायित्व पनि सरकारकै भएको पवन गुरुङले बताए । ‘हामी सरकारी विरोधी होइनौँ, तर बिचल्ली बनाएर सडकमा धकेल्न खोज्यो भने हामी सङ्घर्षमा उत्रिन्छौँ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र रौले
नरेन्द्र रौले
लेखकबाट थप