बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

स्वास्थ्य मन्त्रालय अन्तर्गतका कर्मचारीले कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्न नपाउने

बिहीबार, १८ असार २०८३, १६ : ४७
बिहीबार, १८ असार २०८३

सारांश

  • स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोगमा रोक लगायतका नयाँ आचारसंहिता जारी गरेको छ ।
  • नयाँ आचारसंहिताले कर्मचारीहरूलाई व्यक्तिगत लाभका लागि सेवाग्राही वा व्यवसायीहरूसँग भेट्न, खरिद प्रक्रियामा नातेदारलाई संलग्न गराउन, र सरकारी भ्रमणमा सौजन्य सुविधा लिन निषेध गरेको छ ।
  • आचारसंहिताले राजनीतिक तटस्थता कायम राख्न, अस्पतालमा बिरामीप्रति शिष्ट व्यवहार गर्न, र गोप्य सूचनाहरू सामाजिक सञ्जालमा सम्प्रेषण गर्न रोक लगाएको छ ।

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र अन्तर्गतका निकायमा कार्यरत कर्मचारीहरूका लागि नयाँ आचारसंहिता जारी गरिएको छ । मन्त्रालय र मातहतका सम्पूर्ण निकायहरूको कार्यसम्पादन तथा सेवा प्रवाहलाई निष्पक्ष, पारदर्शी, सेवामूलक, अनुशासित, मर्यादित र व्यवस्थित बनाउने उद्देश्यका साथ आचारसंहिता जारी गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आचारसंहितामा कार्यालय समयमा मोबाइल र कम्प्युटरमार्फत व्यक्तिगत प्रयोगका लागि सामाजिक सञ्जाल प्रयोग गर्न नमिल्ने उल्लेख छ ।

कर्मचारीहरूले कार्यस्थल बाहिर सेवाग्राही वा व्यवसायीहरूसँग व्यक्तिगत लाभ वा स्वार्थका लागि भेटघाट गर्न नहुने कडा नियम बनाइएको छ । कार्यालयबाट हुने खरिद प्रक्रियामा आफ्ना नजिकका नातेदार वा स्वार्थ जोडिएका व्यक्ति वा फर्मलाई संलग्न गराउन निषेध गरिएको छ भने सरकारी भ्रमणका क्रममा सेवा प्रदायकको सौजन्यतामा होटल, गाडी वा अन्य सुविधाहरू प्रयोग गर्न नपाइने उल्लेख छ । साथै, कार्यालय परिसर वा सार्वजनिक स्थलमा मदिरा सेवन तथा जुवातास खेल्न पूर्ण रूपमा रोक लगाउँदै सामाजिक कार्यहरू गर्दा मितव्ययी र सभ्य व्यवहार प्रदर्शन गर्नुपर्ने उल्लेख छ ।  

राजनैतिक तटस्थता कायम राख्न कर्मचारीहरूलाई कुनै पनि राजनीतिक दल वा तिनका भातृ सङ्गठनको सदस्यता लिन, विचार व्यक्त गर्न र उनीहरूको कार्यक्रममा सरकारी सम्पत्ति प्रयोग गर्न निषेध गरिएको छ । मन्त्रालयले अस्पतालमा कार्यरत कर्मचारीहरूका लागि विशेष आचारसंहिता तय गरेको छ । जसअनुसार बिरामी र सेवाग्राहीप्रति शिष्ट र सेवामुखी व्यवहार गर्नुपर्ने उल्लेख छ । आकस्मिक बिरामी, गर्भवती महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकताका साथ सेवा दिँदै बिरामीको स्वास्थ्य सम्बन्धी विवरण गोप्य राख्नुपर्ने व्यवस्था छ ।  

आधुनिक प्रविधिको सन्दर्भमा डिजिटल प्रणाली, कृत्रिम बौद्धिकता (एआई) र सामाजिक सञ्जालको मर्यादित प्रयोग सम्बन्धी नियमहरू पनि समावेश गरिएका छन् । कर्मचारीले पदीय हैसियतले प्राप्त गरेका गोप्य सूचनाहरू सामाजिक सञ्जाल वा सञ्चार माध्यमबाट सम्प्रेषण गर्न पाउने छैनन् भने कार्यालय समयमा व्यक्तिगत प्रयोजनका लागि सामाजिक सञ्जाल चलाउन रोक लगाइएको छ । आचारसंहिताको पालना भए–नभएको अनुगमन मन्त्री, सचिव, विभागीय प्रमुख र कार्यालय प्रमुखहरूबाट तहगत रूपमा गरिने व्यवस्था मिलाइएको छ । 

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले गत असार १० गते स्वीकृत गरेको आचारसंहिता आज बिहीबार मन्त्रालयले सार्वजनिक गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप