सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रुकुम पश्चिममा प्य्राङ्क भिडियो बनाउँदा पीडितको पनि मिलेमतो, तिनै जनालाई म्याद थप

सोमबार, १५ असार २०८३, ११ : ५७
सोमबार, १५ असार २०८३

सारांश

  • रुकुम पश्चिममा प्य्राङ्क भिडियो बनाउने क्रममा पीडितको पनि मिलेमतो रहेको प्रहरीको अनुसन्धानले निष्कर्ष निकालेको छ ।
  • साम्प्रदायिक सहिष्णुतामा खलल पुर्याउने अभिव्यक्ति सहित भिडियो बनाएको आरोपमा तीन जना विरुद्ध सार्वजनिक शान्ति खलल पार्न नहुने कसुरमा म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।
  • भिडियो बनाएपछि विदेशमा बस्ने जीवन ओलीलाई पठाइएको र सोही अकाउन्टबाट सामाजिक सञ्जालमा पोस्ट भएको अनुसन्धानबाट खुलेको छ ।

काठमाडौँ । रुकुम पश्चिमको माच्छिमी भन्ने स्थानमा बेकरी डेलिभरी गर्ने युवकलाई दुर्व्यवहार गर्दै प्य्राङ्क भिडियो बनाएको घटनामा पीडितको पनि ‘मिलेमतो’ रहेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । सल्ले भन्ने ठाउँमा सामान डेलिभरी गरेर खलङ्गातिर फर्किँदै गरेका युवकलाई खलङ्गाबाट बाफिकोट जाँदै गरेका आरोपीहरूले माच्छिमीमा भेटेर भिडियो बनाएका थिए ।

मधेसी मूलका युवकलाई उनीहरूले लखेट्दै साम्प्रदायिक सहिष्णुता खलल पार्ने अभिव्यक्ति दिएको भेटिएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । असार २२ मा पश्चिम रुकुमको बाफिकोट गाउँपालिका वडा नम्बर–३ डार्ने घर भएका २८ वर्षीय डिल्लीबहादुर ओली र ३१ वर्षीय राजन केसी पक्राउ परेका थिए ।

उनीहरूले बयानमा पीडित युवकसँग मिलेर नै भिडियो बनाएको बताएपछि अर्का युवकलाई पनि पक्राउ गरिएको रुकुम पश्चिमका डीएसपी बेद पौडेलले रातोपाटीलाई बताए । बेकरी डेलिभरी गर्ने युवक कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका वडा नम्बर–४ सिरसवा घर भएका ३१ वर्षीय रगुविर कोरी हुन् । तिनै जना विरुद्ध सार्वजनिक शान्ति खलल पार्न नहुने कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको रुकुम पश्चिमका डीएसपी बेद पौडेलले रातोपाटीलाई बताए । उनले भने– ‘तिनै जना विरुद्ध ७ दिन म्याद लिएर अनुसन्धान भइरहेको छ ।’

भिडियो बनाएपछि दुई जना युवकले विदेशमा बस्ने जीवन ओलीलाई पठाएका थिए । ओलीले सो भिडियो पोस्ट गरेको अनुसन्धानबाट थाहा भएको डीएसपी पौडेलले जानकारी दिए ।

‘फलो नेपाल टाइम्स’ नामक इन्स्टाग्राम अकाउन्टमा पोस्ट भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि गृहमन्त्री सुधन गुरुङले संलग्नहरूलाई हदैसम्मको कारबाही गर्न निर्देशन दिएको जानकारी दिँदै सो अकाउन्टमा कमेन्ट गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप