सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
मौसम पूर्वानुमान

मुलुकभर मनसुन फैलिँदै : धेरै स्थानमा मेघगर्जनसहित वर्षाको प्रक्षेपण

सोमबार, १५ असार २०८३, ०५ : १६
सोमबार, १५ असार २०८३

सारांश

  • मनसुनी वायुको प्रभाव देशका विभिन्न भागमा बलियो बन्दै गएको छ, जसले कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभागमा पूर्ण सक्रियता देखाएको छ।
  • गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आगामी दुई देखि तीन दिनभित्र मनसुन विस्तार हुने बलियो सम्भावना छ।
  • देशभरि मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको प्रक्षेपण गरिएको छ, जसमा कोशी प्रदेशका केही स्थानमा भारी वर्षा र हुरीबतासको समेत जोखिम छ।

काठमाडौँ । मुलुकका विभिन्न भागमा मनसुनी वायुको प्रभाव बलियो बन्दै गएको जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भू–भाग, गण्डकी प्रदेशको केही भू–भाग र लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा मनसुनी वायु पूर्ण रूपमा सक्रिय भइसकेको छ। 

बाँकी रहेका क्षेत्रहरूमा भने पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव कायम छ। महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भू–भागमा आगामी दुई देखि तीन दिनभित्रमा मनसुन विस्तार हुने बलियो सम्भावना देखिएको छ।

अहिले देशभरिको मौसमी अवस्थालाई हेर्दा कोशी र मधेस प्रदेशका साथै मुलुकका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने तराईका क्षेत्रमा आंशिक बदलीको स्थिति छ। हाल कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ।

सोमबार देशभरिको आकाश साधारणतया बादलले नै ढाक्ने अनुमान गरिएको छ। यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। 

देशका तराई क्षेत्रका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने स्थिति देखिन्छ। विशेष गरी कोशी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको समेत जोखिम रहेको महाशाखाले उल्लेख गरेको छ। यसका साथै कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही स्थानहरूमा हुरीबतास चल्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप