शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय
नतिजा विवाद

शिक्षा मन्त्रीको दोहोरो कुराः एकातिर छानबिन समिति, अर्कोतिर ‘नतिजा त्रुटिहीन’ रहेको दाबी

२५ हजार परीक्षार्थीले दिए ‘रिटोटलिङ’का लागि आवेदन
शुक्रबार, १२ असार २०८३, १५ : ३०
शुक्रबार, १२ असार २०८३

सारांश

  • शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कक्षा १२ को नतिजा त्रुटिविहीन भने पनि प्रश्न उठेपछि छानबिन समिति गठन गरेका छन् ।
  • मन्त्री पोखरेलले नतिजा प्रक्रियाबारे आफूहरू स्पष्ट र विश्वस्त रहेको र आवश्यक जनशक्ति थप गरी समयमै नतिजा प्रकाशित गरिएको बताएका छन् ।
  • नतिजाबाट असन्तुष्ट विद्यार्थीहरूले उत्तरपुस्तिका परीक्षणमा लापर्बाही भएको र मेहनत अनुसारको अङ्क नआएको भन्दै माइतीघरमा प्रदर्शन गरेका छन् ।

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कक्षा १२ को नतिजा त्रुटिविहीन भने पनि नतिजाका सन्दर्भमा प्रश्न उठेपछि छानबिन समिति गठन गरेका छन् । उनले एकातर्फ नतिजामा कुनै पनि त्रुटि नभई ४० दिनमा प्रकाशन गरेको बताए पनि अर्कोतर्फ शिक्षा मन्त्रालयका उपसचिव र पाठ्यक्रम विकास केन्द्रका उपसचिवको समेत प्रतिनिधित्व रहेको छानबिन समिति गठन गर्ने निर्णय गरेका हुन् ।

शिक्षामन्त्री पोखरेलले बिहीबार सामाजिक सञ्जालमार्फत् भनेका थिए, ‘राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रक्रियाबारे मेरो धारणा मैले यसअघि पनि सार्वजनिक गरिसकेको छु । यस प्रक्रियाप्रति हामी स्पष्ट र विश्वस्त छौँ । नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन, बरु आवश्यक जनशक्ति थप गरी र अनावश्यक प्रशासनिक प्रक्रियाहरू छोट्ट्याई नतिजा प्रकाशित हुनुपर्ने समयमा नै प्रकाशित गरिएको हो ।’

मन्त्री पोखरेलका अनुसार शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव र पाठ्यक्रम विकास केन्द्रका उपसचिवको समेत प्रतिनिधित्व रहने गरी उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण तथा परीक्षाङ्क तथा डेटा इन्ट्रीको भेरिफिकेसन गर्न समिति गठन गरिएको छ । एकातिर छानबिन समिति गठन गर्ने र अर्कोतिर परीक्षाको नतिजा त्रुटिहीन भन्ने भनाइले मन्त्री पोखरेल आफ्नो निर्णयमा अडिग नभएको देखिन्छ ।

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजा अस्वाभाविक र त्रुटिपूर्ण रहेको भन्दै विद्यार्थीहरूले बिहीबार काठमाडौँको माइतीघरमा प्रदर्शन गरे ।

नतिजाबाट असन्तुष्ट विद्यार्थीहरूले आफूले गरेको मेहनत अनुसारको अङ्क नआएको र उत्तरपुस्तिका परीक्षणमा लापर्बाही भएको आरोप लगाएका छन् ।  पीडित विद्यार्थी अनुश श्रेष्ठले कपी चेकजाँचमा हेलचेक्य्राइँ भएको दाबी गरे । उनले भने, ‘सुरुमा ए ग्रेड आउनेको रि–चेकिङमा ए प्लस आएको उदाहरण छ । कपी चेकजाँचमा लापर्बाही भएको छ । लापर्बाही गर्ने शिक्षकलाई कारबाही गर्नुपर्छ । यस्तै, रि–चेकिङ र रि–टोटलिङको शुल्क पनि चर्को छ । यो त निःशुल्क हुनुपर्ने होइन र ?’

विद्यार्थी अंशु पन्तले सोचे अनुसार नतिजा नआएका कारण आन्दोलित हुनु परेको बताइन् । उनले भनिन्, ‘मेरो कपीबाट उत्तर सार्ने परीक्षार्थीको ए प्लस आएको छ । मेरो ३.४६ जीपीए आयो । मेहनत गरे अनुसार नतिजा आएन । त्यसैले यो नतिजा प्रकाशन निष्पक्ष छैन जस्तो लाग्छ । गणित विषयमा ३ अङ्कको मात्रै बिग्रेको थियो, तर बी प्लसमात्रै आयो, कसरी ?’

राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालले नतिजामा कुनै त्रुटि नभएको दाबी गरेका थिए । परीक्षणदेखि सम्परीक्षणसम्मका सबै काम शिक्षकहरूले नै गर्ने भएकाले बोर्डले केवल मध्यस्थता गर्ने बोर्डका पदाधिकारी बताउँछन् ।

तर, विद्यार्थीहरूले पुनर्योग (रिटोटलिङ) र पुनःपरीक्षण (रिचेकिङ) को शुल्कसमेत अत्यन्त महँगो र अव्यावहारिक भएको गुनासो गरेका छन् । गत वैशाख १४ देखि २७ गतेसम्म सञ्चालित कक्षा १२ को परीक्षामा १ लाख ४ हजार ७११ जना विद्यार्थी ‘नन ग्रेडेड’ अर्थात् अनुत्तीर्ण भएका छन् । बोर्डले रिटोटलिङ गर्न एक हजार रुपैयाँ शुल्क तोकेको छ । उत्तरपुस्तिका हेर्न एक हजार ५ सय र पुनः परीक्षण गराउन दुई हजार रकम निर्धारण गरेको छ ।

बोर्डका प्रवक्ता जयन्ता सत्यालका अनुसार अहिलेसम्म २५ हजार विद्यार्थीले ‘रिटोटलिङ’ गर्न आवेदन दिएका छन् । रिटोटलिङका लागि बोर्डले शुक्रबार अपराह्न ५ बजेसम्म समय तोकेको छ । बोर्डका प्रवक्ता सत्यालले भनिन्, ‘ननग्रेडेड आएका, ग्रेड वृद्धि गर्न विद्यार्थीले आवेदन दिनुभएको छ । आज बेलुकीसम्म म्याद हो । २५ हजार विद्यार्थीले रिटोटलिङ गर्न आवेदन दिनुभएको छ । यो सङ्ख्या केही बढ्न सक्छ ।’

बोर्डका अनुसार ४० जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ ।

पीडित विद्यार्थी साहिब शाहले शिक्षामन्त्री पोखरेल फर्किएपछि आफूहरूले यस विषयमा ध्यानाकर्षण गराउने बताए । शाहले भने, ‘शिक्षा मन्त्रीज्यूले छानबिन समितिपनि गठन गर्नुभएको छ । अब यसले के निर्णय गर्छ कुर्छौं । साथै शिक्षामन्त्री चितवनबाट फर्किएपछि उहाँलाई भेट्ने भन्ने सोच बनाएका छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप