शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

अनलाइन उत्पीडनपछि सुरक्षाका लागि देश छाडेर अस्ट्रेलिया पुगेको अभिनेत्री उषाको जिकिर

पीडक गृहमन्त्रीका पीएनजिक भएको भनाइ
शनिबार, २० असार २०८३, १४ : ३५
शनिबार, २० असार २०८३

सारांश

  • अभिनेत्री उषा रजकले संजोक कार्की नामका व्यक्तिबाट आफू निरन्तर अनलाइन उत्पीडनमा परेको र सुरक्षाका लागि हाल अस्ट्रेलिया पुगेको बताएकी छन्।
  • उनले आरोपित संजोक कार्कीको राजनीतिमा पहुँच रहेको र गृहमन्त्रीका पीएका नजिकका व्यक्ति भएकोले शक्तिको आडमा आफूलाई उत्पीडन गरेको आरोप लगाएकी छन्।
  • उषाले आफूमाथि भएको उत्पीडन रोक्न र नयाँ सरकारको बदनाम हुन नदिन गृहमन्त्री सुदन गुरुङलाई अनुरोध गरेकी छन्।

काठमाडौँ । अभिनेत्री उषा रजकले संजोक कार्की नामका व्यक्तिले आफूलाई लगातार अनलाइन उत्पीडन गरिरहेको भन्दै सामाजिक सञ्जालमार्फत न्यायको गुहार मागेकी छन्। 

केही दिनअघि नेपाल प्रहरीको साइबर ब्युरोले भोटाहिटीस्थित कार्यालयमा बोलाई मुद्दा दर्ता गर्न आग्रह गरेको भए पनि संजोकले दुःख दिन छाडेको ठानेर आफू रिपोर्ट गर्न नगएको उनले बताएकी छन्। 

तर, हिजो रातिदेखि ती व्यक्तिले फेरि मेसेन्जरमा मेसेज पठाउन र राति राति फोन गरेर धम्क्याउन थालेको उनले उल्लेख गरेकी छन्। आरोपितलाई ब्लक गर्नु मात्र समस्याको समाधान नभएको भन्दै उनले यस्ता मानसिकता भएका व्यक्तिहरूले अर्को एकाउन्ट खोलेर भए पनि उत्पीडन जारी राख्ने अनुभव व्यक्त गरेकी छन्।

लगातारको गाली, धम्की र साइबर ट्रोलिङका कारण नेपालमा एक्लै बस्न असुरक्षित महसुस भएपछि परिवार, छोरीका बुवा र दिदी(भिनाजुको कडा निर्देशन र सल्लाहमा आफू देश छाडेर हाल अस्ट्रेलिया पुगेको रजकले जानकारी दिएकी छन्। अपराधीभन्दा पीडितले दुःख भोग्नुपर्ने सामाजिक अवस्थाका कारण आफूले दुई महिनादेखि तयारी गरिरहेको एक समिटको वक्ता बन्ने अवसर र अर्को हप्तादेखि सुरु हुन लागेको चलचित्रको सुटिङ समेत अन्तिम समयमा छोड्नु परेको उनले बताएकी छन्। यसबाट आयोजक र निर्माण टोलीमा पुगेको घाटाप्रति उनले क्षमा समेत मागेकी छन्।

आफूमाथि त्रास फैलाउने संजोक कार्कीको राजनीतिमा पहुँच भएको र उनी वर्तमान गृहमन्त्री सुदन गुरुङका पीए जेम्स कार्कीको नजिकको मान्छे भएको हुनाले नै शक्तिको आडमा उनले यस्तो हर्कत गरेको उषाको आरोप छ। उनले गृहमन्त्री सुदन गुरुङलाई सम्बोधन गर्दै आफ्ना निकटस्थबाट भइरहेको यो उत्पीडन रोक्न र नयाँ सरकारको बदनाम हुन नदिन हार्दिक अनुरोध गरेकी छन्। 

आफू त विदेश आउन सफल भएको तर देशभित्रै यस्तो अपराध र त्रास झेलेर बस्न बाध्य धेरै महिला, बालबालिका र अल्पसङ्ख्यकहरू रहेको भन्दै उनले ‘नेपाली ब्रो’ नामका व्यक्तिले एक महिलाको हत्या गरेको घटनालाई उदाहरणका रूपमा प्रस्तुत गरेकी छन्।

आफूले संजोकका विरुद्ध बोलेपछि अन्य केही महिलाहरूले पनि आफूमाथि उनैले गरेको हैरसमेतका स्क्रिनसटहरू पठाएको उनले खुलाएकी छन्। ती महिलाहरूको अनुमति लिएर नेपाल फर्केपछि आफूले ती प्रमाणहरू साइबर प्रहरीलाई बुझाउने र आफैँ उपस्थित भएर रिपोर्ट दर्ता गर्ने उनले स्पष्ट पारेकी छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप