मेक्सिकोविरुद्ध इङ्ल्यान्डलाई उचाइको चुनौती
विश्वकप २०२६ को सबैभन्दा प्रतीक्षित नकआउट खेलमध्ये एकमा सोमबार बिहान ५ः४५मा मेक्सिको र इङ्ल्यान्ड ऐतिहासिक एज्टेका स्टेडियममा आमनेसामने हुँदैछन् ।
४० वर्षको अभिशाप तोडेपछि मेक्सिकोको नयाँ चुनौती
विश्वकपको नकआउट चरणमा ४० वर्षपछि पहिलो जित निकाल्न मेक्सिकोलाई मेक्सिको सिटीको वर्षासँगै दुई गोल आवश्यक परेको थियो । इक्वेडरलाई २–० ले पराजित गर्दै अन्तिम १६ मा पुगेपछि देशभर उत्सव मनाइयो । लाखौं समर्थक सडकमा उत्रिए । त्यसको केही समयपछि अर्को खबर आयो, अबको प्रतिद्वन्द्वी हुनेछ इङ्ल्यान्ड । अब विश्व फुटबलका दुई चर्चित टोलीबिच एज्टेका स्टेडियममा रोमाञ्चक भिडन्त हुनेछ ।
इतिहास फेरि दोहोरिएला ?
एज्टेका स्टेडियमको सम्झना इङ्लिस समर्थकका सुखद होइन । यही मैदानमा सन् १९८६ विश्वकपको क्वार्टरफाइनलमा अर्जेन्टिनाका महान खेलाडी डिएगो म्याराडोनाले कुख्यात ‘ह्यान्ड अफ गड’ गोल गरेका थिए ।त्यस खेलमा अर्जेन्टिनाले इङ्ल्यान्डलाई २–१ ले हराउँदै प्रतियोगिताबाट बाहिर निकालेको थियो । त्यसैले आइतबार केवल दुई टोली मात्र होइन, इतिहास पनि फेरि एकपटक आमनेसामने हुनेछ ।
दुवै टोली अन्तिम १६ मा कसरी पुगे ?
मेक्सिको
मेक्सिकोले समूह ’ए’मा सबै तीन खेल जित्दै ९ अंकसहित शीर्ष स्थान हासिल गर्यो । उसले दक्षिण अफ्रिकालाई पराजित गर्यो, दक्षिण कोरियालाई हरायो, चेकियालाई पनि पराजित गर्यो । त्यसपछि अन्तिम ३२ मा इक्वेडरलाई २–० ले हराउँदै सन् १९८६ यताकै पहिलो विश्वकप नकआउट जित दर्ता गर्यो ।
इङ्ल्यान्ड
इङ्ल्यान्डले समूह ‘एल’मा ७ अंकसहित शीर्ष स्थान हासिल गर्यो । उसले क्रोएसियालाई हरायो, पानामालाई पराजित गर्यो, घानासँग गोलरहित बराबरी खेल्यो ।
अन्तिम ३२ मा भने इङ्ल्यान्ड हारको संघारमा पुगेको थियो । डीआर कङ्गोविरुद्ध खेलको अन्तिम १५ मिनेट बाँकी रहँदा टोली बाहिरिने अवस्थामा थियो । तर कप्तान ह्यारी केनले दुई गोल गर्दै इङ्ल्यान्डलाई २–१ को शानदार पुनरागमन जित दिलाए ।
उच्च उचाइ, मौसम र एज्टेका स्टेडियमको चुनौती
मेक्सिको र इङ्ल्यान्डबीचको खेलअघि सबैभन्दा धेरै चर्चा एज्टेका स्टेडियमको उच्च उचाइ, सम्भावित खराब मौसम र खेल तालिकाबारे भइरहेको छ । समुद्री सतहबाट करिब २,२४० मिटर (७,३५० फिट) उचाइमा रहेको एज्टेका स्टेडियममा खेल्दा खेलाडीहरूलाई सास फेर्न कठिन हुन सक्छ ।
यस्तो उचाइमा बल सामान्यभन्दा छिटो र टाढासम्म जान सक्छ । खेलाडीहरूलाई अक्सिजनको कमीका कारण थकान र सास फेर्न समस्या हुन सक्छ । त्यसमाथि हजारौं मेक्सिकन समर्थकको अत्यन्त उत्साही वातावरणले घरेलु टोलीलाई थप ऊर्जा दिने अपेक्षा गरिएको छ ।
इङ्ल्यान्डका लागि भावनात्मक मैदान
घरेलु टोलीलाई फाइदा भए पनि इङ्ल्यान्डका खेलाडीहरू एज्टेकामा खेल्न पाउँदा उत्साहित छन् । यही स्टेडियममा सन् १९७० र १९८६ को विश्वकप फाइनल खेलिएको थियो । तर इङ्ल्यान्डका समर्थकहरूका लागि एज्टेका आज पनि १९८६ को पीडादायी सम्झनासँग जोडिएको छ । त्यही मैदानमा डिएगो म्याराडोनाले विवादास्पद ‘ह्यान्ड अफ गड’ गोल गर्दै अर्जेन्टिनालाई इङ्ल्यान्डमाथि २–१ को जित दिलाएका थिए ।
टुचेलः ‘यो साँच्चिकै विश्वकपजस्तो खेल हुनेछ’
इङ्ल्यान्डका मुख्य प्रशिक्षक थोमस टुचेलले शनिबारको पत्रकार सम्मेलनमा भने, ‘मैले यहाँ आइपुग्नेबित्तिकै महसुस गरें कि यो साँच्चिकै विश्वकपको ठुलो खेल हुनेछ,’ उनले थपे, ‘हामीलाई पहिले नै थाहा थियो । यो ऐतिहासिक स्टेडियम हो । यहाँ प्रवेश गर्नेबित्तिकै दर्शकहरूको उत्साह र भावनाले तपाईंलाई छुन्छ ।’
अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको इङ्ल्यान्ड
विश्व वरीयताको चौथो स्थानमा रहेको इङ्ल्यान्ड ६० वर्षदेखि ठूलो उपाधिको प्रतीक्षा अन्त्य गर्ने लक्ष्यसहित विश्वकपमा आएको थियो । तर चार खेलपछि टोलीले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेको छैन । समूह चरणमा संघर्षपूर्ण प्रदर्शन गरेको इङ्ल्यान्ड अन्तिम ३२ मा डीआर कङ्गोविरुद्ध पनि अन्तिम समयमा चामत्कारिक पुनरागमन नगरेको भए प्रतियोगिताबाट बाहिरिने अवस्था थियो ।
‘खेल मैदानभित्रको ११ विरुद्ध ११ नै निर्णायक हुनेछ’
मेक्सिकोका मुख्य प्रशिक्षक जाभियर अगिरेका अनुसार बाहिरका सबै चर्चा आफ्नो ठाउँमा भए पनि अन्तिम निर्णय भने मैदानभित्र हुनेछ । उनले भने, ‘इङ्ल्यान्डसँग देशभित्र र विदेशका उत्कृष्ट लिगमा खेल्ने धेरै उच्चस्तरीय खेलाडी छन् ।’
उनले थपे, ‘शारीरिक रूपमा उनीहरू निकै बलिया छन् र उत्कृष्ट फुटबलरहरू पनि हुन् ।’ अगिरेको टोली ४० वर्षपछि पहिलो पटक विश्वकपको क्वार्टरफाइनल पुग्ने लक्ष्य लिएर मैदान उत्रिनेछ ।
भविष्यवाणीः इङ्ल्यान्डलाई हल्का अग्रता
फुटबल तथ्यांक विश्लेषण गर्ने संस्था अप्टाको सुपरकम्प्युटरले यो खेलमा इङ्ल्यान्डलाई सामान्य अग्रता दिएको छ । उसको अनुमानअनुसार इङ्ल्यान्डले निर्धारित ९० मिनेटभित्र जित्ने सम्भावना ४०.६ प्रतिशत छ भने मेक्सिकोले जित्ने सम्भावना ३१.५ प्रतिशत छ । त्यसैगरी खेल अतिरिक्त समयमा पुग्ने सम्भावना २७.९ प्रतिशत देखाइएको छ ।
यदि निर्धारित समयमा नतिजा नआए खेल अतिरिक्त समय र आवश्यक परे पेनाल्टी सुटआउटसम्म पुग्न सक्छ ।
ह्यारी केन फेरि बन्नेछन् इङ्ल्यान्डका उद्धारकर्ता ?
अन्तिम ३२ मा डीआर कङ्गोविरुद्ध इङ्ल्यान्ड हारको संघारमा पुगेका बेला कप्तान ह्यारी केनले दुई गोल गर्दै टोलीलाई प्रतियोगितामा जोगाएका थिए । यसपटक पनि इङ्लिस समर्थकहरूको सबैभन्दा ठूलो आशा केनमै केन्द्रित छ ।
विश्वकपमा निर्णायक क्षणमा गोल गर्ने क्षमताका कारण उनी फेरि टोलीका मुख्य हतियार मानिएका छन् । यदि केनले आफ्नो लय कायम राख्न सके भने इङ्ल्यान्डले ६० वर्षपछि विश्वकप उपाधि जित्ने यात्रामा अर्को महत्त्वपूर्ण पाइला चाल्न सक्छ ।
को जाला क्वार्टरफाइनल ?
मेक्सिकोका लागि यो खेल ऐतिहासिक अवसर हो । घरेलु मैदान, हजारौँ समर्थकको साथ र ४० वर्षपछि क्वार्टरफाइनल पुग्ने सपना पूरा गर्ने लक्ष्यसहित एल ट्री मैदानमा उत्रनेछ । उता इङ्ल्यान्ड भने कठिन सुरुआतपछि लय समात्दै प्रतियोगितामा अघि बढ्न चाहन्छ ।
इतिहास, घरेलु दबाब, उच्च उचाइको चुनौती र दुई बलिया टोलीबीचको प्रतिस्पर्धाका कारण एज्टेका स्टेडियममा हुने यो खेल विश्वकप २०२६ को सबैभन्दा रोमाञ्चक अन्तिम १६ को भिडन्तमध्ये एक बन्ने अपेक्षा गरिएको छ ।
मेक्सिको विरुद्ध इङ्ल्यान्डः टोली अपडेट
इङ्ल्यान्डका दुई प्रमुख रक्षक जारेल क्वान्सा (एङ्कल चोट) र रिस जेम्स (ह्यामस्ट्रिङ चोट) का कारण यस खेलमा उपलब्ध हुने छैनन् । यता मेक्सिकोको टोलीमा भने कुनै पनि खेलाडी घाइते भएको जानकारी प्राप्त भएको छैन । प्रशिक्षक जाभियर अगिरेले आफ्नो बलियो टोली मैदानमा उतार्ने अपेक्षा गरिएको छ ।
मेक्सिकोको सम्भावित सुरुआती टोली (४–३–३) : गोलरक्षकः राङ्गेल, रक्षकः सान्चेज, मोन्तेस, भास्केज, गालार्डो, मिडफिल्डरः मोरा, लिरा, रोमो, फरवार्डः अल्भाराडो, जिमेनेज, क्विन्योनेस
इङ्ल्यान्डको सम्भावित सुरुआती टोली (४–२–३–१) : गोलरक्षकः पिकफोर्ड, रक्षकः स्पेन्स, कोन्सा, गेही, ओ’राइली, डिफेन्सिभ मिडफिल्डरः एन्डरसन, डेक्लान राइस, आक्रमण्क मिडफिल्डरः बुकायो साका, जुड बेलिङ्घम, एन्थोनी गोर्डन, स्ट्राइकरः ह्यारी केन
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमा सहसचिवलाई जगेडामा राखेर उपसचिवलाई जिम्मेवारी
-
सुनको मूल्य तोलामा ९०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो
-
कैलालीमा हिट एन्ड रन : फरार भारतीय नागरिक पक्राउ
-
शंकर पोखरेलको प्रश्न : अब त ‘पपुलिजम’ के रहेछ भन्ने प्रस्ट भयो होला नि ?
-
भदौ १९ मा प्रदर्शन हुने फिल्म ‘ककाकिकी’ को पहिलो झलक सार्वजनिक
-
ओली हटाउने पक्षमा गण्डकी एमाले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण