शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

क्याम्ब्रिज अपस्किल्स अंग्रेजी परीक्षाको विश्वसनीयतामाथि प्रश्न, छानबिन र पुनःपरीक्षाको माग गर्दै निवेदन

शुक्रबार, १२ असार २०८३, १५ : ४०
शुक्रबार, १२ असार २०८३

सारांश

  • इजरायल रोजगारीका लागि लिइएको क्याम्ब्रिज अपस्किल अंग्रेजी परीक्षामा प्राविधिक त्रुटि र लापरबाही भएको भन्दै परीक्षार्थीहरूले छानबिनको माग गरेका छन् ।
  • परीक्षा सञ्चालक संस्थाले प्रश्नपत्रको स्तर 'बी वान लेभल' मा सीमित गरिदिएका कारण परीक्षार्थीहरूले अधिकतम अङ्क ल्याउन नसक्ने वातावरण बनेको दाबी गरिएको छ ।
  • परीक्षार्थीहरूले परीक्षा प्रणालीको लग डाटा मगाएर निष्पक्ष छानबिन गर्न, दोषी कर्मचारीलाई कारबाही गर्न र निःशुल्क पुनःपरीक्षाको व्यवस्था मिलाउन माग गरेका छन् ।

काठमाडौँ । इजरायल रोजगारीका लागि लिइएको क्याम्ब्रिज अपस्किल अंग्रेजी परीक्षामा गम्भीर प्राविधिक त्रुटि र लापरबाही भएको भन्दै परीक्षार्थीहरूले छानबिनको माग गरेका छन् ।

परीक्षा सञ्चालक संस्था सीआईआईएन इन्टरनेश्नल क्वालिफिकेसन्सले प्रश्नपत्रको स्तर ‘बी वान लेभल’ मा मात्र सीमित गरिदिएका कारण परीक्षार्थीहरूले जतिसुकै राम्रो गरे पनि अधिकतम अङ्क ल्याउन नसक्ने वातावरण बनेको दाबी गरिएको छ । 

इजरायल जान ‘स्पिकीङ’ विधामा अनिवार्य रूपमा बी वान स्तर नै ल्याउनुपर्ने विरोधाभासपूर्ण मापदण्ड राखिएकाले धेरै मेहनती विद्यार्थीहरू मात्र १–२ अङ्कले अनुत्तीर्ण हुन पुगेको भन्दै परीक्षार्थीहरूले शुक्रबार वैदेशिक रोजगार विभागका महानिर्देशक मिरा आचार्य समक्ष निवेदन दिएका छन् । 

निवेदनमा परीक्षा प्रणाली वास्तविक रूपमा एडप्टिभ नभएको र कम्प्युटर प्रणालीलाई नियोजित रूपमा माथिल्लो स्तरको प्रश्न नआउने गरी लक गरिएको आरोप लगाइएको छ । 

यस त्रुटिले विद्यार्थीहरूको वास्तविक क्षमता मूल्याङ्कन हुन नपाएको र उनीहरूको भविष्यमाथि खेलबाड भएको परीक्षार्थीहरूको ठहर छ ।

पीडित परीक्षार्थीहरूले परीक्षा प्रणालीको लग डाटा मगाएर निष्पक्ष छानबिन गर्न, दोषी कर्मचारीलाई कारबाही गर्न र अन्यायपूर्ण परीक्षाका कारण अनुत्तीर्ण भएका वा न्यून अङ्क पाएका सम्पूर्ण परीक्षार्थीहरूका लागि निःशुल्क पुनःपरीक्षाको व्यवस्था मिलाउन विभागसमक्ष माग गरेका छन् ।

इजरायलले दीर्घकालीन स्याहार केन्द्रका लागि नेपालबाट २३ सय जना कामदार माग गरेकामा अंग्रेजी भाषा परीक्षा लिएको थियो। अंग्रेजी भाषा परीक्षामा १५ हजार ६ सय २६ जना नेपाली युवा सहभागी भएकोमा १२ सय ३१ जनामात्र पास भएका थिए । यसअघि भाषा परीक्षाका लागि ब्रिटिस काउन्सिलमार्फत परीक्षा सञ्चालन हुँदै आएकोमा यसपटक सीआईआईएनमार्फत ‘क्याम्ब्रिज अपस्किल्स अंग्रेजी टेस्ट’ सञ्चालन गर्ने व्यवस्था गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप