बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

बिहीबार, १८ असार २०८३, ०६ : ०९
बिहीबार, १८ असार २०८३

सारांश

  • प्रतिनिधि सभाको दोस्रो अधिवेशनको ३० औँ बैठकमा चारवटा विधेयक पारित गर्ने सम्भावित कार्यसूची तय भएको छ।
  • बैठकमा सार्वजनिक खरिद, सम्पत्ति शुद्धिकरण, सहकारी र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी विधेयकहरूमाथि दफावार छलफल गरी पारित गरिनेछ।
  • कार्यसूची अनुसार कानुनमन्त्री, अर्थमन्त्री, भूमि व्यवस्थामन्त्री र स्वास्थ्यमन्त्रीले आ-आफ्नो मन्त्रालयसँग सम्बन्धित विधेयकहरू सदनमा प्रस्तुत गर्नेछन्।

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको दोस्रो अधिवेशनको ३० औँ बैठकमा विभिन्न चारवटा महत्त्वपूर्ण विधेयकहरू पारित गर्ने सम्भावित कार्यसूची तय भएको छ। 

बिहीबार बिहान ११:०० बजे बस्ने उक्त बैठकमा सुरुमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यक्रम रहेको छ। त्यसपछि बैठक व्यवस्थापन कार्यतर्फ प्रवेश गर्ने संसद् सचिवालयले जनाएको छ।

संसद्को कार्यसूचीअनुसार प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ माथि दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछिन्। उक्त विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिएपछि मन्त्री गौतमले नै यसलाई पारित गरियोस् भनी प्रस्ताव गर्नेछिन्। 

यसैगरी अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ माथि दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। सो विधेयकमाथिका संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिएपछि अर्थ मन्त्री वाग्लेले विधेयक पारितका लागि प्रस्ताव गर्नेछन्।

सङ्घीय संसद्का महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार बैठकमा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्वास्थ्य मन्त्रालयसँग सम्बन्धित विधेयकहरू पनि निर्णयार्थ पेस गरिनेछन्। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि प्रस्तुत गर्नेछिन्। संसद्ले प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरेपछि मन्त्री रावलले यसलाई पारित गरियोस् भनी सदनमा प्रस्ताव लैजानेछिन्।

त्यस्तै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ माथि दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। उक्त विधेयकमाथि परेका संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिसकेपछि मन्त्री मेहताले विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव गर्नेछिन्। 

m0jf8cjgnqbxkenu

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप